एक अर्कामा अविश्वासको खाडल बढाएर सुशासन प्राप्त हुन सक्तैन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एक अर्कामा अविश्वासको खाडल बढाएर सुशासन प्राप्त हुन सक्तैन


२२ भाद्र २०७७, सोमबार


निजामती सेवा ऐन जारी भएको दिन २०१३ भदौ २२ गतेको सम्झनामा २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालिएको हो । ‘सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता’ मूल नाराका साथ २०६१ मा मनाइएको पहिलो निजामती सेवा दिवसपछि हरेक वर्ष नयाँ नयाँ नाराहरूसहित मनाइँदै आएको दिवस २०७७ मा आइपुग्दा ‘स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन’ नारा तय गरिएको छ । यसै सन्दर्भमा ‘निजामतीमा सुशासन’लगायत विषयमा केन्द्रित रही नेपाल सरकारका पूर्व सचिव शारदा प्रसाद त्रितालसँग प्रशासन डटकमले गरेको कुराकानी ।

सुशासनको कुरा जोडतोडले उठेको देखिन्छ, कर्मचारी र सुशासनको अन्तरसम्बन्धबारे केही प्रस्ट्याइ दिनुहोस् न ?
सुशासनका विभिन्न पक्ष हुन्छन् जस्तै राजनीतिक सुशासन, आर्थिक सुशासन, प्रशासनिक सुशासन, नैतिक सुशासन आदि । आर्थिक सुशासन, प्रशासनिक सुशासन र नैतिक सुशासनमा प्रशासनयन्त्रको मुख्य भूमिका हुन्छ । कानुन अनुसार प्राप्त अधिकारको प्रयोग, कर्तव्यवोध र आचार संहिताको सही पालनाले प्रशासनिक सुशासन र नैतिक सुशासन कायम गर्न सकिन्छ र नागरिकको विश्वास जित्न सकिन्छ । सुशासन ऐन र नियमावली, आर्थिक प्रशासन सम्बन्धी ऐन र नियमहरू, सार्वजनिक खरिद ऐन र नियमावली, सुशासन सम्बन्धी ऐन र नियमावलीको पालना र कर्मचारीका आचारसंहिता सम्बन्धी व्यवस्थाको पालना यस अन्तर्गत पर्दछन् । निजामती कर्मचारीको सम्बन्धमा निजामती कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५ अत्यन्तै महत्त्वपूर्ण कानुनी व्यवस्था हो । यसको सही पालना हुन सक्यो भने कर्मचारीले सुशासनमा सहयोग पुर्‍याएको मानिन्छ ।

पछिल्लो समय हरेक क्षेत्रबाट कर्मचारीतन्त्रमा सुशासन भएन भन्ने आवाज उठिरहेको छ, यो कसरी सम्भव छ ?
अघिल्लो प्रश्नको उत्तरमा समावेश भएका कानुनी र नैतिक विषयको अभाव देखिँदा यस्तो आवाज उठेको हो । कर्मचारीवर्गले यस पक्षमा विशेष ध्यान दिनु आवश्यक छ ।

सुशासन क–कसबाट कसरी पालना भयो भने नागरिकस्तरमा त्यसको अनुभूति गर्न सकिन्छ र त्यसका लागि ती निकाय तथा व्यक्तिहरूको भूमिका कस्तो रहन्छ ?
देशको नीति, कानुन र संस्थागत व्यवहारलाई सही तरिकाले सम्बद्ध कर्मचारीले प्रयोग गरिरहेका छन् छैनन् भनेर सर्वसाधारण नागरिक र तिनका संस्था वा प्रतिनिधिले हेरिरहेका हुन्छन् । कर्मचारीको व्यवहारप्रति नागरिकको विश्वास बढेको र सेवा प्राप्तिमा सन्तुष्टि भएको अवस्थाले सुशासनको अनुभूति दिलाउँछन् । सम्बन्धित निकाय र तिनका पदाधिकारीले आफ्नो अधिकार र कर्तव्यको सही पालना गर्नु पर्ने हुन्छ । हरेक कर्मचारीले आत्ममूल्याङ्कन गर्न सकेको खण्डमा सही मार्गमा अघि बढ्न सहयोग पुग्छ । राजनीतिक तहबाट कर्मचारीको क्षमता र इमान्दारिताको निष्पक्ष मूल्याङ्कन र सोही अनुरूपको व्यवहार प्रदर्शन हुनु आवश्यक छ । एक अर्कामा अविश्वासको खाडल बढाएर सुशासन प्राप्त हुन सक्तैन ।

विगत केही वर्षयता हरेक वर्ष भदौ २२ गते मनाइँदै आइएको निजामती सेवा दिवससँगै यस पटक पनि ‘स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन’ भन्ने नारा दिइएको छ, नाराको सान्दर्भिकता र औचित्यतालाई कसरी पुस्ट्याइँ कसरी गर्न सकिएला ?
नारा एउटा दूर दृष्टि जनाउने मानक हो । त्यस नाराले राखेको दृष्टिकोणको गन्तव्यमा पुग्नको लागि योजना र कार्यक्रमसहित कार्यान्वयनमा जानु पर्ने हुन्छ । तर प्रत्येक वर्ष नारा तय गर्ने कार्यमा हामी सीमित भइरहेका छौँ । नयाँ र आकर्षक नारा सिर्जना गर्नुलाई हामीले उपलब्धि मान्न थालेका छौँ । गत वर्षको नाराको कार्यान्वयन कुन हदसम्म कार्यान्वयनमा ल्याइयो भनेर मूल्याङ्कन गर्ने र देखिएका कमी कमजोरी हटाउने गरी अर्को वर्षको नारा तय गर्ने परिपाटी हामीले बसाउनै सकेनौँ । यस किसिमको परिपाटीको अभावमा कुनै पनि नाराको औचित्य पुष्टि गर्न कठिन हुन्छ । यस तर्फ ध्यान दिनु अत्यावश्यक भइसकेको देखिन्छ ।

नारा नै उल्टो भयो कि भन्ने पनि कुरा उठिरहेको छ, सक्षम भएपछि स्वच्छता कायम हुने र सुशासन पछि मात्रै समृद्धि आउने हो भन्ने पनि केही तर्क उठेको देखिन्छ, यहाँलाई के लाग्छ ?
नारा उल्टो वा सुल्टो भन्दा पनि आगामी वर्ष यस नाराको सान्दर्भिकता छ कि छैन भनेर हेर्नु पर्ने हुन्छ । देशको मूल नीतिसँग यस नाराको सम्बन्ध कस्तो छ भनेर हेर्नु पर्ने हुन्छ । शाब्दिक रूपमा हेर्दा नारामा खोट लाउनु पर्ने देखिँदैन ।

कर्मचारीतन्त्र अहिले हिँडिरहेको बाटो कस्तो देखिराख्नु भएको छ ?
कर्मचारी वर्ग सक्षम र इमानदार हुनु आवश्यक छ । यसैले कर्मचारीको मार्ग भनेकै सक्षमता र इमानदारिताका साथ अघि बढ्नु हो । यस मार्गमा अपेक्षाकृत सफलता हासिल हुन सकिरहेको छैन । सक्षमताको मार्ग सहज बनाउने काम सरकारको हो भने इमानदारिताको मार्ग सहज बनाउने दायित्व कर्मचारी आफैँको हो । सरकारले कर्मचारीको लागि न्यूनतम जीवन निर्वाहको लागि पर्याप्त तलब र सुविधा, अध्ययन र तालिमको अवसर र वृत्ति विकासको समुचित व्यवस्था गर्न सक्नुपर्छ । त्यसै गरी कर्मचारीले कानुनको परिपालना र जनताको निष्पक्ष सेवा गरी इमानदारिता प्रदर्शन गर्नु आवश्यक छ । यी दुवै पक्ष सबल नदेखिएको अवस्था विद्यमान छ । त्यसैले सरकार र कर्मचारी दुवै सजग हुनु आवश्यक देखिन्छ ।

निजामती पुरस्कारको बारेमा विगत र वर्तमानमा तपाईँको धारणा के छ ?
निजामती सेवा पुरस्कार स्थापनाको उद्देश्य पूरा हुने गरी व्यवस्थापन गर्नु आवश्यक छ । यसमा भागबन्डा गर्ने परिपाटीको अन्त्य हुनुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस