यातायात कार्यालयका कर्मचारीसहित पाँच जना कारागार चलान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यातायात कार्यालयका कर्मचारीसहित पाँच जना कारागार चलान


१६ भाद्र २०७७, मंगलबार


महेन्द्रनगर । सङ्गठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित पाँच जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल बास्तोलाको एकल इजलासले मुद्दामा थुनछेक आदेश गर्दै चोरीका मोटरसाइकल र स्कुटरका नक्कली कागजात बनाई बेचबिखन गिरोहमा संलग्न कम्प्युटर अपरेटर रानासहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी कार्याय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले उक्त मुद्दाका पाँच जना पुर्पक्षका लागि कारागार चलान गरिएको बताउँदै दश जना धरौटीमा रिहा भएको जानकारी दिए ।

उनका अनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा यातायात कार्यालय कैलालीका कम्प्युटर अपरेटर जितेन्द्र राना, कञ्चनपुरको लालझाँडी गाउँपालिकाका रामनिवास राना, शुक्लाफाँटा नगरपालिकाका श्यामकुमार राना, बेदकोट नगरपालिका–६ का हरेन्द्र राना र बेदकोट नगरपालिका–१० का सुवेश राना रहेका छन् ।’अन्य दश जना रु ६० हजारदेखि रु ३ लाखसम्म धरौटीमा रिहा भएका छन्’, प्रवक्ता थापाले भने , ‘सोही घटनामा पक्राउ परेका यातायात कार्यालय कैलालीका कार्यालय सहयोगी गणेश भट्टराई रु डेढ लाख धरौटीमा रिहा भएका छन् ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गत असार १५ गते १२ थान मोटसाइकल र कैलाली यातायात कार्यालयमा दर्ता देखाइएका १२ थान ब्लुबुकसहित अभियुक्तहरु सार्वजनिक गरेको थियो । अभियुक्तहरुले चोरीका सवारीसाधनलाई वैध बनाउन विभिन्न सरकारी कागजात किर्ते गर्नुका साथै मोटरसाइकल ग्रामीण बस्तीमा किनबेच गर्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस