कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

 कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरण


११ भाद्र २०७७, बिहिबार


दैनिक १८ घण्टासम्मको लामो र टिठ लाग्दो लोडसेडिङको पूर्णरूपमा अन्त्य गर्दै नेपाल र नेपालीको लागि उज्यालोको ज्योति बन्दै समृद्ध नेपालको मनोबल उच्च बनाउँदै सम्पूर्ण नेपालीहरूको मानसपटलमा बस्न सफल रामेछापको दुर्गम गाउँ बेथानको एक साधारण परिवारमा २०२७ मङ्सिर १० गते बुधवार जन्म भई सम्पूर्ण  राष्ट्रप्रेमीहरुको प्रेरणाको स्रोत तथा सबैका आदरणीय व्यक्तित्व बन्न सफल भएका छन् कुलमान घिसिङ । सम्पूर्ण नेपालीहरूको घर र मनलाई उज्यालो बनाउने मूल अभियानका साथ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक बन्न पुगेका घिसिङले नियुक्ति हुनु भन्दा अघि विना कारण जिम्मेवार विहीन अवस्थामा पुग्नु पर्‍यो भने नियुक्तिको चरणमा केही सीमित स्वार्थ समूहद्वारा उनको नियुक्ति बदर गर्न अदालतमा रिट समेत हाल्न भ्याए । तर अन्ततः अदालतले उनको नियुक्तिको बाटो खोली दियो र नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बन्न सफल भए । यो चार वर्षको कार्यकालमा साँच्चै नै आफ्नो अभियानलाई पुरा गर्न सफल भएका छन् घिसिङ ।

आज गाउँ गाउँका टुकी र लालटिनहरू सहजै विस्थापित भएका छन् साथै नेपाल विद्युत् प्राधिकरणको खस्कँदो साख पनि चम्किएको छ । “गरे के हुँदैन” भन्ने सिद्धान्त आज चरितार्थ भएको छ । “असम्भव भन्ने कुरा मूर्खको डायरीमा मात्र हुन्छ” भन्ने भनाई कार्यकारी निर्देशक घिसिङले आज प्रमाणित गरिदिएका छन् । नेपालको लोडसेडिङ जिन्दगीभर हट्दैन र कसैले हटाउन पनि सक्दैन र कसैले हटाएर देखायो भने कान काटेर पातमा राखिदिन्छु भन्नेहरू आज यसको जस आफूले लिन घिसिङलाई विस्थापित गर्दै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बन्ने होडबाजीमा देखिन्छन् ।

१८ घण्टा लोडसेडिङ
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुनु भन्दा अगाडि नेपालमा पुरै अन्धकार थियो । १८ देखी २२ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । नेपालीहरूले बिजुलीको अनुहार नै देख्न पाउँदैन थिए । राती सुत्दा बिजुली हुँदैन थियो, बिहान उठ्दा पनि बिजुली हुँदैन थियो । राति १२ बजे तिर आएर बिहान ४ बजे तिर लाइन गइसक्थ्यो । अन्धकारमा खाना पकाउने र अन्धकारमै खाने नेपालीहरूको नियति नै बनिसकेको थियो । केही हुने खानेहरूले सोलार तथा इन्भर्टर जडान गरे पनि आम मानिस त्यसको पहुँचबाट टाढा थिए ।

बजारमा ब्याट्री, इन्भर्टर तथा सोलारको बजार खुब चलेको थियो । नेपालीहरूको नियति नै बनिसकेको थियो ऋण गरेर भए पनि ब्याट्री किन्नु र घरलाई उज्यालो बनाउनु । ब्याट्री, इन्भर्टर तथा सोलारको व्यापार र कमिसनको खेलले नेपाली समाज आक्रान्त बनिसकेको थियो । लोडसेडिङको जरा यति गहिरिएको थियो कि यसको दलदलवाट नेपाली समाजलाई बचाउन कसैले सपनामा समेत चिताउने अवस्था थिएन । “त्यसैले लाग्थ्योकी नेपालमा मौलाएको लोडसेडिङ र कमिसनको खेल हटाउनु कुनै हालतमा सम्भव नै देखिँदैन थिएन” । विद्युत् प्राधिकरण लोडसेडिङको दैनिक तालिका बनाउन मै व्यस्त देखिन्थ्यो ।

नेपाल सरकारसँग उज्यालो नेपालको कल्पना गरिएको कुनै योजना नै देखिँदैन थियो । समाजका भ्रष्ट तथा “एनी हाउ पैसा कमाऊ” भन्ने भावना भएका सेवा प्रवाहसँग सम्बद्ध व्यक्तिहरूमा केही पहुँचवाला उद्योगहरूलाई बिजुली दिएर कमिसन कुम्ल्याउने होडबाजी नै चल्थ्यो । यस्तो समयमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुनु र नेपालमा लोडसेडिङ अन्त्य गर्नु त्यति सहज थिएन । यस्तो विकराल परिस्थितिमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएका घिसिङ उज्यालो नेपालको एक मात्र अभियानमा लागि परे, वर्षौँदेखि कमाऊ सेटिङमा लागेका विद्युत् प्राधिकरणका हजारौँ कर्मचारीहरूको एकमुष्ट सरुवा गर्दै अत्यन्त चुनौतीका बिच आफ्नो उज्यालो नेपालको अभियान सुरु गरे र अन्ततः आफ्नो अभियानलाई सफल पार्दै यो ४ वर्षको अवधिमा नेपाललाई पूर्णरूपमा लोडसेडिङ मुक्त बनाउन सफल भए । उनले नेपाली जनतालाई लगाएको यो गुण वर्तमान पिँढीले मात्र हैन भावी पुस्ताहरूले पनि अवश्यै सम्झनेछन् ।

घिसिङको विगतः
१. २०५१ सालमा इन्जिनियर, सातौँ तहबाट नेपाल विद्युत् प्राधिकरणमा उनको आधिकारिक प्रवेश भयो ।
२. नेपाल विद्युत् प्राधिकरणमै कार्यरत रहँदा उनी चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशक बन्न सफल भए ।
३. २०७३ भाद्र २९ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भए ।
४. तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले पत्याएका व्यक्तित्व हुन् उनी ।
५. उनी नियुक्त भएको २०७३ सालमा काठमाडौँ पहिलो पटक लोडसेडिङ मुक्त भयो ।
६. दोस्रो चरणमा भरतपुर र पोखरा लोडसेडिङ मुक्त भयो ।
७. तेस्रो चरणमा २०७५ सालमा पुरै नेपाल लोडसेडिङ मुक्त भयो ।
८. खस्कँदै गएको प्राधिकरणको छवि एकाएक चम्किलो भयो ।
९. सरकारले उनी माथि गरेको विश्वास, निरन्तर सहयोग र प्राधिकरणको समग्र टिमको योगदानले उनलाई सफल बनायो ।
८. विद्युत् चुहावटको ठुलो समस्या समाधान भयो र विद्युत् खपतमा वृद्धि भयो ।
९. विगत ४ वर्षमा नेपाल विद्युत् प्राधिकरण निरन्तर नाफामा जान सफल भयो ।
१०. विद्युत् पहुँचमा वृद्धि भयो ।

त्यस्तो लोडसेडिङमय अन्धकार नेपालको विकराल परिस्थितको विभिन्न चुनौतीसँग लड्दै आफ्नो उज्यालो नेपाल अभियान सहित समृद्ध नेपालीको मूल लक्ष्यमा सफल घिसिङ आफ्नो निष्ठापूर्ण राष्ट्र सेवामा समर्पित हुँदाहुँदै उनका केही कार्य तथा आफ्नो कार्यकालमा पूरा गर्न नसकेका केही कमजोरीहरूलाई लिएर जनमानसमा आलोचित समेत बन्नु पर्‍यो । सधैँ सकारात्मक सोचका साथ राष्ट्र सेवामा समर्पित हुँदाहुँदै आलोचनाको पात्र बन्न पुग्नु उनको व्यक्तिगत जीवन तथा समग्र राष्ट्रकै लागि दुःखद् अवस्था हो भन्दा अतिशयोक्तिपूर्ण नहोला ।

के थिए त घिसिङ आलोचित बन्नुपर्ने कारणहरू ?
१. एल.इ.डी. बल्ब खरिद काण्डको कमिसन विवादमा आलोचित हुनु पर्दा उनले पारदर्शिताको माध्यमबाट आफू यस्तो विवादमा पर्नु नपर्ने कारण सहित प्रष्ट रूपमा उपस्थित हुन नसक्नु ।
२. प्रशस्त समय पाउँदा समेत माथिल्लो तामाकोशीलाई पूर्णता दिन नसकेको अवस्थामा किन पूर्णता पाउन सकेन माथिल्लो तामाकोशीले भन्ने प्रष्ट आधार जनमानसमा पेश गर्न नसक्नु ।
३. ग्यास/पेट्रोलियम विस्थापनको मूर्त योजना/खाका तयार पार्न नसक्नु ।
४. विद्युत् खपतमा वृद्धि गर्ने दीर्घकालीन आधार तयार गर्न नसक्नुको पछाडि के थियो त बाधक यस विषयमा कहीँ कतै आफ्नो धारणा सम्प्रेषण गर्नबाट चुक्नु ।
५. पेट्रोल डिजेलको प्रयोगलाई विस्थापित गरी विद्युतीय सामाग्री प्रयोगको दीर्घकालीन आधार तय गरे पनि यसको कार्यान्वयन किन हुन सकेन ? के थियो त उनलाई असफल बनाउने कारण ? यस विषयमा उनले खुलेर आफ्नो धारणा व्यक्त गर्न नसक्नु ।
६. रुग्ण बनेका ३६ वटा जलविद्युत आयोजनाको उद्धार गर्न निर्देशक घिसिङ किन चुके ? के उनले नचाहेरै ती जलविद्युत आयोजनाको अवस्था रुग्ण भएको हो ? उनको  प्रस्ट धारणा आउन सकेन, जसबाट उनी आलोचित बन्न पुगे ।
७. विद्युत खपतको दर बढाउन प्रभावकारी योजना किन ल्याउन सकेनन् कार्यकारी निर्देशक घिसिङले ? के उनलाई कहीँ कतैबाट काममा वाधा उत्पन्न भएको हो ? खुलेर बोल्न सक्नु पर्थ्यो, जहाँ उनी चुके ।
८. प्राधिकरणका वितरण केन्द्रहरूको सेवा प्रवाहमा सुधार गर्न नसक्नु र सम्बन्धित कर्मचारीहरूलाई आफ्नो सेवाप्रति जबाफदेही बनाउन नसक्नु उनको कार्यकालको ठुलो कमजोरी हो ।
९. हामी भारतलाई बिजुली बेच्न तयार छौ तर नेपालकै लगभग १४ प्रतिशत जनसङ्ख्या ग्रिडको बिजुलीको पहुँच बाहिर हुनु दुखद् कुरा हो जसले घिसिङलाई आलोचित बनाउनबाट रोक्न सक्दैन ।
१०. झ्याप्प–झ्याप्प बिजुली गइरहनू, ग्रामीण तथा कतिपय शहरीक्षेत्रमा समेत लो भोल्टेजको समस्या समाधान हुन नसक्नुले निर्देशक घिसिङलाई आलोचित बनायो ।
११. सोलु करिडोर, काली गण्डकी कोरिडोर, हेटौँडा-भरतपुर बर्दघाट, सिंगटी लामेसाँघु, हेटौँडा-ढल्केबर-इनरुवा लगायतका आन्तरिक प्रसारण लाइनहरू किन उनको कार्यकालमा बन्न सकेनन् ? के थियो यसको पछाडिको कारण उनले खुलेर सबैलाई स्पष्ट बनाउनु जरुरी थियो । तर त्यसो गरेनन् जसले उनलाई आलोचित बनायो ।
१२. लोडसेडिङ त अन्त्य भयो तर वितरण लाइनमा किन सुधार हुन सकेन ? एक झर पानी पर्नासाथ लाइन काटिने समस्याको समाधान के हो ? एसी, हिटर जस्ता विद्युतीय सामाग्रीहरूको लोड धान्न सक्ने वितरण प्रणाली विस्तार गर्न नसक्दा निर्देशक घिसिङ आलोचित बन्न पुगेका छन् ।
१३. ४५६ मेगावाटको माथिल्लो तामाकोसी जस्ता ठुला विद्युत् आयोजनाहरू सफल पार्न सकेको भए आज उनको कार्यकालमा विद्युत् प्राधिकरण फाइदामा जाने मात्र हैन भारत लगायत अन्य देशहरूलाई विद्युत् बेचेर नेपालले समृद्धिको यात्रा समाइसकेको हुने थियो, यस्तो हातैमा आइसकेको ठुलो सफलता सम्पूर्ण नेपाल र नेपालीलाई दिन नसक्नुले उनी आलोचित बन्न पुगे ।

 चार वर्षे कार्यकालमा घिसिङका उपलब्धिः
१. वित्तीय सुधारः आर्थिक वर्ष २०६७/०६८ सम्म सञ्चित घाटा करिब २७ अर्व रुपैयाँ रहेको नेपाल विद्युत् प्राधिकरण आर्थिक वर्ष २०७६/०७७ सम्म आइपुग्दा करिब ११ अर्व रुपैयाँ खुद मुनाफा कमाउन सफल भयो । यसले प्रमाणित हुन्छ कि नेपाल विद्युत् प्राधिकरण निरन्तर रूपमा नाफामा गई वित्तीय सुशासनमा बढोत्तरी हुँदै गएको अवस्था छ ।

२. प्रशासनिक सुधारःRight Man Right Place’को अवधारणाले सार्थकता पाएको छ । सेवा प्रवाहमा, विद्युत् चुहावट नियन्त्रण तथा महशुल बक्यौता असुलको क्षेत्रमा उल्लेख्य रूपमा सुधार भएको छ । प्राधिकरणलाई सूचना मैत्री बनाउन सफल भएको छ । कम्पनी मोडलमा जलविद्युत उत्पादन गर्ने कार्यको सुरुवात भएको छ।

३. उत्पादनमा सुधारः आर्थिक वर्ष २०७२/७३ मा नेपालमा जम्मा कुल ८०१.७ मेगावाट जलविद्युत उत्पादन भइरहेको थियो भने आर्थिक वर्ष २०७६/७७ सम्म आइपुग्दा जलविद्युत उत्पादन ५७ प्रतिशतले वृद्धि भई १२५८.७ मेगावाट पुगेको छ । प्राकृतिक प्रकोप तथा अन्य विविध कारणले अलपत्र अवस्थामा रहेका निर्माणाधीन जलविद्युत आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिई विद्युत् उत्पादनको क्षेत्रमा उल्लेखनीय सुधार गरेको अवस्था छ ।

४. विद्युत् प्रसारणमा सुधारः देश भर २२० के.भी. सम्मका प्रशारण लाइनहरू जस्तै खिम्ती-ढल्केवर, कोहलपुर-महेन्द्रनगर, हेटौडा कुलेखानी-स्यूचाटारको निर्माण तथा स्तरोन्नति गरी विद्युत् प्रशारणमा उल्लेख्य सुधार गरेको तथा विकट भौगोलिक अवस्थाका ठाउँहरूलाई समेत केन्द्रीय प्रसारण लाइनमा जोडेको देखिन्छ । घाटाको कलङ्क अन्त्य गरेर नाफाको युग सुरु गरेको नेपाल विद्युत् प्राधिकरण विगतका वर्षमा सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्न सफल भएको छ ।

५. विद्युत् चुहावट नियन्त्रणमा सुधारः आर्थिक वर्ष २०७२/०७३ मा २५.७८ प्रतिशत विद्युत् चुहावट रहेकोमा आर्थिक वर्ष २०७६/७७ सम्म आइपुग्दा विद्युत् चुहावट १५.२७ प्रतिशतमा खुम्चन पुग्यो । यसलाई विद्युत् चुहावट नियन्त्रणमा भएको उल्लेखनीय सुधारको रूपमा मान्न सकिन्छ ।

६. विद्युत् खपतमा सुधारः आर्थिक वर्ष २०७२/७३ मा नेपालमा वार्षिक विद्युत् खपत ३ अर्व ७१ करोड ५८ लाख युनिट थियो भने आर्थिक वर्ष २०७६/७७ मा कूल खपत ६ अर्व ५२ करोड ८७ लाख युनिट पुग्यो । समग्रमा चार वर्षको अवधिमा विद्युत् खपत ८० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँछ ।

७. विद्युत् पहुँचमा सुधारः आर्थिक वर्ष २०७२/७३ मा नेपाल विद्युत् प्राधिकरणको जम्मा ग्राहक सङ्ख्या २९ लाखको हाराहारीमा थियो भने आर्थिक वर्ष २०७६/७७ मा कूल ग्राहक सङ्ख्या बढेर ४८ लाख हाराहारीमा पुगेको छ । यो चार वर्षको अवधिमा थप २३ प्रतिशत जनसङ्ख्यामा राष्ट्रिय प्रसारणमार्फत बिजुली सेवा पुगेको तथ्याङ्कले देखाउँछ ।

८. वितरणमा सुधारः ग्राहकले गुणस्तरीय सेवा पाउने किसिमबाट विभिन्न सुधारहरू जस्तै ई-पेमेन्ट सिस्टम, मिटर तथा ट्रान्सफरमर वितरणमा सरलता, स्मार्ट मिटर, स्मार्ट ग्रिड जस्ता सुविधा सम्पन्न सेवा सञ्चालन गरेको साथै भूमिगत तार बिछ्याउने कार्यको प्रक्रिया थालनी गरेको अवस्था देखिन्छ ।

अब आउने कार्यकारीका अवसर र चुनौती :
अवसर :
१. देशलाई आर्थिक रूपमा सम्पन्न बनाउन ऊर्जामा पूर्णरुपमा आत्म निर्भर बनाउने ।
२. वैकल्पिक ऊर्जाको संवर्धन तथा प्रवर्धन गरी उत्पादनमा एक रुपता ल्याउने ।
३. देश भित्र तथा अन्तरदेशीय उच्च भोल्टेजका प्रसारण लाइनहरू निर्माण गर्ने ।
४. विद्युत् प्राधिकरणको हालको साखलाई जोगाई अझ चम्किलो बनाउने
५. स्मार्ट ग्रिड तथा स्मार्ट मिटर सिस्टमलाई प्रभावकारी रूपमा प्रयोगमा ल्याउने ।
६.भूमिगत तार बिछ्याउने कार्यलाई पूर्णता दिने ।
७. विद्युत् व्यापारको दायरा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने ।

चुनौती :
१. विद्युत् प्राधिकरणको हालको साखलाई जोगाई उज्यालो नेपालको समृद्ध लक्ष पुरा गर्ने ।
२. आन्तरिकरूपमा सेटिङ मिलाई कमिसन खाने प्रवृत्तिको पूर्णरूपमा अन्त्य गर्ने ।
३. ठुला जलविद्युत आयोजना भित्र हुने राजनीतिकरण र भ्रष्टाचारको अन्त्य गर्ने ।
४. विद्युत् प्राधिकरणको प्रशासनिक कार्यमा हुने राजनीतिक हस्तक्षेपको पूर्णरूपमा अन्त्य गरी स्वस्थ सबल र जिम्मेवार संस्थाको रूपमा स्थापित गर्ने ।

अन्तमा,
नेपाल विद्युत् प्राधिकरणको चार वर्ष अघि र अहिलेको अवस्थालाई हेर्दा आन्तरिक, संस्थागत, प्रशासनिक, व्यापारिक, वित्तीय, उत्पादन, वितरण लगायत सबै क्षेत्रमा उल्लेख्य सुधार भएको अवस्थामा हालका कार्यकारी अधिकृतलाई नै निरन्तरता दिनु उचित हुन सक्छ कथम् कदाचित निरन्तरता दिन नसकिएको खण्डमा समेत अब बन्ने नयाँ कार्यकारी अधिकृतलेसमेत हालका कार्यकारी अधिकृतले सञ्चालन गरेका प्रणालीहरूलाई निरन्तरता दिई तथा अझ मझवुद प्रणालीहरूको अवलम्बन गरी समृद्ध नेपाल सुखी नेपालीको लक्षलाई आत्मसात् गर्दै अगाडि बढ्न सक्नु नै राष्ट्रिय हित अनुकूल हुन सक्दछ ।

स्रोतः वेबसाइट/समाचार माध्यममा  काशित विभिन्न लेख तथा रचनाहरू

Tags :
प्रतिक्रिया दिनुहोस