बाढीले झोलुङ्गे पुल बगाएपछि आवत जावतमा समस्या « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाढीले झोलुङ्गे पुल बगाएपछि आवत जावतमा समस्या


८ भाद्र २०७७, सोमबार


म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न चार ठाउँमा झोलुङ्गे पुल बगाएको छ । बाढीले कटान गरेर पुल भत्काउने र बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवतजावतमा समस्या भएको दुवाडीका याम घर्तिमिरेले जानकारी दिए । ‘खाद्यान्न ढुवानी, बिरामी स्वास्थ्य संस्थामा जान र काम विशेषले छिमेकी गाउँमा जान पाइएको छैन,’ उनले भने ‘खोलामा जङ्घार तरेर अथवा घुमाउरो बाटो हिँड्नुपर्ने भएकाले जनजीवन कष्टकर भएको छ ।’

दुवाडी र ढाड जोड्ने बन्दीघाटको ७८ मिटर र खरिबोटस्थित ११८ मिटर लामो झोलुङ्गे पुल बाढीले बगाएको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले जानकारी दिए । ‘एकरातेको ६० मिटर लामो भाकर झोलुङ्गेपुल र छहरीस्थित ७८ मिटर लामो झोलुङ्गे पुलको एकातर्फको भाग नदीमा खसेको छ,’ उनले भने ‘दुवाडी, घ्याँसीखर्क, पात्लेखर्क, चौरखानी, खरिबोटलगायत बस्तीका २०० भन्दा बढी घरधुरीलाई आवतजावतमा समस्या भएको छ ।’

विसं२०७७ को साउन महिनायता विभिन्न समयमा रघुगङ्गा नदीमा आएको बाढीले पुल बगाएको हो । बगाएको सबै पुल रघुगङ्गा नदी माथिका हुन् । सबै पुलको दायाँतर्फको भागमा कटान गरेर बगाएको छ । कुइनेमङ्गले म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गाउँ हो ।

यसैगरी पहिरोले कुइनेमङ्गलेका विभिन्न बस्तीमा पाँच घर पुरिएका र २१ घर विस्थापित भएका छन् । दुवाडीमा दुई वटा र पात्लेखर्कमा एउटा घर पुरिएका तथा छहरीमा दुई वटा घर रघुगङ्गा नदीले कटान गरेर बगाएको वडाध्यक्ष छन्त्यालले बताए ।

चौरखानीमा एउटा सामुदायिक भवन, १० घर र दुवाडीमा १० घरमा क्षति पुगेको छ । पहिरोका कारण जमिन धाँजा फाटेर चिरा पर्न थालेपछि स्थानीयले घर छाडेका छन् । चौरखानीका चन्द्रबहादुर छन्त्याल, दलबहादुर विक, नरप्रसाद छन्त्याल, थमबहादुर छन्त्याल, उत्तम छन्त्याल, रेमान छन्त्याल, रामप्रसाद छन्त्याल, गमबहादुर छन्त्याल, हर्क छन्त्याल र नरमान छन्त्यालको घरमा क्षति पुगेर विस्थापित भएका छन् ।

रु १४ लाख खर्चेर दुई वर्षअघि चौरखानीमा निर्माण गरिएको सामुदायिक भवनसमेत पहिरोका कारण चिरा परेर भत्किएको छ । बाउन्न घर भएको चौरखानीमा हाल ३७ परिवारको बसोबास छ । पहिरो नियन्त्रणको प्रयास सफल नभएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चौरखानीका बासिन्दालाई अन्यत्र स्थानान्तरण गराउनुपर्ने बस्तीको सूचीमा राखेको छ ।

जग्गा पहिचान हुन नसक्दा बस्ती स्थानान्तरणको योजना कार्यान्वयन हुन सकेको छैन । भूगर्भविद्को टोलीले अध्ययन गरेर बस्ती सार्न सुझाव दिएका थिए । यसैगरी घ्याँसीखर्क हुँदै चौरखानी जोड्ने पदमार्गसमेत पहिरोले भत्काएको छ । रघुगङ्गा गाउँपालिकाले गत आर्थिक वर्षमा रु १३ लाख खर्चेर ढुङ्गाको सिँढी चिनेर चौरखानी पुग्ने पदमार्ग बनाएको थियो ।

प्रवासीद्वारा पहिरो पीडितलाई सहयोग
धवलागिरि गाउँपालिकाबाट अमेरिका पुगेकाहरुले जन्मथलोका पहिरो पीडितका लागि रु १३ लाख ५० हजारभन्दा बढी सहयोग गरेका छन् । धवलागिरि गाउँपालिका घर भई रोजगारी, अध्ययन र पेशा, व्यवसायको सिलसिलामा अमेरिका पुगेकाहरुले पहिरो पीडितका लागि गाउँपालिकाले सञ्चालन गरेको अभियानमा रु। १३ लाख ६५ हजार पठाएका हुन् ।

मनबहादुर सिंकिजा, सुभाष भण्डारी र होमबहादुर पुनको अगुवाइमा अमेरिकामा सङ्कलन भएको सो रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको जनाइएको छ । बाध्यताले परदेशमा रहेपछि आफ्नो गाउँठाउँमा भएको विपद्बाट पीडितहरुलाई राहतका लागि सहयोग जुटाएर पठाएको सिंकिजाले बताए । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालको संयोजकत्वमा सञ्चालन भएको आर्थिक सङ्कलन अभियानमार्फत हालसम्म करिब रु २५ लाख जुटेको छ ।

गत असार २५ र २६ गतेको पहिरोबाट धवलागिरि गाउँपालिकाको मराङमा १९ जनाको मृत्यु र दुई जना बेपत्ता भएका थिए । मराङ, धरापानी, ताकम र काफलडाँडाका बासिन्दा पहिरोबाट प्रभावित भएका छन् । पहिरोबाट घरबास गुमाएकाहरुको पुनःस्थापनाका लागि आर्थिक सहयोग सङ्कलनका साथै थप जोखिमको अध्ययन र पुनःस्थापनाका लागि सुरक्षित ठाउँको खोजी भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी मालिका गाउँपालिका–७ बिमका पहिरो पीडितका लागि आइतबार रु दुई लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ । हेमराज शर्माको पहलमा विश्वका विभिन्न ठाउँमा पुगेका युवाहरु आबद्ध युवा आवाज म्याग्दीमार्फत रु एक लाख ५० हजार र नर्वेमा रहेका अर्मनका मदन कँडेल, राजन शाही र भगवान शाहीको पहलमा रुएक लाख सहयोग प्राप्त भएको हो ।

दुई वटै सहयोगी संस्था तथा व्यक्तिहरुले सङ्कलन गरेर पठाएको रकम पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रेमलाल कँडेलले आइतबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको उपस्थितिमा बिमका वडाध्यक्ष रेशम जुग्जाली र वडा सदस्य बुद्धिबहादुर जुग्जालीलाई हस्तान्तरण गरे ।

प्राप्त सहयोग रकम असार २६ गतेको पहिरोका कारण घरबास गुमाएकाहरुको पुनःस्थापनामा परिचालन गरिने वडाध्यक्ष जुग्जालीले बताए। बिमको तल्लोगाउँ, नौरु, दुले र बाइन्दफाँटमा गएको पहिरोले आठ जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् ।

पहिरोले बगाएर, भत्काएर र पुरिएर २६ घरमा पूर्णरूपमा क्षति पुगेको छ । पचास देखि ६० घर पहिरोको उच्च जोखिममा भएकाले त्यहाँ बस्न नमिल्ने अवस्था छ । पीडितहरुलाई बेनी, पोखरा, काठमाडौँलगायत देशका विभिन्न ठाउँ र विदेशमा भएका घरका धनीसँगको सहमतिमा खाली घर, आफन्तकहाँ र पीडितकै अन्यत्र सुरक्षित ठाउँमा भएका अस्थाईरूपमा व्यवस्थापन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस