पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्न गृहको गोप्य सर्कुलर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्न गृहको गोप्य सर्कुलर


११ भाद्र २०७७, बिहिबार


काठमाडौँ । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई हत्याको विरोधमा हुने प्रदर्शन रोक्न गोप्य सर्कुलर गरेको छ ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ ।

भदौ ७ गते सम्प्रेषित पत्रमा पुजारी श्रीराम साहको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन र ज्ञापन पत्र बुझाउने जस्ता कार्य भएको बताउँदै विभिन्न जिल्लाहरूमा हुनसक्ने ‘अवाञ्छित गतिविधि’ रोक्न भनिएको छ ।

पत्रमा भनिएको छ, ‘घटनाको विषयलाई लिएर त्यहाँका जिल्लाहरूमा हुनसक्ने अवाञ्छित गवितिविधिहरु हुन/गर्न नदिन सम्बन्धित निकायसँग समन्वय गरी कानुन विपरीतका कार्य भए/गरेको पाइएमा संलग्नताहरूलाई कानुनी दायरामा ल्याउने व्यवस्था हुन आदेशअनुसार अनुरोध छ ।’

गत ३ भदौमा राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । प्रकरणको एक साता बितिसक्दा पनि प्रहरीले अनुसन्धानमा कुनै महत्त्वपूर्ण सफलता हात पार्न नसकेको भन्दै अहिले चौतर्फी विरोध भइरहेको छ ।

अनुसन्धानमा प्रहरी गम्भीर नभएको आरोप लागिरहेका बेला गृहको सर्कुलर सार्वजनिक भएसँगै थप नागरिक आक्रोश बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस