मेरो पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिनुस् : कुलमान घिसिङ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मेरो पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिनुस् : कुलमान घिसिङ


प्रशासन संवाददाता

३ आश्विन २०७७, शनिबार


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन आग्रह गरेका छन् ।

घिसिङको पक्षमा प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएका बेला आफ्नो पक्षमा पुनः नियुक्तिको माग गर्दै प्रदर्शन नगर्न उनले सबैसँग आग्रह गरेका हुन् ।

उनले शनिवार एक विज्ञप्ति जारी गर्दै आफ्नो पक्षमा हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

यस्तै विज्ञप्तिमा अगाडी भनिएको छ, ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

उनले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार सरकारमै निहित भएकाले उक्त विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस