चोरी गरेको आरोपमा चार जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चोरी गरेको आरोपमा चार जना पक्राउ


२३ भाद्र २०७७, मंगलबार


सप्तरी । सप्तरीको राजविराजस्थित मुख्य बजारको गणेश स्टोरबाट नगदसहित साढे ५ लाख मूल्य बराबरको सामान चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

सिसीटिभी क्यामेराको फुटेजका आधारमा अनुसन्धान गर्दा चोरीमा संलग्न चार जनालाई रु चार लाख मूल्य बराबरको नगद र सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका–६ का सैनी भनिने सनिया मण्डल, उनकी दिदी राजविराज–४ की ज्योतिकुमारी मण्डल सहनी, सोही ठाउँका समिम अन्सारी र सप्तरीको रुपनी गाउँपालिका– ४ का लाल मोहम्मद राइन रहेका छन् । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत आज उनीहरुलाई सार्वजनिक गरेको हो ।

गणेश स्टोर पसलभित्र प्रवेश गरी चोरी गर्ने सनियालाई बाहिर बसेर मानिस आवतजावतको सूचना दिन उनका साथी राइनले सहयोग गरेका थिए । सनियाकी दिदी ज्योतिले चोरीका सामान र रकम केही आफ्नो डेरामा र केही राजविराज–२ स्थित आफ्नो मदिरा पसलमा लुकाएर राखेकी थिइन् । उनकै पसलमा काम गर्ने समिमले चोरीको रकम कपडामा बेरी खाल्डो खनी माटोमा गाडेर लुकाएका थिए ।

सोमबार बिहान सनियाले गणेश स्टोर अगाडि रहेको सोलारको पोलबाट घरमाथि चढेर भुई तल्लामा रहेको पसलमा प्रवेश गरी रु ४ लाख नगद र साढे एक लाख मूल्य बराबरको मोबाइल रिचार्ज कार्ड चोरी गरेका थिए । चोरीको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले तत्कालै अनुसन्धान तीव्र बनाएकाले छिट्टै सफलता हात लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए ।

प्रहरीले आरोपितलाई पक्राउ गरेसँगै उनीहरुको घर र पसलबाट ५० हजारको रिचार्ज कार्ड र रु ३ लाख ६० हजार नगदसमेत बरामद गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस