नेपालको सार्वजनिक शिक्षाका विसङ्गति « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपालको सार्वजनिक शिक्षाका विसङ्गति


३ भाद्र २०७७, बुधबार


शिक्षाको विकास सामाजिक विकासको पहिलो र अनिवार्य सर्त हो। जबसम्म शैक्षिक क्षेत्रको विकास गर्न सकिँदैन तबसम्म विकास केवल दिवास्वप्न मात्रै रहन्छ। विकासको एक मात्र उद्देश्य सामाजिक कुरीतिहरूको अन्त्य गरी जनजीविका सहज अनि सरल बनाउनु हो। यसरी हेर्दा विकासका अन्य आयामहरू केवल हार्डवेयरको रूपमा रहने र मानिसको मानसिक परिवर्तनलगायत अन्य आयामहरूको सार्थकता केवल शिक्षाको विकासले सम्भव हुन्छ।

राज्यले शिक्षाको विकासलाई जहिले पनि प्राथमिकतामा राखेर यसको उन्नयनमा ठुलो लगानी लगाएको हुन्छ। नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ मा शिक्षा क्षेत्रको लागि करिब १ खर्व ७१ अर्व ७१ करोड २२ लाख विनियोजन गरेको छ । जुन ४ वर्ष यताकै बढी हो । यो बजेट पर्याप्त छ या छैन त्यो बहसको विषय होला तर शिक्षा क्षेत्रको बजेट कत्तिको उपलब्धिपूर्ण रहेको छ त्यसको समीक्षा गर्नु जरुरी छ।

के शिक्षा क्षेत्रको विकास अपेक्षाकृत छ ? के स्रोत साधनको अपर्याप्तता हाम्रो समस्या हो या अन्य कुनै समस्या छ ? भन्ने बारे गहन विचार गर्न जरुरी छ। सीमित स्रोत र साधनबाट सञ्चालित निजी विद्यालयहरूको शैक्षिक उपलब्धि उच्च हुने र तुलनात्मक रूपमा पर्याप्त स्रोत साधन भएको सार्वजनिक शिक्षाको शैक्षिक उपलब्धि निकै कमजोर रहनुको पछाडि रहेका कारणहरू केलाउनु अपरिहार्य भइसकेको छ।

हाम्रो सार्वजनिक शिक्षाको शैक्षिक व्यवस्थापन अत्यन्त कमजोर छ। शैक्षिक नेतृत्वले विद्यालय विकासको कार्य योजना तयार पार्नुपर्ने, रणनीतिक योजना तयार पार्नुपर्ने, जनशक्तिको उचित व्यवस्थापन गर्नुपर्ने, शिक्षकको पेसागत दक्षता अभिवृद्धिमा सहयोग पुर्‍याउनु पर्ने, शैक्षिक पूर्वाधार विकासमा समन्वय गर्नुपर्ने, प्राप्त नतिजाको विश्लेषण गरी सुधारको योजना तयार पारी विद्यालयको समग्र विकासलाई गति दिनुपर्नेमा त्यसो हुन नसकेको देखिन्छ।

शिक्षकहरूको पेसागत क्षमताको विकास गर्न सकिएको छैन। विद्यालयभित्रको राजनीतिले शिक्षकहरूलाई झन् कमजोर बनाएको छ । जसको प्रत्यक्ष प्रभाव शिक्षा क्षेत्रमा परेको छ।शैक्षिक नेतृत्वलाई शक्तिशाली बनाउनु पर्ने, प्रतिस्पर्धाको आधारमा योग्य, व्यावसायिक अनि जुझारु शैक्षिक नेतृत्वको विकास गर्नुपर्नेमा त्यो गर्न सकिएको छैन। उहाँहरूको पेसागत विकास, उचित प्रोत्साहनको व्यवस्था तथा उपयुक्त कार्यवाहकता सिर्जना गर्न सकिएको छैन।

हाम्रो शैक्षिक विकासको अर्को जटिलता शिक्षकको कमजोर पेसागत व्यावसायिकता रहेको छ। एकातर्फ विद्यालयमा पर्याप्त शिक्षकको दरबन्दी छैन भने अर्को तर्फ भएका शिक्षकहरूको पेसागत क्षमता पनि कमजोर रहेको छ। शिक्षकहरूको पेसागत विकासका लागि पर्याप्त तालिम, अध्ययन भ्रमण, तथा उत्प्रेरक हरूको व्यवस्थापन गर्न सकिएको छैन। शिक्षण पेसालाई आकर्षणको केन्द्र बनाउन सकिएको छैन बरु अन्य अवसरहरू समाप्त भएपछि शिक्षक बन्ने प्रवृत्ति छ।

हाम्रो समाजमा शिक्षक भन्दा खरिदारको जागिर प्रशंसनीय छ। यस्तो अवस्थाले एकातर्फ शिक्षकको मनोबल कमजोर भएको छ भने अर्को तर्फ उत्कृष्ट र क्षमतावान् जनशक्तिलाई शिक्षामा आकर्षित गर्न सकिएको छैन। उहाँहरूको कार्यको उचित मूल्याङ्कन गरी उपयुक्त दण्ड पुरस्कारको व्यवस्था गर्न सकिएको छैन। कार्य सम्पादन वस्तुगत हुन सकेको छैन। कमजोर शैक्षिक उपलब्धि भएका शिक्षकहरूको उचित उपचार गर्न सकिएको छैन । जसको प्रत्यक्ष प्रभाव शिक्षा क्षेत्रको विकासमा परेको छ। नतिजालाई वस्तुगत रूपमा शिक्षकको मूल्याङ्कनसँग आबद्धता गराउन नसक्दा समग्र शिक्षा क्षेत्र मुर्झाएको छ।

शिक्षाको विकासमा अभिभावकको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। संस्थागत विद्यालयहरूमा अभिभावकहरू विद्यार्थीको सिकाइप्रति निकै सजक अनि सक्रिय हुन्छन्। अविभावकहरु विद्यालयसँग हरपल सम्पर्कमा रहन्छन् । अनि सहज र अर्थपूर्ण सिकाइको लागि विद्यालयसँग सहकार्य गर्छन् जुन सामुदायिक विद्यालयमा हुन सकेको छैन। सामुदायिक विद्यालयमा अभिभावकको सक्रियता अत्यन्त कमजोर एवं शुन्यप्रायः छ । जसको प्रत्यक्ष असर विद्यार्थीको शैक्षिक विकासमा परेको छ। उहाँहरूको उदासीनताले एकातर्फ शैक्षिक प्रक्रिया एकतर्फी बन्न पुगेको छ भने अर्कोतर्फ विद्यार्थीको स्वच्छन्दता उच्छृङ्खलतामा परिणत भई अपेक्षित नतिजा प्राप्त गर्न सकिएको छैन।

अभिभावकको कमजोर चेतना स्तर तथा सहभागिताले विद्यार्थीलाई घरमा समेत उचित शैक्षिक वातावरण प्रदान गर्न सकिएको छैन जसको प्रत्यक्ष प्रभाव शिक्षाको विकासमा परेको देखिन्छ।

शैक्षिक विकासको अर्को बाधक स्वयम् विद्यार्थीको निष्क्रियता हो। हाम्रो शैक्षिक पद्धति जीवनोपयोगी तथा प्रयोगात्मक रूपमा तयार गर्न खोजिएको भएतापनि यसको प्रस्तुतीकरण सैद्धान्तिक रूपमा गरिँदा विद्यार्थीहरू सिकाइप्रति कम उत्सुक भई सिकाई अपेक्षित अनि सार्थक हुन सकेको छैन। विज्ञान, सामाजिक जस्ता व्यावहारिक विषयलाई पनि घोक्न लगाइने प्रवृत्ति छ भने कक्षाकोठामा शिक्षकको सक्रियता हुने र विद्यार्थी निष्क्रिय श्रोताको रूपमा रहने परिपाटी यद्यपि सामुदायिक विद्यालयमा रहेको छ। विद्यार्थीहरूलाई सिकाइप्रति जागरूक अनि उत्प्रेरित बनाउन सकिएको छैन। विद्यार्थीको रुचि अनि क्षमतालाई शैक्षिक प्रक्रियामा सम्बोधन गर्न सकिएको छैन। उहाँहरूको जिज्ञासा एवं अपेक्षालाई हाम्रो शैक्षिक पद्धतिले सम्बोधन गर्न सकेको छैन । जसले विद्यार्थीहरूलाई सिकाई प्रक्रियामा निष्क्रिय बनाई अपेक्षित उपलब्धि प्राप्तिमा बाधा उत्पन्न गरेको छ। हाम्रो मूल्याङ्कन पद्धति पनि शैक्षिक प्रगतिको बाधकको रूपमा रहेको छ। हामीले निर्माणात्मक र निरन्तर मूल्याङ्कन भन्दा पनि अन्तिम मूल्याङ्कनलाई जोड दिएका छौँ । जसले शैक्षिक पद्धतिलाई सिकाई भन्दा पनि परीक्षा उत्तीर्ण गर्ने साधनको रूपमा ग्रहण गरिएको छ । यस्तो परिस्थितिले शैक्षिक बेरोजगारीलाई बढुवा दिइरहेको छ।

हाम्रो सामुदायिक विद्यालयको कमजोर तथा अपर्याप्त शैक्षिक पूर्वाधारहरू पनि हाम्रो शैक्षिक विकासका अवरोधहरू हुन्। हाल विश्व प्रविधियुक्त शिक्षाको गोरेटोमा दौडिरहेको छ । भने हाम्रो विद्यालयहरू कक्षाकोठा अनि फर्निचरको अभाव व्यहोरिरहेका छन् । धेरैजसो सार्वजनिक विद्यालयहरूसँग पर्याप्त कक्षाकोठा, शौचालय, क्यान्टिन, फर्निचर, खानेपानी लगायतका अत्यावश्यक पूर्वाधारहरू छैनन्। हामी कहाँ भएका कक्षाकोठा अनि फर्निचरहरू सुविधाजनक छैनन्। कक्षाकोठाको लेआउट तथा बसाइ सुविधाजनक नहुँदा विद्यार्थीहरूलाई सम्पूर्ण रूपमा सिकाइमा केन्द्रित गर्न सकिएको छैन । जसले गर्दा अपेक्षित नतिजा हासिल गर्न सकिएको छैन। प्रायः विद्यालयहरूमा पुस्तकालय तथा प्रयोगशाला छैनन्। विद्यालय सम्म पुग्ने बाटो सुरक्षित छैन र विद्यालयहरू भौगोलिक रूपमा टाढा अवस्थित छन् । यसका साथै विद्यालयहरूको कमजोर शैक्षिक सुपरिवेक्षणले पनि सार्वजनिक शिक्षाको विकासमा बाधा सिर्जना गरेको छ। सामुदायिक विद्यालयलाई समाजका हुनेखाने, समृद्ध परिवार तथा उच्च ओहोदाका नागरिकहरूले राजनीतिक करियर विकासका निमित्त प्रयोग गर्ने परिपाटी यद्यपि विद्यमान छ।

सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरूले आफैमाथि विश्वास नगरी आफ्ना नानीबाबुलाई संस्थागत विद्यालयमा भर्ना गरेको उदाहरण हामीकहाँ प्रशस्तै छन् । जसलाई जरैदेखि निर्मूल गरी सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सन्ततिलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने परिपाटीको कडाइकासाथ पालना गर्नु जरुरी देखिन्छ।

शिक्षा क्षेत्र समस्याहरूको सञ्जालभित्र जकडिएको छ। यसको सुधारको लागि सामान्य औषधिले काम गर्दैन । बरु सघन उपचारको जरुरत छ। शैक्षिक नेतृत्वको क्षमता विकास गरी उनीहरूलाई शक्तिशाली बनाइनु पर्दछ। खुला प्रतिस्पर्धाको आधारमा योग्य अनि सक्षम नेतृत्वलाई करारमा नियुक्त गर्नुपर्दछ। कार्यरत स्थायी शिक्षकहरूलाई पनि प्रतिस्पर्धाको अवसर प्रदान गरिनुपर्दछ। यदि स्थायी शिक्षक नियुक्त भए सो अवधिमा उनीहरूलाई बेतलबी बिदाको व्यवस्था गर्न सकिन्छ। शैक्षिक नेतृत्वलाई आकर्षक सुविधाको व्यवस्था गरी उक्त पदलाई शक्तिशाली र आकर्षणको केन्द्र बनाउनु पर्ने देखिन्छ। शिक्षकलाई राजनीतिबाट अलग गरी उहाँहरूको उपलब्धिको वस्तुगत विश्लेषण गरी उचित दण्ड अनि पुरस्कारको व्यवस्था गर्नुपर्छ। शिक्षकहरूको पनि करार सम्झौता गरी लगातार कमजोर प्रदर्शन गर्ने शिक्षकहरूलाई उचित उपचारको व्यवस्था गर्नुपर्ने देखिन्छ।

विद्यालयहरूमा पर्याप्त दरबन्दी व्यवस्था गरी योग्य अनि व्यावसायिक शिक्षकहरूको उपलब्धता सुनिश्चित गरिनु पर्दछ। राहत शिक्षकहरूको उचित व्यवस्थापन गरी स्थायी शिक्षकहरूको व्यवस्था गरिनु पर्दछ। शिक्षकहरूको व्यावसायिकता विकासलाई उचित तालिम आदिको प्रबन्ध गरिनु पर्दछ।

शिक्षा विकासको लागि अभिभावकको सक्रियता अपरिहार्यता रहन्छ। शैक्षिक प्रक्रियामा अभिभावकहरूको सक्रिय अनि अर्थपूर्ण सहभागिता जुटाउन अभिभावकसितको सम्पर्क बढाउन जरुरी छ । जसका लागि निश्चित समयको अन्तरालमा अभिभावक भेलाको आयोजना गर्न सकिन्छ । अभिभावक कक्षाको व्यवस्था गर्न सकिन्छ। विद्यार्थीका उपलब्धि अनि कमजोरीहरूलाई फोनबाट सेयर गर्न सकिन्छ। यसर्थ सार्थक शैक्षिक विकासको लागि अभिभावकको सक्रिय अनि अर्थपूर्ण सहभागिता जुटाउनु आवश्यक छ।

शिक्षाको विकासको लागि कक्षा समयको उचित सदुपयोग गरिनु पर्दछ। विद्यार्थीलाई सिकाइमा सक्रिय, उत्प्रेरित एवं उत्सुक बनाउन शिक्षकले सूचना प्रविधि तथा उपयुक्त शैक्षिक सामाग्रीको प्रयोगमा जोड दिनु पर्ने हुन्छ। शिक्षण प्रक्रियालाई विद्यार्थी केन्द्रित शैक्षिक पद्धतिको रूपमा रूपान्तरण गरी उनीहरूको मल्टिपल इन्टेलीजेन्सीलाई सम्बोधन गर्न सक्नु पर्दछ । जसले सिकाइ प्रक्रियामा विद्यार्थीहरूको अपनत्व वृद्धि भई शैक्षिक उपलब्धिको विकास हुन पुग्छ। विद्यार्थीको रचनात्मक तथा सृजनशील विचारको सम्मान गर्ने परिपाटीको विकास गरी अतिरिक्त क्रियाकलापको विकासमा ध्यान दिनु जरुरी छ। हाम्रो मूल्याङ्कन पद्धतिलाई निरन्तर, वस्तुगत र प्रयोगात्मक बनाइनु पर्दछ। सिकाइलाई जीवनोपयोगी सीपसँग जोड्न सक्नु पर्दछ। विद्यालय तथा शिक्षा शाखालाई स्रोतसाधन सम्पन्न बनाउनु पर्छ । अनि सबैले शैक्षिक विकास तथा परिवर्तनका लागि हातेमालो गरी अघि बढेमा शैक्षिक विकासलाई अपेक्षित गतिमा अगाडी बढाई सार्वजनिक शिक्षालाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउन सकिन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस