रौतहट घटना : इन्सपेक्टरसहित तीन प्रहरी निलम्बित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रौतहट घटना : इन्सपेक्टरसहित तीन प्रहरी निलम्बित


१६ भाद्र २०७७, मंगलबार


रौतहट । रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १७ वर्षीय युवक विजय रामको हिरासतमा मृत्यु भएको घटनामा जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीनकुमार सिंह र दुई हवल्दार निलम्बनमा परेका छन् ।

इन्स्पेक्टर सिंहलाई प्रहरी प्रधान कार्यालय र हवल्दारद्वयलाई प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

जिंगडियाका २० वर्षीय निरन्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा साउन ३२ गते गाउँकै विजयलाई इलाका प्रहरी गरुडाले पक्राउ गरेको थियो । उनले उसै बेला हत्यामा आफ्नो संलग्नता नरहेको भनेका थिए । घटनाको अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काको आदेशमा गरुडा आएका इन्सपेक्टर सिंहसहित सादा पोसाकका प्रहरी हवल्दार फिरोजमिया धुनिया र अर्का हवल्दार मन्नुकुमार सिहले विजयलाई हिरासतमा हत्या स्वीकार गर्न चरम यातना दिएको पीडित परिवारको आरोपपछि उनीहरुलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरिएको हो ।

प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले विजय राम मृत्यु प्रकरणबारे छानबिन भइरहेकोले तत्काल उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए। उनका अनुसार छानबिन पूरा नभएसम्म उनीहरूलाई निलम्बन गरिएको छ। इलाका प्रहरी कार्यालय गरुडाले निरञ्‍जन रामको हत्या अभियोगमा सात जनालाई पक्राउ गरेको थियो। जसमध्ये विजयलाई अनुसन्धानका क्रममा जिल्लाबाट खटेका इन्सपेक्टर सिंह र हवलदारद्वयले यातना दिएका थिए। यातनापछि नेशनल मेडिकल कलेज वीरगन्जमा भर्ना भएका रामको उपचारका क्रममा त्यहीँ मृत्यु भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस