कोरोना र स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोना र स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापन


११ भाद्र २०७७, बिहिबार


राज्यको पहिलो दायित्व नागरिकको जिउधनको सुरक्षा गर्नु हो । विश्वमा कोभिड १९ को महामारीपश्चात् राज्यको प्रभावकारी भूमिका सबैतिर अपेक्षा गरिएको छ । नागरिकलाई स्वास्थ्य सेवा दिन भौतिक संरचना उपयुक्त प्रविधि र दक्ष सिपयुक्त जनशक्ति चाहिन्छ । सङ्गठनको उद्देश्य पूर्ति गर्न दक्ष सिपयुक्त जनशक्ति प्राप्ति लागिको योजना, प्राप्ति, विकास, उपयोग र सङ्गठनमा जनशक्ति टिकाइ राख्ने समष्टिलाई जनशक्ति व्यवस्थापन भनिन्छ।

नेपालमा बि.स. २०४८ को स्वास्थ्य नीतिले स्वास्थ्य क्षेत्रमा निजीक्षेत्रलाई प्रवेशको वातावरण बनायो । आधारभूत प्राथमिक स्वास्थ्य सेवा जनताको घरदैलोमा पुर्‍याउन आवश्यक स्वास्थ्य संरचना जनशक्ति विकासमा जोड दिइयो। विक्रम संवत् २०४८ को स्वास्थ्य नीति कार्यान्वयन गर्दा नेपालले जनस्वास्थ्यको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भयो । स्वास्थ्य सेवाको सरकारी संरचनामा जनशक्तिको प्रक्षेपण, विकास, उपयोग, टिकाउ राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, लोक सेवा आयोग, संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्टाफ कलेज, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायत विभिन्न निकायको महत्त्वपूर्ण भूमिका रहेको छ ।

स्वास्थ्य सेवा ऐन २०५३ र स्वास्थ्य सेवा नियमावली २०५५ मा स्वास्थ्य सेवामा जनशक्तिको नियुक्तिदेखि अवकाशसम्मको व्यवस्था गरेको छ । स्वास्थ्य सेवा ऐन २०५३ को दफा १ देखि ९६ सम्ममा स्वास्थ्य सेवाका कर्मचारीहरूको नियुक्ति पदस्थपना बढुवा स्तरवृद्धि विभागीय सजाय, कार्यसम्पादन मूल्याङ्कन, बिदा लगायतका कर्मचारी प्रशासनसँग सम्बन्धित विषयमा व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रत्यक्ष अनुदानबाट तलब भत्ता ब्यहोरिने भएतापनि विभिन्न प्रतिष्ठानहरू आफ्नै बिनियमावली मार्फत जनशक्ति व्यवस्थापन गरिरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहत करिब पैतिसहजार भन्दा बढी कर्मचारी रहेको र हाल सङ्घ प्रदेश स्थानीय सरकारमा समायोजन भैसकेको अवस्था हो ।

महामारी र जनशक्ति व्यवस्थापन देशमा उदारीकरणसँगै सरकारी संरचनाको साथसाथै निजी क्षेत्रमा विभिन्न मेडिकल कलेज नर्सिङ कलेज पारामेडिक्स जनस्वास्थ्य विविध विधामा शिक्षण संस्थाहरू सञ्चालनमा आए। काठमान्डु उपत्यका लगायत देशका प्रमुख सहरहरूमा आधुनिक अस्पताल क्लिनिक पोलिक्लिनिक निदानकेन्द्रहरु खुले । नेपालमा आधारभूत जनस्वास्थ्यको सेवा नेपाल सरकारलेमात्र प्रदान गरिरहेको छ । उपचारात्मक सेवा नेपाल सरकार र निजी क्षेत्र दुवैले समानान्तर रूपमा प्रवाह गरिरहेका छन् ।

नेपालमा स्वास्थ्य क्षेत्रका जनशक्तिको अभिलेख सीप दक्षता कायम राख्न ऐन अनुसार स्थापना भएका परिषदहरु रहेका छन् । नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल लगायतका काउन्सिलहरूले सम्बन्धित विधाका जनशक्तिहरूको दर्ता अभिलेख परीक्षा सञ्चालन नवीकरण आचार संहिता निर्माण आचार संहिता पालना आदि कार्यहरू गरिरहेका छन् । नेपालका मेडिकल कलेजहरू सम्बन्धित विश्व विद्यालयबाट आबद्धता लिएर सञ्चालन भएका छन् भने केही स्वायत्त ऐनद्वारा सञ्चालन भएका छन् ।

निजी स्तरमा सञ्चालन भएका अस्पताल क्लिनिक पोलिक्लिनिकहरुलाई नियमन गर्न नियन्त्रण गर्न अहिलेसम्म छुट्टै ऐन बनेको छैन । निजी तथा गैरसरकारी स्वास्थ्य संस्था स्थापना नवीकरण तथा स्तरोन्नति निर्देशिकाको आधारमा सञ्चालन भइरहेका छन् । महामारी  विपदको समयमा सरकारी संरचनाले धान्न नसकेको अवस्थामा निजी संरचनाबाट सेवा प्रवाह कसरी गराउने यो जटिल चुनौतीको विषय भएको छ ।

महामारीले जटिलरूप लिँदा प्रभावित जनसङ्ख्या अनुसार दक्ष जनशक्तिको अभाव हुने देखिन्छ । खास गरी हालको कोभिड १९ को महामारीमा जटिल केशहरुको लागि चाहिने आइसियु, सिसियू व्यवस्थापक, क्रिटिकल कियर, विशेषज्ञ क्रिटिकल कियर, सम्बन्धी दक्ष नर्सिङ, पारामेडिक्स, पल्मनोलोजिस्ट, इन्टरनल मेडिसिन, एनेस्थेसिया, सुपर स्पेशेलिष्ट, स्पेशेलिष्ट, फर्मासिष्ट, फिजियोथेरापिष्ट, रेडियोग्राफी सम्बन्धी जनशक्ति, बायो मेडिकल इन्जिनियर लगायतको आइसियु/सिसियू सञ्चालन जनशक्तिको टिम व्यवस्थापन हरेक अस्पतालमा आवश्यक भएको छ । हालै संसदीय समितिले दश हजार आइसियु भेन्टिलेटर सहितको संरचना निर्माण गर्न दिइएको निर्देशन कार्यान्वयन गर्न त्यतिकै  चुनौती छ । संसदीय समितिको निर्देशन कार्यान्वयन गर्न आवश्यक यन्त्र उपकरण भौतिक संरचना दक्ष जनशक्ति र श्रोत व्यवस्थापन तत्काल जरुरी देखिन्छ ।

तत्कालको व्यवस्थापन जनशक्ति  महंगो पूजि भएकाले तत्काल तयार गर्न गाह्रो हुन्छ । स्वास्थ्य सेवाको जनशक्ति तयार गर्न धेरै समय लाग्दछ । महामारीले विकराल रूप लिन लागेको वर्तमान अवस्थामा महामारीबाट प्रभावित हुने जनसङ्ख्या त्यस मध्ये जटिलता हुने जनसङ्ख्याको प्रक्षेपण गरी मौजुदा जनशक्तिको विश्लेषण नपुग हुने जनशक्ति निजी मेडिकल कलेज विकास साझेदार अल्पकालीन तालिमबाट जनशक्ति तयार गरी तत्काल व्यवस्थापन गर्न जरुरी देखिन्छ ।

नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता भएको वर्तमान अवस्थामा भविष्यमा पनि यस किसिमका महामारी विपद अवश्य आउनेछन् । अबको दिनमा हरेक सरकारी निकाय निजी प्रतिष्ठान उद्योग कलकारखाना विकास निर्माण क्षेत्र राष्ट्रिय अन्तर्राष्ट्रिय सीमा नाकामा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य गर्ने सर्भिलेन्स गर्ने संरचना बनाउन जरुरी छ । अबका दिनमा प्रभावित हुने जनसङ्ख्या कति प्रभावित जनसङ्ख्यालाई स्वास्थ्य सेवा दिन चाहिने आधारभूत तहको जनशक्ति कति मध्यम तहको कति विशेषज्ञ तहको कति जनशक्ति विश्लेषण प्रक्षेपण आवश्यक छ। जनशक्तिको साथै भौतिक संरचना उपयुक्त प्रविधिको पनि पूर्वानुमान जरुरी भएको छ। नपुग जनशक्ति प्राप्त गर्न विश्व विद्यालयमा कोर्ष अध्ययन छात्रवृत्ति व्यवस्था अल्पकालीन दीर्घकालीन तालिमबाट जनशक्ति उत्पादन गर्ने कार्ययोजना बनाउन जरुरी छ।हालको महामारीलाई मध्यनजर गरी स्वास्थ्य सेवा प्रदान गर्ने निकायको पुनर्संरचना जरुरी भएको छ । स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिन अन्तर्राष्ट्रिय राष्ट्रिय सिमानाकामा आधुनिक स्वास्थ्य संरचना निर्माण गर्न आवश्यक छ ।

रोग लागेका बिरामीहरूलाई उपयुक्त उपचार दिएर स्वस्थ बनाउनु पहिलो दायित्व हो भने रोग लाग्न नदिनु दोस्रो दायित्व हो । कोभिड १९ भाइरसबाट लाग्ने रोग भएकोले भाइरस  बिरुद्ध विभिन्न खोपको माध्यमबाट विभिन्न रोगहरूलाई पराजय गरेको इतिहास छ । बिफर विश्वबाट उन्मूलन भैसकेको छ । पोलियो उन्मूलन हुने प्रक्रियामा छ । हाम्रो देश नेपालमा विगतमा दादुराबाट धेरै बालबालिकाको मृत्यु हुने गरेको जापनिज इन्सेफलाइटिसबाट धेरैको मृत्यु हुने गरेकोमा दादुरा रोग विरुद्ध, जापनिज इन्सेफलाइटिस रोग विरुद्ध खोप अभियान सञ्चालन पश्चात् हाल रोग नियन्त्रणमा आएको छ ।

कोभिड १९ विरुद्ध अहिले धेरै राष्ट्रहरूले खोप भ्याक्सिन निर्माण गरिरहेका छन् । हालसम्म नेपालको राष्ट्रिय खोप कार्यक्रममा युनिसेफ गाभिले सहयोग गर्दै आएको छ । नेपालले गाभि बाट होस छिमेकी राष्ट्रहरूबाट खोप प्राप्त गर्न द्विपक्षीय/बहुपक्षीय वार्ता संवाद गर्न आवश्यक छ । हालै गाभिएको कार्यकारी अधिकृत सेभ बर्कलीले खोप सहयोगको साथै सम्बन्धित देशको खोप भण्डारण क्षमता, खोप ढुवानी, खोप सेवा दिने जनशक्तिको विषयमा चासो राखेको पाइएको छ । जुनसुकै माध्यमबाट खोप ल्याए पनि खोप भण्डारणलाई चाहिने आवश्यक उपकरण खोप लगाउन व्यवस्थापन गर्न आवश्यक जनशक्ति खोप लगाउन आवश्यक पर्ने सिरिन्ज सेफ्टिबक्स ‘ड्राइ गुड्स’ खोप पश्चात् खोप लगाएका सामाग्रीको सुरक्षित विसर्जन खोप पश्चात् हुने अवाञ्छित घटनाको व्यवस्थापन आदि कार्यको लागिअहिले नै राष्ट्रिय कार्य योजना बनाउन आवश्यक छ । नेपालले विगतमा राष्ट्रिय पोलियो अभियान दादुरा अभियान चलाइ सकेको हुँदा हाल भएको र अब चाहिने जनशक्ति सामाग्रीको अन्तर विश्लेषण ग्याप एनालाइसिस गरी नपुग जनशक्ति सामाग्रीको योजना बनाएमा समयमै खोपद्वारा कोभिड १९ बाट बचाउन सकिन्छ ।

उपाध्याय खोप सुपरभाइजर अधिकृत हुन्

Tags :
प्रतिक्रिया दिनुहोस