उपत्यकामा निषेधाज्ञा खुकुलो, यस्ता छन् गर्न पाइने कामहरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा निषेधाज्ञा खुकुलो, यस्ता छन् गर्न पाइने कामहरु


१७ भाद्र २०७७, बुधबार


काठमाडौं । काठमाडौं उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञालाई भने केही खुकुलो बनाइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले उपत्यका कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा बढाएको हो । यसको औपचारिक सूचना तीनै जिल्लाका प्रजिअबाट जारी भएको छ।

निषेधाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गरिएको छ । बिहान ११ बजेसम्म किनमेल र हिडडुलका लागि खुकुलो गरिएको छ। बैंकलगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था मिलाइएको छ। तर होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द गरिनेछ। उपत्यका नगरपालिका फोरमले थप एक हप्ता निषेधाज्ञा गर्नुपर्ने सुझाव तीनै सिडिओलाई दिएको थियो।

निजी क्षेत्रका कार्यालय संचालन तथा अत्यावश्यक सेवा संचालन गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने दबाब सबैतिरबाट आएकोले निषेधाज्ञालाई केही खुकुलो बनाउनेबारे गृह मन्‍त्रालयमा छलफल गरिएको हो।

नेपाल उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्र, स्थानीय निकाय लगायत सरोकारवालासँग परामर्श गरेर निषेधाज्ञाको मोडालिटी थोरै परिवर्तन गरिएको हो। मंगलबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच भर्चुअल बैठक भएको थियो।

उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले भदौ २ गतेको पहिलोपटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका थिए । भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेशलाई निरन्तरता दिइएको थियो।

संक्रमण तीव्र हुँदै गएपछि लकडाउन खोलिएको दुई महिनापछि सरकारले फेरि निषेधाज्ञा जारी गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस