उपत्यकामा निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपत्यकामा निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी


२३ भाद्र २०७७, मंगलबार


काठमाडौं ।  बुधबार रातिसम्म जारी रहने निषेधाज्ञाबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षा निकाय, उद्योगी र व्यापारी, सरकारी चिकित्सकबिच भर्चुअल बैठक सुरु भएको छ ।

कोरोना संक्रमण बढेपछि तीनवटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा लगाएका छन् । तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ ।

तर अझै संक्रमण नियन्त्रणमा नआएकाले पूर्ण रुपमा खुला गर्न नहुनेमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एकमत छन् । हालकै अवस्थामा निरन्तरता दिँदा पनि जनस्तरबाट विरोध हुनसक्ने प्रमुख जिल्ला अधिकारीहरुको बुझाइ छ ।

गृह मन्त्रालयले पनि निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी खाका प्रस्तुत गर्न भनेको छ । मंगलबारको संवादपछि निस्किने निष्कर्षबारे गृहसचिव महेश्वर न्यौपानेलगायतसँग छलफल गरेर उपत्यकाको निषेधाज्ञाबारे निर्णय हुने स्रोतको भनाइ छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘हामी छलफलमा छौं, बुधबार मात्र निषेधाज्ञाबारे निर्णय हुनेछ ।’

त्यसैले मोडालिटी फेर्नुपर्ने अवस्था आएको छ । ‘स्वास्थ्य मन्त्रालय र प्रहरी प्रशासनको हिसाबले निषेधाज्ञालाई कडाइ गर्नुपर्छ भन्ने राय छ’, उनले भने, ‘तर ज्याला मजदुरी गरेर खानेहरुलाई बाँच्न गाह्रो पनि भएको छ । त्यसैले मुख्यतः आवश्यकता के हो भनेर हेर्नुपर्ने अवस्था आएको छ ।’

स्रोतका अनुसार दुई वटा प्रस्ताव आएका छन् । पहिलो, एक साता निषेधाज्ञा थपेर रोजगारीका क्षेत्रलाई खुला गर्ने । दोस्रो, जोर–विजोर प्रणाली लागू गर्ने गरेर सवारी साधन पनि चल्न दिने । यद्यपि जोर–विजोर प्रणाली यसै हप्ता लागू गर्ने वा एक सातापछि भन्ने टुंगो लागिसकेको छैन । ४ भदौबाट जारी निषेधाज्ञाका कारण एक सातापछि संक्रमण दर पनि घट्दै जाने कतिपय प्रशासकको विश्लेषण छ । त्यसैले तत्काललाई उद्योग, कलकारखाना र पसलहरु स्वास्थ्य मापदण्ड पालना गरेर खुला गर्न दिनुपर्ने उनीहरुको धारणा छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस