कुच्चिएको गाडी ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कुच्चिएको गाडी !


ललिजन खनाल

१ आश्विन २०७७, बिहिबार


गाडी चलिराकै छ नि हैन ? यो मर्मत सर्मतमा अनावश्यक खर्च गर्ने हैन धेरै ! हाकिमले भित्रबाट चिच्याएर आदेश दिएको सुनेपछि सवारी चालक मलिन अनुहार बनाएर बाहिर निस्किन्छ । यी प्रायः गाडीमा बस्न मात्र जान्ने तर चलाउन नजान्ने वा जानेर पनि सवारी साधनको यथोचित मर्मत संभारलाई नजरअन्दाज गर्ने हाकिम र सवारीचालकबीच अक्सर धेरै सरकारी कार्यालयहरूमा हुने गरेका संवाद हुन् । तराई तथा समथर भू–भागमा त दुर्घटना भइहाल्यो भने पनि सितिमिति ज्यान जाँदैन । दुर्गम भेगमा ज्यान हत्केलामा राखेर गाडी चलाउने सवारी चालकलाई भने धेरै सकस छ । कतिपय कार्यालयका सवारीचालकहरुको ठगी तथा लापरबाहीले प्रायः सवारीसाधनलाई मार परिरहेको हुन्छ ।

म दुर्गम जिल्ला अछामको नवाठाना गाविस मुना गाउँ जस्तो साधारण ठाउँमा जन्मेर हुर्केको मान्छे, मलाई याद भएसम्म मैले प्रथम पटक गाडी ९ वर्षको हुँदा देखेको हुँ । गाडी छुन पाए पनि स्वर्गीय आनन्द आउँथ्यो, हेरिरहूँ, बसिरहूँ लागेको अझै मानसपटलमा ताजा छ । समयको प्रवाहसँगै अहिले म नेपाल सरकारको इन्जिनियरिङ सेवा, सिभिल समूह, हाईवे उपसमूह राजपत्राङ्कित द्वितीय श्रेणीको कार्यालय प्रमुख पदमा कार्यरत छु । बेलैमा सानातिना मर्मत उचित तरिकाले समयमै गर्न सके कालान्तरमा हुने ठूला खर्च जोगाउन सकिन्छ । सवारीसाधनलाई ताजा अवस्थामा राख्नुपर्छ भन्ने सोचका बाबजुद मिति २०७७/०५/११ गतेका दिन मेरो कार्यालय सडक डिभिजन, साँफेबगरको बा.१ झ. ८९४३ नम्बरको गाडी बाजुरा जिल्लाको बेतालमाण्डौ भन्ने स्थानमा ब्रेक फेल हुन गई सडक सतहबाट करिब ३०० मिटर तल खसि दुर्घटनाग्रस्त भएको सुन्दा म छाँगाबाट खसेझैँ भएको थिएँ । भगवानको अनुकम्पाले सवारी चालक र सब–ईन्जिनियर हाम फालेर बाँच्न सफल भएको सुनेपछि लामो सास फेरेँ । दुर्गम स्थानमा दुर्लभ साधन गुमाउनुको पीडामा आफ्ना सहकर्मीहरू सकुशल रहन सफल भएको खबरले मलम लगाएको थियो ।

एक त दुर्गम पहाडी भूगोलको कार्यक्षेत्र , त्यसमाथि विभागको उपेक्षाले प्रायः दुर्गम भेगमा कार्य गर्ने कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरूको मनोबल कसरी उच्च होस् ? यहाँ सडक विभागको सवारी साधन खरिद प्रक्रिया, प्राप्त सवारी साधनहरूको वितरण आदि विषयमा आफूले बुझे अनुसारको प्रष्ट्याउने जमर्को गर्दै छु । यस प्रयासले मेरा हाकिम साबहरुको मप्रति फरक मत रहन सक्ला तर भविष्यमा यस कुराले केही सकारात्मक पृष्ठपोषण दिन सके आफूलाई भाग्यमानी ठान्ने छु ।

सडक विभागमा गाडी खरिद प्रक्रिया
आ.ब. २०६७/६८ देखि हुनुपर्छ, सडक विभागले एउटा असाध्यै उत्कृष्ट युक्ति निकालेर प्रत्येक कार्यालयले गरेको खर्चबाट उत्पन्न हुने ५ प्रतिशत कन्टिन्जेन्सी रकममध्ये २ प्रतिशतले हुन आउने रकमबाट एउटा कोष बनाई सोही रकम खर्च गरी नयाँ गाडी खरिद गर्ने र विभागमा रहेका पुराना र जीर्ण गाडीहरू क्रमशः विस्थापित गर्ने प्रक्रिया सुरु गर्‍यो। यो साह्रै उचित तथा उत्कृष्ट कदम साबित भयो किन भने यसले गर्दा काममा सहजता आयो र सरकारले थप बजेट विनियोजन गर्नु पनि परेन । यस प्रयासले हरेक वर्ष उल्लेखनीय सङ्ख्याहरू गाडीहरू थपिए र कार्यालयहरूलाई प्राथमिकीकरण गरी गाडीहरू वितरण गर्न थालियो ।

गाडी वितरण प्रक्रिया
गाडी खरिद प्रक्रिया जति प्रशंसनीय छ त्यत्ति नै दुर्भाग्यपूर्ण गाडी वितरणको कुनै नर्म्स नहुनु देखिन्छ । प्राकृतिक न्यायको सिद्धान्त अनुसार सुदूर पूर्वदेखि सुदूरप्रश्चिमका विकट तथा दुर्गम स्थानहरूमा गाडी वितरणमा पहिलो प्राथमिकता दिनुपर्ने भए तापनि सबैभन्दा अग्राधिकार आसेपासे सुगमका कार्यालयहरू कै हुने गरेको देखिन्छ । यसको कारण के हो भने उच्च पदस्थ नजिक रहने कर्मचारीहरू प्रायः सुगम तथा आकर्षक अड्डामा हुने गर्छन् र शक्ति सन्तुलनको समस्याले विभागीय प्रमुख यस विषयमा चाहेर पनि खासै भूमिका खेल्न सक्दैनन् ।

अर्को रोचक पक्ष के छ भने सबैभन्दा वैज्ञानिक तथा प्राविधिक रूपमा अब्बल विभागमा राज्यका स्थान अनुसार गाडी खरिद गर्ने कुनै पनि वर्गीकरण गरेको पाइँदैन । अक्सर राम्रा जापनिज ब्राण्डका गाडी चढ्ने भोक भनौँ कि रहर त्यो पक्षले गाडीको वितरण तथा मर्मतमा प्रत्यक्ष असर पर्ने गरेको देखिन्छ । गाडीको निश्चित उद्देश्य एकातिर हुन्छ भने गाडीमा चढेर रवाफ देखाउने मनोवृत्तिले त्यस गाडीको खरिद मूल्यदेखि मर्मत खर्चमा ढाड सेकाउने गरी दनक दिएको हुन्छ । जनताको करबाट सिर्जित कोषको उच्चतम उपयोग गर्नुपर्नेमा कहिलेकाहीँ यस्तो अवस्था पनि उत्पन्न भइदिन्छ कि फोर्ड को अल न्यु रेन्जरलाई कार्यालयमै पार्क गरेर महिन्द्राको बोलेरो अतिरिक्त खर्चमा भाडामा लिएर जानुपर्ने अवस्था मैले खुद् भोगेको छु। यसकारण कार्यालयको भौगोलिक अवस्थिति हेरेर गाडी खरिद गर्नुपर्दछ । भारतीय ब्राण्डका गाडीहरू खरिदमा सस्तो र मर्मत सर्वसुलभ हुन्छ भने हाम्रो विभागले खरिद गर्ने जापनिज गाडीको कम्प्युटर प्रविधिबाट चेक जाँच गराई ठूला शहरहरुमा मात्र हुने मर्मत खर्चालु मात्र नभई धेरै समय खपत हुने समस्या रहेको हुन्छ । यो विषयमा आजका मितिसम्म पनि विभागको ध्यान पुगेको देखिँदैन ।

हेभी ईक्यूप्मेन्ट डिभिजनको रवैया
सडक विभागको यान्त्रिक महाशाखा अन्तर्गत विभिन्न स्थानमा गरी ८ ओटा हेभी ईक्यूप्मेन्ट डिभिजन र ५ ओटा यान्त्रिक कार्यालयहरू रहेका छन् । वर्षातको समयमा बाढी पहिरोका कारण अवरुद्ध हुने सडक खुलाउनका लागि एक्स्काभेटर, ब्याक हो लोडर, लोडर आदि लगायतका उपकरण प्रभावित क्षेत्रमा उपलब्ध गराउने र आफ्नो क्षेत्राधिकारभित्र पर्ने सडक डिभिजन तथा योजना कार्यालयका सवारी साधनहरू मर्मत गर्ने मुख्य उद्देश्य उल्लिखित कार्यालयहरूको रहेको हुन्छ ।

तर दुर्भाग्यवश न यी कार्यालयहरूले बिग्रेको साधनहरूको आफै मर्मत गर्छन् । न त उपयुक्त समयमा मर्मत गरी समयमा उपलब्ध गराउँछन् । सबैभन्दा ठूलो दुर्भाग्य त के छ भने आज हेभी इक्यूप्मेन्ट डिभिजनमा मर्मतको अनुरोध गरेर छाडेको गाडी केही दिनपछि स्थानीय ग्यारेजमा देखिन्छ । हाम्रो दुर्भाग्य यतिसम्म छ कि एउटा गाडी मर्मत गर्न ८ महिनासम्म व्यतीत गरेपश्चात् पनि बुझेर ल्याएको २/३ महिना नहुँदै सोही गाडी दुर्घटना भई काम नलाग्ने गरी कुच्चिएको छ।

मेरो अनुरोध
गरिब जनतामा थोपरिएको करको बोझबाट हामीले तलब खाएर देश तथा जनताको सेवा गर्ने शपथ लिएका हैनौँ ? देशको भूगोल अनुसार कार्यालयमा रहेका साधनहरूको वैज्ञानिक तथ्याङ्क लिई एक खालको भौगोलिक अवस्थाका कार्यालयहरूमा एक प्रकारको गाडीको सुरु मूल्य तथा मर्मत खर्च र मर्मत उपलब्धता हेरी गाडी खरिद गर्नुपर्ने हुन्छ । आजको दिनमा महिन्द्राको बोलेरो तथा सो प्रकारका भारतबाट आयात गरेका गाडीको मर्मत हरेक जिल्लामा हुन्छ तर जापनिज गाडीहरू मर्मत गर्न प्रायः राजधानी नै पुर्‍याउनु पर्ने भएकाले यो खालका गाडीहरूको सेवा प्रवाह र मूल्यको तादात्म्य देखिँदैन। यसका अलावा एउटा जापनिज गाडीको खरिद मूल्यमा दुई ओटा भारतीय गाडी खरिद गर्न मिल्छ। आफ्नो ज्यान जोखिममा राखेर दुर्गम भेगमा काम गर्ने आफ्ना सहकर्मीहरूको ज्यानको क्षतिमा थोरै पनि ख्याल छ भने यी सबै विषयहरू चाँडै सम्बोधन हुने अपेक्षा छ।

म कार्यरत कार्यालयमा विवश र लाचार अवस्थामा कुच्चिएर बसेको गाडीको अगाडि उभिएर गह भरी आँशु लिई चाँडै नै आफ्नो विलासिता र सुविधा भोगी खोल हटाई मेरो विभागले मैले केही गल्ती लेखेको भए माफी दिई प्रभावकारिताको पक्षलाई अँगाल्ने छ भन्ने विश्वास लिएको छु।

सी.डी.ई. ललिजन खनाल डिभिजन सडक कार्यालय, सेती लोक मार्गमा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस