निषेधाज्ञाको बिच कोभिड-१९ को जोखिम न्यूनीकरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निषेधाज्ञाको बिच कोभिड-१९ को जोखिम न्यूनीकरण


५ भाद्र २०७७, शुक्रबार


कोभिड १९ को जोखिममा नपर्नका लागि व्यक्तिगत तहमा र सामाजिक तहमा समेत सतर्कता आवश्यक पर्दछ । त्यस्तै जुनसुकै तहको सरकारले स्वास्थ्य प्रोटोकल पालनालाई ध्यान दिँदै परीक्षणको दायरा र लक्षण देखिएमा त्यस्तो व्यक्तिलाई अलग्गै राखेर शरीरलाई बिग्रन नदिने उपायहरू अपनाउनुपर्दछ । यस अघि पनि लामो समय लकडाउन भयो, सरकारको तर्फबाट पनि खर्च गर्ने क्रम जारी छ । तथापि नेपालको सन्दर्भमा नागरिकको तर्फबाट अपनाउनुपर्ने होसियारी वा सतर्कता एवं सरकारको तर्फबाट हुनुपर्ने परीक्षण एवं व्यक्तिको स्थितिअनुसार अलग्गै व्यवस्थापनको सम्बन्धमा कमजोरी देखिएको हुँदा २०७७ भाद्र ३ देखि ७ दिनका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी छ भने बिमारीको सङ्ख्या बढी भएका अन्य ४० भन्दा बढी जिल्लाहरूमा समेत निषेधाज्ञा लगाइएको छ । स्थिति नियन्त्रणमा नआएसम्म निषेधाज्ञाको कुनै न कुनै रूपले निरन्तरता पाउने अन्दाज लगाउन गाह्रो छैन ।

भनिएको छ कि अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कनु र कोभिड १९ को जोखिम नियन्त्रणमा सहयोग पुर्‍याउनु । यसै सन्दर्भमा कोभिड १९ बाट बच्नका लागि केही प्राथमिक विषयहरू र कोरोनारहित तीज मनाउने सम्बन्धी एउटा कवितासहित यस लेखमा छोटो चर्चा गरिएको छ ।

फैलँदो कोभिड त्रास र प्रभावितहरूको सङ्ख्याबिच अपनाइएको निषेधाज्ञाको परिस्थितिमा के गर्ने र के नगर्ने भन्ने केही कामका सम्बन्धमा विवेचना गरौँ :

के गर्ने वा के गर्न जोड दिने
• बैङ्क तथा बजारमा सम्भव भएसम्म विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने
• व्यक्तिगत तहमा स्यानिटाइजर र मास्कको प्रयोग नियमितरुपमा गर्ने
• स्वास्थ्य वा अन्य कारणले घर बाहिर टाढा जानुपर्दा आफूसँग पहिचान खुल्ने कागजसहित नजिकको प्रहरी र वडा कार्यालयलाई जानकारी गराउने
• यथासम्भव “work from home” अपनाउने । अनलाइन कार्य पद्धतिलाई संस्थागत गर्ने यो अवसर पनि हुनसक्छ ।
• श्वास सम्बन्धी स्वास्थ्य सजगता अपनाउनुपर्दछ । एक्कासि खोकी लागेमा वा हाछ्यु आएमा रुमाल वा टिस्यु पेपर प्रयोग गर्नुपर्दछ, यो पनि सम्भव नभए पाखुरा वा हातले छेक्नुपर्दछ ।
• सामान्य लक्षण जस्तै : खोकी, हलुका ज्वरो, टाउको दुख्ने भयो भने पनि घरपरिवारमा अलग्ग बस्ने र थप सतर्कता अपनाउने गर्नुपर्दछ ।
• रोगसँग लड्ने क्षमता बढाउनका लागि सन्तुलित भोजन गर्ने र कुनै न कुनै किसिमको शारीरिक अभ्यास गर्नुपर्दछ ।

के नगर्ने वा गर्न नदिने
• भाइरस सङ्क्रमण हुन नदिन कुनै काम गरेपछि वा बाहिर गएर आउनासाथ सावुनपानीले मज्जाले हात धुने । कुनै सामान प्रयोग गरेपछि वा कुनै चिज छोएपछि स्यानिटाइजर प्रयोग गर्ने।
• अरूसँग नजिक हुँदा कमसेकम १ मिटर (तीन फिट) को दूरीमा बस्ने । खोक्दा, हाछ्यु गर्दा वा बोल्दाखेरि हुनसक्ने सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि यो दूरीको सजगता उपयोगी हुन्छ ।
• भिडभाडमा नजाने, गयो भने सामाजिक दूरी कायम गर्न सम्भव हुँदैन ।
• आँखा, नाक र मुख नछुने । यदि छोएमा हातमा भएको भाइरस सर्ने डर हुन्छ ।
• सेवा प्रदान गर्ने स्थानमा सामाजिक दूरी कायम गर्ने र गर्न लगाउने ।
• पाहुना हुन जाने वा पाहुनालाई बोलाउने ।
• जात्रा महोत्सव पार्टी भोजको आयोजना पनि नगर्ने र सहभागिता पनि नजनाउने ।
• बैठक वा कार्यशालाको आयोजना नगर्ने र गरिहालेपनि विद्युतीय माध्यम जस्तै गुगल मिट वा जुमको प्रयोग गर्ने ।
• टाढा टाढा काममा नजाने तर घरबाट सम्भव भएको काम गर्ने ।
• स्कुल वा सार्वजनिक स्थानमा नजाने ।
• सार्वजनिक यातायातको प्रयोग सकेसम्म नगर्ने ।
• खाद्यान्न वा अन्य चिज वा औषधी लिन बजार वा अस्पताल नजाने । यी चिजहरू अनलाइनबाटै अर्डर गरी होम डेलिभरी सेवा प्रयोग गर्ने ।
• घरमा आगन्तुकहरू नबोलाउने र आफू पनि अरूको घरमा नजाने (घरपरिवारकै सदस्यको कुनै केयरका लागि बाहेक)
• शारीरिक अभ्यास वा वाकिङको नाममा सार्वजनिक जिम वा सार्वजनिक स्थलमा नजाने तर घरमै बसेर गर्न सम्भव हुने अभ्यासहरू र योग अभ्यास गर्ने ।

घरमा वा अन्य स्थानमा एक्लै बसी (सोसियल आइसोलेसनमा) कोभिड १९ सँग लड्नुपर्ने अवस्थाहरु
• कोभिड १९ को कुनै लक्षण मिल्न गएमा । जस्तै : बढी तापक्रमसहितको ज्वरो आएमा, लगातार खोकी लागेमा, खानाको स्वाद तथा गन्धमा फरकपन आएमा आदि ।
• स्वाब परीक्षणको प्रतिवेदनबाट कोभिड १९ पोजेटिभ आएमा
• कोभिड सङ्क्रमित वा लक्षण भएकासँग सँगै बसेको पुष्टि भएमा

निसंक्रमण विधि
घरको परिवार वा कार्यालयको कुनै सदस्यलाई कोभिड सङ्क्रमण पुष्टि भयो भने उक्त व्यक्तिले प्रयोग गरेको कोठा निसंक्रमण गर्नुपर्दछ । बाह्य व्यक्तिले समेत प्रयोग गर्ने स्थानलाई पनि दिनहुँ निसंक्रमण गरिनुपर्दछ । सवारी साधनको ह्यान्डल तथा ढोकाको ह्याण्डलपनि निसंक्रमण गर्नु राम्रो मानिन्छ । भुँइ वा सतह निसंक्रमण गर्नका लागि भुईँ वा सतह फोहर छ भने पहिला साबुन वा सफा पानीले भुईँलाई राम्ररी सफा गर्नुपर्दछ। बजारमा पाइने घरेलु निःसंक्रमणमा प्रयोग हुने क्लोरिनयुक्त रसायन वा घोलकले ब्याक्टेरिया र भाइरसलाई मार्दछ। के कुरामा ख्याल गर्नुपर्दछ भने यस्ता रसायन वा घोलकहरु प्रयोग गर्दा सधैँ पन्जा लगाउनुपर्छ। खाली हातले कहिले पनि प्रयोग गर्नुहुँदैन।

कोरोना भाइरस र थप जोखिम रहने उमेर समूह
सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले सङ्क्रमण गर्न सक्दछ। तर ज्येष्ठ नागरिक र पहिल्यै देखिनै दम, मधुमेह, मुटुको रोग जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई भने यो भाइरसले गम्भीर बिरामी बनाउने जोखिम बढी हुन्छ। विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसार यस भाइरसबाट बच्नको लागि बेलाबेलामा साबुन पानीले मिचिमिची हात धुने वा अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गर्ने, श्वासप्रश्वाससम्बन्धी सरसफाइमा विशेष ध्यान दिने जस्तै खोक्दा, हाँच्छ्युँ गर्दा नाक मुख छोप्ने जस्ता सुन्दा साधारण लाग्ने कुरामा ध्यान दिनु अति नै आवश्यक छ ।

उपचार विधिको कुरा
हालसम्म कोरोना भाइरसबाट बच्न वा उपचारको लागि कुनै औषधि पत्ता लागिसकेको छैन। तर सङ्क्रमितलाई देखिएको लक्षण अनुसारको औषधि उपचार गरी स्याहार गर्नुपर्छ। यस भाइरसबाट सङ्क्रमित गम्भीर बिरामीलाई अस्पतालमा भर्ना गरी लक्षण अनुसारका विशेष उपचार तथा स्याहार गरिन्छ। यसको उपचारको बारेमा धेरै देशहरूमा अध्ययन अनुसन्धान भइरहेको छ भने विश्व स्वास्थ्य संगठनले साझेदारहरूसँगको समन्वयमा यस विषयमा अध्ययन र अनुसन्धानलाई तीव्र रूपले अघि बढाइरहेको छ। कुनै देशमा पत्ता लागेको खोप वा औषधी प्रयोगमा आउन केही वर्ष नै लाग्ने हुँदा हाम्रो हकमा सजग हुने र रोगबाट जोगिनु नै उत्तम विकल्प हो ।

अन्त्यमा,
कोरोना कहरबिचको तीज: होसियार बनौँ प्लिज
लकडाउनपछि अहिले निषेधाज्ञाको भर
कोरोनाको कहरसँगको तीजको दर ।
सरकारको कमजोर तयारी जोखिमको मूल
त्यसमाथि नागरिकको लापरबाही महाभूल ।
विश्वभरि त्रास छ, भइसक्यो सातलाखजनको क्षति
अर्थतन्त्र ठप्प अनि यसले विज्ञानलाई दियो चुनौती ।
न छ खोप न औषधी नै हालसम्म यो कोरोनाको
सतर्क, सुसूचित बनौँ अनि सुरक्षा गरौँ मानव सभ्यताको ।
भेला अनि मेला त्यस्तै हाटबजारमा नजाऊँ प्लिज
घरपरिवारमै मनाऊँ साथी यो सालको चाड तीज ।
हरितालिका तीज २०७७ को शुभकामना !

Tags :
प्रतिक्रिया दिनुहोस