डिउटीको समयममा सरकारी कार्यालयभित्रै जुवा खेल्छन् डोल्पाका कर्मचारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डिउटीको समयममा सरकारी कार्यालयभित्रै जुवा खेल्छन् डोल्पाका कर्मचारी


प्रशासन संवाददाता

९ आश्विन २०७७, शुक्रबार


डोल्पा । डोल्पामा सरकारी कार्यालयमा डिउटीमा रहेका कर्मचारीले कार्यकक्ष भित्र नै नुवातास खेल्ने गरेको सेवाग्राहीको गुनासो छ।

जिल्लामा रहेका धेरै जसो सरकारी कार्यालयका कार्यालय प्रमुख देखि तल्लो तहका कर्मचारीहरु एकै ठाउँमा दिनभर जुवा खेल्ने गरेको एक सेवाग्राहीले जानकारी दिए। उनले भने, ‘मेरो नाम नलेखिदिनू होला मैले हाकिम भेट्न तीन दिन कुरेँ तर अन्तिममा जुवा खेल्ने ठाउँमा देखेँ।’

जिल्ला सदरमुकाममा रहेका धेरै जसो कार्यालयमा कर्मचारीहरु कार्यकक्षमा नबसी कुनै एक फाँटमा जुवा अड्डा बनाउने गरेको भेटिएको छ।

कार्यालय सहयोगीलाई सर बाहिर जानु भएको छ भनेर सेवाग्राही फर्काउने र बिहानै ११ बजेदेखि पायक पर्ने कार्यालयका कर्मचारीहरु जम्मा भएर जुवा खेल्ने गरेको सेवाग्राहीको गुनासो छ।

यता निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले कर्मचारी नै जुवा खेल्ने गरेको गुनासो आएपछि सबै कार्यालय प्रमुखलाइ बोलाएर निर्देशन दिन लागेको बताइन्।

उनले भनिन्,‘यदि त्यसरी कार्यालयमा जुवा खेलेको ठहरिए कारवाही हुन्छ, छुट कसैलेपनि पाउँदैन।’

कर्मचारीले कार्यालयमा जुवा खेल्ने गरेको र दुनै बजारमा पनि जुवा लुकिछिपी खेलिरहेको भन्ने सूचना पाएपछि सबै क्षेत्रमा प्रहरीलाई परिचालन गरी अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए। उनले भने,‘हामी गुनासो आएसँगै निकै गम्भीरतापूर्वक लागेको छौँ जुवातास पूरै बन्द गर्छौँ।’

कोरोनामा सेवा प्रवाहको काम कम हुने र कार्यालयमा काम नहुने भएपछि हाकिमदेखि कार्यालय सहयोगीसम्म जुवातासमै भेटिने गरेका छन्

दुई दर्जनभन्दा धेरै सरकारी कार्यालय सदरमुकाम दुनैमा छन्। त्यसमध्येका एक दर्जनभन्दा धेरै कार्यालयका कर्मचारी एक अर्को कार्यालयको एक कार्यकक्षमा जम्मा भएर दिनभर जुवा खेल्ने गरेको नागरिकको गुनासो छ।

जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरु एक बजेपछि अधिकांश विभिन्न बहानामा कार्यालय बाहिर जाने र केही बजारका जुवा खाल र केही कार्यालयकै जुवा कक्षमा दिन बिताउने गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस