नेल्सन मण्डेलाका वकीलको जर्ज बिजोसको निधनमा दक्षिण अफ्रिकामा शोक प्रकट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेल्सन मण्डेलाका वकीलको जर्ज बिजोसको निधनमा दक्षिण अफ्रिकामा शोक प्रकट


एजेन्सी

२ आश्विन २०७७, शुक्रबार


जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्व अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाका वकील एवं रंगभेद विरोधी कानुन व्यवसायी जर्ज बिजोसको निधन भएको छ । उनको सम्मानमा दक्षिण अफ्रिकामा राष्ट्रिय रुपमै शोक प्रकट गरिएको छ ।

बिजोसको ९२ वर्षको उमेरमा केही दिनअघि निधन भएको थियो । गोरा जातिका भए पनि रंगभेदका विरुद्धमा उनले लामो संघर्ष गरेका थिए । सन् १९६४ मा नेल्सन मण्डेलालाई मृत्युदण्ड दिने वा नदिने भन्ने अदालतमा भएको बहसमा बिजोसले बहस गरेका थिए ।

बिजोसले मण्डेलाका लागि दशकौंसम्म निजी वकीलका रुपमा कार्य गर्नु भएको थियो । दक्षिण अफ्रिकाका पूर्व उप प्रधानन्यायाधीश डिकसाङ मोसेनिकेले भने, ‘मण्डेलाका कालरात्रिका दिनहरुमा बिजोसले ओलिभर टाम्बो र अन्य वरिष्ट नेताहरुका लागि विश्वासिलो राजनीतिक कुटनीतिज्ञका रुपमा सेवा गरेका थिए । ‘

बिजोसले दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्ने कानुनी लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । दक्षिण अफ्रिकामा दशकौंसम्म श्वेतहरुले अश्वेत जातिमाथि दासताको व्यवहार र शासन गरेका थिए । सन् १९९४ मा रंगभेद अन्त्य भएपछि बिजोसले दक्षिण अफ्रिकी सत्य तथा मेलमिलाप आयोगमा रहेर देशको सेवा गरेका थिए ।

उनले आयोगमा रंगभेदी अपराधका कारण पीडित भएकाहरुका परिवारको प्रतिनिधित्व गर्दै उनीहरुको अधिकार स्थापना गर्नमा योगदान गरेका थिए ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिजोसले कानुन व्यवसायका क्षेत्रमा निष्कलंक एवं महान छवि बनाउन सफल भएको बताउँदै बिजोसले आजीवन न्यायप्रतिको प्रतिबद्धतालाई उच्च सम्मानका साथ प्रदर्शन गरेका थिए ।

ग्रीसमा नाजीलाई विजय प्राप्त गरेसँगै बिजोस १३ वर्षका हुँदा दक्षिण अफ्रिका पुगेका थिए । । परिणामस्वरुप, बिजोसमा देश छाड्दा र दोस्रो दर्जाको नागरिक हुँदाका पीडाबोध थिए, राष्ट्रपति रामाफोसाले भने।

मण्डेला कारागारमा रहँदा बिजोसले मण्डेलाको परिवारको हेरचाह गर्नुका साथै सन् १९९० मा मण्डेलाको रिहाईमा सरकारसँगको वार्तामा मुख्य भूमिका निर्वाह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस