विराटनगरसहित मोरङका ४ स्थानीय तहमा ५ दिन निषेधाज्ञा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विराटनगरसहित मोरङका ४ स्थानीय तहमा ५ दिन निषेधाज्ञा


५ भाद्र २०७७, शुक्रबार


विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित मोरङका चार स्थानीय तहमा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार भदौ १० गते राति १२ः०० बजेसम्मका लागि जारी भएको यो निषेधज्ञा विराटनगर महानगरपालिकाको १९ वटै वडा, बुढीगङ्गा गाउँपालिको १,२,३ र ४, कटहरी गाउँपालिकाको १,२,३,४ र ५ तथा रङ्गेली नगरपालिकाको ४,५,६ र ७ वडामा लागू हुनेछ ।

आज जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सर्वपक्षीय बैठकले जनभावना अनुसार नै निषेधज्ञा लागू गरेको सहायक प्रमुख जिल्ला अधिकारी धुव्र खड्काले जानकारी दिए । उनले विगत केही दिनदेखि विराटनगर महानगरपालिका र आसपासका स्थानीय तहमा कोरोना सङ्क्रमितको सङ्ख्या बढदै गएको र यसले समुदाय स्तरमा महामारी फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर यो निषेधज्ञा लागू गरेको जानकारी दिए ।

निषेधज्ञा अवधिभर सरकारी कार्यालयमा सेवाग्राहीलाई सेवा प्राप्त नहुने र कर्मचारीले कार्यालयको आन्तरिक व्यवस्थापनमा मात्र सीमित रहने सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताए । निषेधज्ञामा अतिआवश्यक काममा खटिने सवारी साधन, कर्मचारी, सञ्चारकर्मीले निर्वाध रुपमा काम गर्न पाउने निर्णय भएको बताइएको छ ।

विराटनगर महानगरपालिकामा साउन १७ गतेदेखि बन्दाबन्दी शुरु भएको आज अन्तिम दिन निषेधज्ञा जारी भएको र केही दिन पहिले नै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर क्षेत्रमा बढ्दो कोरोना सङ्क्रमण नियन्त्रणका लागि निषेधज्ञा लगाउन प्रदेश सरकारसँग माग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस