मकवानपुर । जिल्लाका स्थानीय तह र विभिन्न सरकारी कार्यालयले सामाजिक दूरी कायम गर्दै आजदेखि सेवा प्रवाह गरेका छन् । लामो समयदेखि जारी लकडाउन र निषेधाज्ञा हटाइएपछि जिल्लाको स्थानीय निकाय र विभिन्न सरकारी कार्यालयले सर्वसाधारणलाई सेवा दिन थालेका हुन् ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणलाई ध्यान राखी यहाँका कार्यालयले जग्गा रजिस्ट्रेसन र नामसारी तथा विद्युत् महसुलको काउन्टर खुला गर्नाका साथै जिल्ला प्रशासन कार्यालयमा आएका नागरिकलाई नागरिकता र राहदानीका लागि निवेदन लिन थालेको प्रजिअ दीपकराज नेपालले बताए ।
यसैगरी मकवानपुरका ८ गाउँपालिका, थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा नागरिकता र जग्गा नामसारीको सिफारिस, घरजग्गाको मालपोत कर असुली र वैदेशिक रोजगारीका लागि जाने व्यक्तिलाई सिफारिससमेत आजदेखि दिन शुरु गरिएको छ ।