होम आइसोलेसनमा बस्ने संक्रमितलाई टोखा नगरपालिकले दैनिक ३५० रुपैयाँ दिने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

होम आइसोलेसनमा बस्ने संक्रमितलाई टोखा नगरपालिकले दैनिक ३५० रुपैयाँ दिने


४ भाद्र २०७७, बिहिबार


काठमाडौं । टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई प्रतिदिन ३ सय ५० रुपैयाँ उपलब्ध गराउने भएको छ । नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले संक्रमितलाई सन्तुलित भोजनका लागि उक्त रकम दिने निर्णय गरेको हो ।

अस्पतालमा बस्नेलाई अस्पतालले नै सबै कुरा व्यवस्था गरे पनि होम आइसोलेसनमा बस्नेलाई कुनै निकायले सहुलियत नदिने भएकाले नगरपालिकाले सन्तुलित भोजनका लागि उक्त रकम उपलब्ध गराउन लागेको मेयर प्रकाश अधिकारीले बताए ।

‘स्वास्थ्य शाखाले प्रमाणित गरिसकेपछि होम आइसोलेसनमा बसेकाहरूलाई एकमुष्ट रकम उपलब्ध गराउनेछौं,’ उनले भने । यसका लागि स्वास्थ्य शाखाको सिफारिस चाहिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र आइसोलेसन सेन्टर निर्माण तथा व्यवस्थापनका लागि उपप्रमुख ज्ञानमाया डंगोलको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन गरेको उनले बताए ।

कोरोना संक्रमित बढेमा उनीहरुलाई राख्नका लागि वडा नं १ को सामुदायिक भवन, ६ को सामुदायिक अध्ययन केन्द्र, ९ को पिस बैंक्वेट, ११ को सामुदायिक भवन, ९ को नेवाः पुछः सामुदायिक भवन, वडा नं ७ को राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवन प्रयोगमा ल्याउने बारेमा गठित समितिले अध्ययन गर्ने उनले बताए ।

नगरपालिकाले अहिलेलाई टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ४० देखि ६० शय्याको आइसोलेसन विस्तार गरिने जनाएको छ । नगरपालिकामा अहिलेसम्म कोरोनाका ८२ संक्रमित फेला परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस