चियाको अवैध निकासी : देख्दैन प्रशासन, सांसद गर्छन् गुनासो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चियाको अवैध निकासी : देख्दैन प्रशासन, सांसद गर्छन् गुनासो


६ भाद्र २०७७, शनिबार


इलाम । “चियाको बारेमा त बोल्न पनि मन लाग्दैन । गाडीका गाडी भारततर्फ चिया जान्छ कोही देख्दैन”, चिया उद्योगी तथा प्रदेश नं १ का सांसद काजीमान कागतेले फोनमार्फत यस्तो प्रतिक्रिया दिए। कागतेले शुरुमै भने, ‘यो चिया कसरी जाँदैछ ? प्रशासनले के हेरेर बसेको छ रु स्थानीय तह किन बोल्दैन’, कागतेले आफ्ना कुरा राखे र सम्पर्क विच्छेद गरे । यो कागतेको यो शैलीले चिया व्यापारमा देखिएको समस्या झल्काउँछ ।

आफै प्रदेश सांसद भएपनि अवैध तवरले चिया गइरहेको बारेमा भने कागतेले स्थानीय तह र जिल्ला प्रशासनलाई दोष दिँदै थिए । कागतेले मात्र होइन सूर्योदय नगरपालिकाका चिया उद्योगीले चियाका सन्दर्भमा राख्ने पहिलो समस्या बनेको छ ‘अवैध निकासी’ । चियाको सन्दर्भमा होस् वा अन्य कुनै विषय । पछिल्लो समय अवैध रूपमा भारततर्फ हरियो चियापत्ती निकासी हुँदा नगरभित्रका उद्योग सङ्कटमा पर्न थालेको उद्योगी गुनासो छ । पछिल्लो समय चिया किसानले रातारात विभिन्न माध्यमबाट भारततर्फ चिया गइरहेको उद्योगी बताउँछन् । भारतीय सीमामा पर्ने सूर्योदय नगरपालिकाबाट खुला सीमा रहेको दार्जिलिङ सहज रूपमा जान सकिन्छ । त्यही बाटोबाट पछिल्लो समय हरियो चियापत्ती निकासी भइरहेको उद्योगीको दाबी छ ।

चियाको विषयलाई लिएर यहाँ सधैँ उद्योगी, किसान र श्रमिकबीच ‘शीतयुद्ध’ चलिरहन्छ । केही महीनाअघि चियाको लागत मूल्यसमेत नउठ्ने गरी उद्योगीले हरियो चियाको मूल्य दिएको भन्दै किसान आन्दोलनमै उत्रिएका थिए । तर, अहिले किसानले आन्दोलन गरेका छैनन् । कतिले चियाको उचित मूल्य पाए भने कतिले पाएका छैनन् । स्थानीय स्तरका चिया उद्योगीले चियाको उचित मूल्य नदिँदा किसानले हरियो चियापत्ती भारत निकासी गर्न थालेको अन्य चिया सरोकारवालाको अनुमान छ ।

थोरै परिमाणमा मात्र नभइ गाडीका गाडी हरियो चियापत्ती भारत निकासी हुने गरेको बताउँछन् चिया उद्योगी उदय चापागाईं । ‘अहिले गाडीका गाडी, घोडाका घोडा चिया अवैध तवरबाट गइरहेको छ’, चापागाईं भन्छन्, ‘छब्बीसेलगायत नाकाबाट ठूलो परिमाणमा चिया गइरहेको छ, यसमा कसैको चासो छैन ।’ इलामबाट दार्जलिङतर्फको छब्बिसे, खोला गोदाम, नाखापानी र हिले भञ्ज्याङहुँदै अवैध रूपमा चियाको हरियो पत्ती निकासी हुने गरेको उद्योगीको भनाइ छ ।

स्थानीयस्तरमा चियाको उचित मूल्य नपाएपछि उल्लेखिय मूल्य पाउनकै लागि किसानले अवैध काम गरेको हुन सक्ने कतिपयको बुझाइ छ । सूर्योदय नगरभित्रका उद्योगले रु ३५ प्रति किलो चिया दिँदा सीमापारी रु ५६÷५७ सम्म हरियो चियापत्तीको मूल्य हुन्छ । त्यसैकारण पनि चिया सीमापारी गएको हुन सक्ने उद्योगीको बताउँछन् ।

यसरी अवैध रूपमा चिया जानु नगरको कार्यविधि विपरीत रहेको बताउनुहुन्छ सूर्योदय नगरपालिकाका चिया सचिवालय संयोजक देवेन्द्र शर्मा । ‘हामीले बनाएको चिया मापदण्डमा पहाडको चिया तराइ वा भारततर्फ र तराइको चिया पहाड ल्याउन नपाउने मापदण्ड छ तर यसरी भारततर्फ लैजानु कानून विपरीत हो’, शर्मा बताउँछन् । नगरको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ उत्पादन मापदण्ड(३) मा पहाडी भूगोलको चियामा हुने मौलिक गुणस्तरमा कायम गरी चिया उत्पादन प्रशोधन गर्न गराउनु पर्ने र हरियो चियापत्ती भारत तथा तराईतर्फ र तराईबाट पहाडतर्फ ल्याएर प्रशोधन गर्न नपाइने लेखिएको छ ।

यस विषयमा आफूहरूको ध्यानाकर्षण भएको र अवैध निकासी रोक्न पहल शुरु गरेको सचिवालय संयोजक शर्माको भनाइ छ । तर, शर्माले उद्योगीले नगरको मापदण्डमा नटेको कुरा उल्लेख गर्छन् । तीन वर्ष अघि नै ऐन बनेर कार्यविधि बन्दासमेत अहिले ‘विषमपरिस्थिति नै भन्दै’ नगरको मापदण्डअनुसार उद्योगीले किसानलाई हरियो चियापत्तीको मूल्य नदिएको शर्मा जिकिर गर्छन् । यता, चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालसमेत आफूले चिया अवैध रूपमा चिया भारत जाने गरेको बारे थाहा पाएको उल्लेख गर्छन् । नेपालको चिया अवैध तवरले भारततर्फ जानु दुःखद् रहेको बताउँदै खनालले यस बारेमा स्थानीय तहलाई जानकारी गराएको बताउँछन् । उनले भने, ‘हामीले चिया भारततर्फ जाँदै छ भनेर भन्ने हो । भनिसक्यौ ।’

के भन्छ प्रशासन ?
कोरोनाको महामारीका बेला सबै नाका चुस्तदुरुस्त बनाएको जिल्ला प्रशासन कार्यालयको दाबी छ । सीमामा सुरक्षामा रहेका सशस्त्र प्रहरीले त केही दिनअघि ‘चोर बाटोमा समेत गस्ती भइरहेको’ बताएको थियो । तर, सीमाबाटै भारत जाने चिया चाहिँ पत्तो नपाउनु अचम्म लाग्दो छ ।

यति हुँदाहुँदै पनि अहिले पनि प्रशासनको निगरानी सबै तिर चुस्त रहेको बताउनुहुन्छ जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने । न्यौपानेका अनुसार चियाको विषयमा केही दिनअघि उद्योगी, किसान, स्थानीय तह (सूनपा) का प्रतिनिधिसहित बैठक नै बसेको थियो । बैठकमा उद्योगीले अवैधतवरबाट चिया भारत निकासी भएको बारे प्रशासनलाई जानकारी गराएका थिए । पछिल्लो समय भने चियाका विषय नउठेकाले चिया जान छाडेको दाबी प्रशासन कार्यालयको छ ।

कति जान्छ त भारततर्फ ‘अवैध चिया’
अवैध तवरले हरियो चियापत्ती तस्करी भइरहेपनि कति चिया भारततर्फ जान्छ भन्ने एकित तथ्याङ्क कोहीसँग पनि छैन । अवैध रूपमा चिया भारतर्फ जानु नौलो कुरा नभएको दाबी छ चिया सरोकारवालाको । जिल्ला प्रशासन कार्यालयको समेत दाबी पनि अरूकै जस्तो छ । अवैध तवरले निकासी चिया हुने प्रशासनले भन्दा पनि रोकिन सक्दैन भने कुन बाटोबाट जान्छ पनि खुल्दैन । तर, अहिले दैनिक रूपमा १५ देखि २० हजार किलो सम्म चिया भारततर्फ जाने गरेको एक उद्योगीको भनाइ छ ।

नाम नखुलाउने शर्तमा बताएका ती उद्योगीका अनुसार गएका वर्षमा भन्दा दोब्बरका दरले भारततर्फ चिया निकासी भइरहेको छ । इलामकै विभिन्न नाका भएर चिया भारत जाने गरेको छ । पछिल्लो ताका भारतीय टी बोर्डले नेपाली चियाको गुणस्तरमाथि नै प्रश्न उठाउँदै पत्र समेत पठाएको छ । यति हुँदाहुँदै पनि अवैध तवरले नै चिया भारत जाँदा नेपाली चियाको शाख अझै घट्ने देखिन्छ । अवैध धन्दा यसरी नै बढ्दै गए सूनपाका चिया उद्योग धरासायी हुने सूर्योदय टी बोर्डका सचिव गोपाल कट्टेलको भनाइ छ । सूर्योदय नगरपालिकामा मात्रै ७० वटाभन्दा बढी चिया उद्योग छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस