बाँकेमा ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाँकेमा ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु


११ भाद्र २०७७, बिहिबार


राँझा । बाँकेमा कोरोना सङ्क्रमणबाट आज थप एक ७० वर्षीयाको मृत्यु भएको छ ।

दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी महिलाको आज बिहान १०ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ३ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा भदौ ५ गते अपराह्न ३ बजे सङ्क्रमण देखिएको थियो ।

उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भदौ ६ गते राति १० बजे शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै पनि बिरामीको अवस्थामा सुधार नआएपछि आज बिहान मृत्यु भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुने ६ जना पुगेका छन् ।

यसअघि नरैनापुर गाउँपालिका– ५ निवासी २५ वर्षीय युवक, बैजनाथ गाउँपालिका –६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका –२ निवासी ७० वर्षीया महिला, नेपालगञ्ज ५ निवासी ६२ वर्षीय पुरुष र नेपालगञ्ज –१ निवासी ३७ वर्षीय युवकको कोरोनाबाट मृत्यु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस