एसिड आक्रमण र पीडितलाई न्याय « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एसिड आक्रमण र पीडितलाई न्याय


२ आश्विन २०७७, शुक्रबार


कुनै पनि मानिसलाई मार्ने, कुरुप बनाउने वा उसको जिन्दगी बर्बाद गर्ने, अङ्गभङ्ग गर्ने उद्देश्यले शरीरमा एसिड (अम्ल) फालेर गरिने एक प्रकारको हिंसा वा अपराध हो । यस्ता प्रकारका हिंसामा महिला तथा युवती बढी मात्रामा पर्ने गरेका छन् । अहिले कोरोना भाइरस(कोभिड–१९) को महामारीबाट विश्व नै प्रभावित छ । नेपालमा पनि कोरोना भाइरस बढिरहेको अवस्थामा दिनप्रतिदिन घरेलु हिंसा तथा अन्य महिला हिंसाका घटना वृद्धि भइरहेका छन् ।

साउन ८ गते काठमाडौँ राजधानीको सीतापाइलाकी २२ वर्षिया युवती पवित्रा कार्कीमाथि एसिड प्रहार भएको घटनाले महिला जगत् नै स्तब्ध छ । एकातिर कोरोना भाइरस (कोभिड–१९) को डर, त्रास छ भने अर्कातिर एसिड प्रहारले महिला तथा युवतीमा झन् त्रास थपिएको छ । पवित्रा कार्कीमाथि भएको एसिड आक्रमण नयाँ भने होइन ।

यसअघि पनि एसिड आक्रमणबाट कतिपय महिलाको ज्यान नै गएको छ, भने कति महिला अङ्गभङ्ग भएका समाचार बाहिर आएका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार विगत ७ वर्षमा १८ महिला र ४ पुरुषमाथि एसिड प्रहार भएको छ । यस्ता घटनामा संलग्न अपराधीलाई प्रहरीले तत्कालै पक्राउ गरी कारबाहीको दायरामा पनि ल्याएको छ तर दुःखको कुरा यस्ता अपराधी कुनै न कुनै निहुँमा उम्कने प्रवृत्तिले यस्ता घटना दोहोरिने गरेका छन् ।

सर्वोच्च अदालतले २०७६ साल साउन २६ गते एसिड दुरुप्रयोग रोक्न र बिक्री वितरणलाई कडाइ गर्न सरकारको नाउँमा आदेश जारी गरेको थियो तर उक्त आदेश केवल काजमै सीमित रहेको छ । २०७१ सालमा काठमाडौँ राजधानीको केन्द्र नै मानिने वसन्तपुरमा दिनदाहाडै ट्युसन पढ्न हिँडेका दुई युवती संगीता मगर र सीमा बस्तेतमाथि भएको एसिड आक्रमणले देशभर नै चर्चा भएको थियो । यो घटनापछि एसिड प्रहारका घटनामा वृद्धि भएका छन् ।

वर्तमान सरकारले पनि हालै एसिड आक्रमणकारी माथि कडा कानुन निर्माण गरी कम्तीमा २० वर्ष जेल सजाय र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरेका छ । यो स्वागत योग्य छ । तर, यसको कार्यान्वयन कतिको प्रभावकारी हुन्छ ? कानुन बनाएरमात्र हुदैन कार्यान्वयन र कडा सजायको ब्यवस्था आजको आवश्यकता हो । कानुन बन्छ तर, कार्यान्वयन पूर्णरुपमा नहुँदा समस्या ज्यूका त्यू नै हुन्छ ।

गत वर्ष वीरगञ्जकी मुस्कान खातुनमाथि एसिड आक्रमण भयो । विद्यालय हिँडेकी खातुनमाथि २०७६ भदौमा आक्रमण भएको थियो । त्यस घटनाको लगत्तै काठमाडौँ कालोपुलकी जेनी खड्कामाथि २०७६ असोजमा आफ्ने श्रीमान्ले एसिड प्रहार गरेका थिए । आजभोलि पुरुषले प्रतिशोत लिन रिसको झोंकमा आफ्नो चाहना पूरा नभएमा महिला तथा युवतीलाई एसिड प्रहार गर्ने प्रवृत्तिजस्तै बनेको छ ।

राज्यले एसिड आक्रमणका घटनालाई न्यूनीकरण गर्नका लागि एसिडको आयात र बिक्री वितरणमा रोक लगाउनु जरुरी छ । फितलो कानुनका कारण एसिड प्रहार गर्ने व्यक्तिको मनोवल उच्च भएकाले यस्तो घट्नामा वृद्धि भएको देखिन्छ । एसिड आक्रमणका घटना घटीसकेपछि कही समय यसले अत्यधिक चर्चा पाउने र विस्तारै यस्ता घटना ओझेलमा पर्न जाने हुँदा एसिड आक्रमणका घटना दोहोरिरहेका छन् । पवित्रा कार्कीमाथि भएको एसिड आक्रमणको घटना सेलाउन नपाउँदै साउन २२ गते काठमाडौँको चुच्चेपाटीमा एक पुरुषले श्रीमती र छोरीमाथि तारपिन तेल (एक प्रकारको एसिड) प्रहार गरेको समाचार आएको छ ।

तारपिन तेलबाट उनकी श्रीमतीको आँखामा चोट लागेको छ । निर्दोष महिला तथा युवतीले आफ्नो सुन्दर अनुहार गुमाउनुको पीडा जो एसिड आक्रमणबाट पीडित छ उसलाई मात्र अनुभूति हुन्छ । आखिर कहिलेसम्म निर्दोष महिला तथा युवतीले अनाहकमै आफ्नो जिन्दगी बर्बाद गर्ने ? महिला तथा युवती कहिलेसम्म असुक्षित हुने ? केही समय पहिला छिमेकी देश भारतमा एसिड आक्रमणका घटना घटेको समाचार आइरहन्थे भने पछिल्लो समय नेपालमा पनि शृङ्खलावद्व रूपमा एसिड आक्रमणका घटना बढिरहेका छन् । एसिड आक्रमणका घटना तराई क्षेत्रमाको बढी मात्रमा हुने गरेका छन्, त्यसपछि शहरी क्षेत्रमा बढिरहेका छन् ।

नेपालमा एसिड आक्रमण सम्बन्धी यस्तो कानुन होस् जसले एसिड कारोवार वा किनबेच गर्छ उसको हात नै कामोस् जसले गर्दा एसिड आक्रमण घटनामा कमी होस् । हाल विद्यमान मुलुकी अपराध संहिताले पनि एसिड प्रहारको हकमा पाँचदेखि आठ वर्षसम्मको मात्र कैद को व्यवस्था गरेको छ, जुन पर्याप्त छैन । यस्ता अपराधीलाई सर्वस्व सहितको जन्म कैद सजायको व्यवस्था गर्न सक्यो भने मात्र यस्ता घटनामा कमी आउने थिए कि ? एसिड पीडितको उपचार पनि सर्वसुलभ छैन ।

एसिड पीडितको उपचारका लागि एक मात्र अस्पताल काठमाडौँको कीर्तिपुरमा भएकाले पनि पहुँच हुनेका लागि उपचार सम्भव छ भने आर्थिक अवस्था कमजोर हुनेलाई उपचार गर्न नसकेर छट्पटिनु परेको छ । सरकारले एसिड आक्रमणका पीडिलाई निःशल्क उपचारको व्यवस्था मिलाउन सके पीडितलाई केही राहत मिल्ने थियो । स्वस्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पवित्रा कार्कीमाथि भएको एसिड आक्रमणको उपचारमा सरकारले सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

यसैगरी एसिड पीडित सबैले राज्यको खर्चबाट उपचार पाउन सके पीडितको घाउमा मल्हम लाग्ने थियो । एसिड पीडित मुस्कान खातुन, पवित्रा कार्की, संगीता, सीमा त केवल प्रतिनिधि पात्र मात्र हुन । आगामी दिनमा कोही पनि एसिड पीडित हुन नपरोस् । राज्य समयमै कडा भन्दा कडा कानुनको व्यवस्था र कार्यान्वयनमा जोड दियो यस्ता घटनाबाट शक्तिको भरमा कोही उम्कन पाउने छैनन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस