टिचिङमा जाने तयारीमा रहेका डा. केसीलाई ‘अपहरण शैली’मा ट्रमा सेन्टर लगियो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

टिचिङमा जाने तयारीमा रहेका डा. केसीलाई ‘अपहरण शैली’मा ट्रमा सेन्टर लगियो


६ आश्विन २०७७, मंगलबार


काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई ट्रमा सेन्टरमा पुर्याइएको छ।

सोमबार नेपालगञ्ज आइपुगेका डा. केसीलाई बुद्ध एयरको नियमित उडानबाट मंगलबार काठमाडौँ ल्याइएको हो।

आफूले काम गरेर अवकाश पाएको त्रिवि शिक्षण अस्पताल टिचिङमा बसेर सत्याग्रह गर्ने तयारी गरिरहेका केसीलाई प्रहरीले ट्रमा सेन्टरमा लगेको हो। डा. केसीको चाहना विपरित सुरक्षाकर्मीले ट्रमा सेन्टरमा लगेको उनका सहयोगी प्रीतम सुवेदीले जानकारी दिए। ‘डा. केसीलाई अपहरण शैलीमा सुरक्षाकर्मीले विमानस्थलबाट ट्रमा सेन्टरमा लगेका छन्’, सुवेदीले भने।

कोरोनाको जोखिमका कारण त्रिवि शिक्षण अस्पताल नलगी ट्रमा सेन्टर लगिएको प्रहरी स्रोतले बताएको छ । उनी आफैं एम्बुलेन्समा बसेर शिक्षण अस्पताल जान लागेका बेला प्रहरीहरुले एम्बुलेन्स भित्रै प्रवेश गरेर उनलाई नियन्त्रणमा लिइ ट्रमा सेन्टर पुर्‍याएका हुन् ।

डा. केसीसँग हाल ट्रमा सेन्टरका चिकित्सकहरुले छलफल गरिरहेका छन् भने केसीका समर्थकहरुलाई उनलाई भेट्न दिइएको छैन ।

काठमाडौं आउने क्रममा नेपालगन्ज विमानस्थलमा डाक्टर केसीले जनताको हितका लागि आफूले उठाएका माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस