स्वास्थ्यकर्मी हिलाम्य सडक छिचोलेर बोक्दै छन् स्वाब « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

स्वास्थ्यकर्मी हिलाम्य सडक छिचोलेर बोक्दै छन् स्वाब


१ भाद्र २०७७, सोमबार


डडेल्धुरा । पछिल्लो समयमा डडेल्धुरा सदरमुकाममा रहेका सडकको फोटो सामाजिक सञ्जालमा निकै चर्चामा छन् । हिउँदको समयमा धुलाम्मे हुने सडक वर्षातको समयमा हिलाम्मे हुने गरेको कारणले पनि चर्चामा आउने गर्दछन् ।

पहाडी जिल्लाको ‘हिल स्टेसनका रूपमा परिचित जिल्ला सदरमुकामका सडकमा नै नाली नहुँदा सडकमा पानी बग्ने गरेको कारण सामाजिक सञ्जालमा पानी जहाज चल्ने सडक भनेर भाइरलसमेत गरिएको छ ।

जिल्ला सदरमुकाममा रहेको सडकको चर्चा चुलिँदै गर्दा डडेल्धुरामा आइतबार एकाएक दिनभरि ग्रामीण सडकको चर्चा सामाजिक सञ्जालमा निकै चल्यो । सडकको चर्चा चल्नुको कारण थियो, त्यही हिलाम्मे सडकमा १ जना स्वास्थ्यकर्मी ‘स्याम्पल कलेक्सन गर्ने भाँडो (क्यारियर बक्स) बोकेर मोटरसाइकलमा यात्रा गर्नु ।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाको पोखरा–बेलापुर सडक खण्डमा यात्रा गरिरहेका व्यक्ति थिए नवदुर्गास्थित चामा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी प्रेम साउद हुन । चारैतिर हिलाम्य ग्रामीण सडक हिलोमा फस्नै लागेको मोटरसाइकल, खुट्टामा चप्पल, चप्पल भरी हिलो । टाउकोमा हेलमेट, कानमा मोबाइल, एक हातमा घडी र घाँटीमा झुन्ड्याएको क्यारियर बक्स बोकेर उनी जिल्ला सदरमुकामतिर आइरहेका थिए ।

देशमा कोरोना सङ्क्रमणको जोखिम बढेसँगै पहाडी जिल्लाका स्वास्थ्यकर्मीले हिलो, पहिरो र बाढीको जोखिम मोलेर काम गर्दै आइरहेका समयमा हिलाम्मे सडकमा यात्रा गर्ने साउदको रहर नभएर बाध्यता थियो ।

ग्रामीण क्षेत्रका कच्ची हिलाम्य सडकमा एक्लै खाली हात हिँड्न त हम्मे हम्मे हुन्छ भने फोर आइस प्याक क्यारियर बक्सभित्र कोरोना परीक्षणका लागि सङ्कलन गरिएको स्वाबलाई घाँटीमा झुन्ड्याएर हिँड्नुपर्ने उनको बाध्यता थियो ।

नवदुर्गा गाउँपालिकाको चामा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी साउद हिलाम्य सडकमा जोखिम मोलेर ४७ जनाको कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाब बोकेर सदरमुकाम आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस