सामाजिक सेवा गर्ने संस्था नाफामूलक बन्नुहुँदैन : मन्त्री गुरुङ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सामाजिक सेवा गर्ने संस्था नाफामूलक बन्नुहुँदैन : मन्त्री गुरुङ


८ आश्विन २०७७, बिहिबार


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले जनताका निम्ति सेवा दिने निजी संस्था नाफामूलक बन्न नहुने बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघले ४१ औँ सामाजिक सेवा दिवसका उपलक्ष्यमा जुममार्फत आयोजना गरेको बहस कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सेवाका नाममा नाफा कमाउने र समाजमा थप विकृति फैलाउने काम गर्ने संस्थालाई कारबाहीको दायरामा ल्याइने दृढता व्यक्त गरे ।

सामाजिक सेवाका क्षेत्रमा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले सामाजिक क्षेत्रलाई राष्ट्रिय गौरवका क्षेत्रका रुपमा विकास गर्न सरकारको आजको प्राथमिकताः समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशीलता भन्ने नारा, नारामा मात्र सीमित नहुने उनले प्रष्ट पारे ।

सो अवसरमा प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले वन क्षेत्रको कार्यक्रमलाई व्यापक रुपमा लैजानुपर्ने औंँल्याए । राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले सामुदायिक वनले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

वनविज्ञ डा.भरत पोखरेलले सरकारले सामाजिक सेवा र वन क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भारती पाठकले कोभिड-१९ को विषम परिस्थितिमा वनका १४ सयभन्दा बढी भवन क्वारेन्टिनका रुपमा उपलब्ध गराएर सरकारलाई सहयोग गरिएको जानकारी दिए ।

एनजिओ फेडरेशनका अध्यक्ष जीताराम लामाले समुदायका तल्लो तहसम्म महासंघले गरेको काम उदाहरणीय रहेको बताए । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले नागरिक बलियो भए मात्र सरकार बलियो हुने बताए । उनले स्थानीय वन ऐन बनाएर नगरपालिका अघि बढेकोसमेत जानकारी दिए ।

बहसमा वन क्षेत्रका प्रतिनिधिले राज्यले गर्न नसकेको कतिपय काम सामुदायिक वनले मात्र गर्न सकेको बताए । उनीहरुले वनले तल्लो तहबाट माथिल्लो तहसम्म नेतृत्व गरिरहेको समेत उल्लेख गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस