परदेशीको बिलौना !      « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

परदेशीको बिलौना !     


१० आश्विन २०७७, शनिबार


बाले कर्म मार्गमा हाड घोटी घोटी
शिक्षाको ज्योतिले म उज्यालो भए,
अन्धकारमा उज्यालो छर्न
दिनको आशामा कुर्दा कुर्दै
अन्धकारले बिहानको पर्खाइलाई छोपी रह्यो ।
अपसोच !
उज्यालोको खोजीमा
हजारौँ सपनाका पोकोहरू
आकाशमा उडाएर

उफ् !  मरुभूमिमा  आगोको लाप्काहरुमा
श्रमसँग पसिना साटी
फुसको कटेरोमा टिनको छानो हाली
बाको अनुहारमा खुसी भर्न,
आमाको आँखामा आनन्दको किरण छर्न
प्यारीको अनुहारमा लाली भर्न
लालाबालाको खुसी खोज्न
उडेको म परदेशी

अनायासै !
महामारीको चपेटामा जागिर गुमाएर,
सडकमा पुगेको जीवन
भोकसँग जुधेको छु ।
मनभरिका ती सपनालाई तिलाञ्जलि दिएर
एक मुठी प्राणलाई बचाएर
आफ्नै भूमिमा फर्कन
पानी नभएको बगरमा माछो सरी
रोइ कराई
चिच्याई छटपटिएको छु ।
अलिकति पनि दया, माया, करुणा र प्रेमको भिख
पाउन नसकी
तड्पिएको मन, भारी शरीर
बा, आमा र प्यारीको मुहार हेर्ने मौका देऊँ ।
बिन्ती ! मानवता हराएको
फलामका मुटु भएका मान्छेहरू बस्ने देशमा
लाखौँ युवाको श्रम बेचेर रेमिट्यान्सको नाममा
बन्द काठको बाकस होइन
भिर पाखा, कन्दरा, खोला, नाला, हरिया फाँट, बारी र कान्लाहरूले
म जस्ता युवाहरूलाई खोजी रहेका छन् ।
बिन्ती ! वातावरण तय गरी देऊ
प्रदेशीको पिडा, चित्कार सुनिदेऊ

सरकार म मेरै फूलबारीमा माली बनेर हाँस्न चाहन्छु
परिवारको अनुहारमा रवि, रश्मिको किरण भर्ने चाहानालाई
बिन्ती !
मेरै भूमिमा फर्कने
मार्ग तय गरिदेऊ
मेरो प्राणलाई बचाएर
आफ्नै सुन्दर झुपडीमा फर्कने
इच्छा पूरा गरिदेऊ
मेरै झुपडीमा फर्कन देऊ ।

आचार्य मानव अधिकार अधिकृत हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस