काठमाडौं । यातायात मजदुर र व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङलाई असोज १ गतेबाट गाडी चलाउने जानकारी गराएका छन्।
अन्तर जिल्ला यातायात सञ्चालनमा भदौ ३२ गतेसम्म रोक लगाइएको छ । तर कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले यो थप लम्बिने सम्भावना छ ।
त्यसबारे निर्णय गर्नुपूर्व दबाअ दिँदै आएका यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुले शुक्रबार यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर चारबुँदे माग राखेका छन् ।
असोज १ गतेबाट अन्तर जिल्ला यातायात खुला गर्नुपर्ने, उपत्यकामा १६ सिटभन्दा कम क्षमताका सवारी पनि चलाउन पाउनुपर्ने, होल्डिङ सेन्टरमा भएको अनियमितताबारे छानविन गर्नुपर्ने र सवारीको आयु तोकेर दर्ता तथा नविकरण रोक्ने निर्णय खारेज गर्नुपर्ने उनीहरुको माग छ ।
सरकारको निर्णय मानेर ६ महिनादेखि गाडी थन्काएर बसेको, तर असोज १ बाट नमान्ने उनीहरुले बताएका छन् ।
मन्त्री नेम्वाङले यी विषयबारे सिसिएमसी, स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री समक्ष कुरा राख्ने प्रतिवद्धता गरेका छन् ।