उपत्यकामा पानीको उत्पादन बढेसँगै वितरण वृद्धि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपत्यकामा पानीको उत्पादन बढेसँगै वितरण वृद्धि


४ भाद्र २०७७, बिहिबार


काठमाडौं । काठमाडौँ उपत्यकामा पानीको उत्पादन बढेसँगै यसको वितरण बढाइएको छ ।

सुख्खा मौसममा उपत्यकामा दैनिक नौ करोड लिटर पानी उत्पादन हुन्छ । त्यतिबेला नौ दिनकोे अन्तरालमा पानी वितरण हुने गरेकामा अहिले तीनदेखि चार दिनको अन्तरालमा पानी वितरण भइरहेको छ । त्यस्तै सार्वजनिक ट्याङ्की र धारामा पनि उपलब्ध भएअनुसार पानी बितरण गरिँदै आइएको छ ।

विगतका वर्षहरुमा जस्तै सुख्खा मौसमभन्दा वर्षायाममा बढी परिमाणमा पानी उत्पादन हुने र उपत्यकाका अरु स्रोतबाट पनि पानी थप भएकाले पानीको उत्पादन बढेको बताइएको छ । यो वर्ष केही पुरानो ट्युववेलको मर्मत र केही नयाँ निर्माण गर्दा दैनिक दुई करोड लिटर पानी थप भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक मिलन शाक्यले बताए । ‘अहिले दैनिक १७ करोड लिटरसम्म पानी उत्पादन भइरहेको छ’, उनले भने,’ वर्षाका कारणले पनि भदौसम्म पानी उत्पादन बढी हुन्छ ।’

लिमिटेडले उपत्यकाका विभिन्न स्रोतका पानी सङ्कलन गरेर वितरण गर्दै आएको छ । उपत्यकाका स्रोतबाट मात्रै पानी पर्याप्त नहुँदा उपत्यकामा सधैँ पानीको हाहाकार भइरहेको छ । दुई दशकभन्दा लामो समयदेखि निर्माणाधीन मेलम्ची खानेपानी आयोजनालाई काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका उपायका रुपमा हेरिएको थियो ।

मेलम्ची खानेपानी आयोजनाले सुरुङ परीक्षण गर्दा भएको दुर्घटनापछि मेलम्चीको पानी आउन अझै ढिलाइ हुने देखिएको छ । लिमिटेडले विभिन्न स्थानमा ट्युबवेल खन्ने, पुरानाको मर्मत र उपत्यका नजिकै स्रोतको समेत पहिचान गरिरहेको छ । उपत्यकामा दैनिक पानीको माग ४० करोड रहेको छ । उपभोक्ताले लिमिटेडले पूर्ति गर्न नसकेको पानी आकाशे पानी सङ्कलन गरेर र ट्याङ्करमार्फत खरिद गरेर प्रयोग गर्दै आएका छन् । शहरी क्षेत्रमा एउटा घरमा धेरै परिवारको बसोबास भएपनि उपत्यकामा कोभिड-१९ का कारण धेरै उपत्यका बाहिर गएकाले पानीको समस्या कम भएको उपत्यकाबासी बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस