नगरवासीकै भएन गाउँ झिलिमिली पार्ने सपना पुरा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नगरवासीकै भएन गाउँ झिलिमिली पार्ने सपना पुरा


ममता भट्ट

३२ श्रावण २०७७, आइतबार


डडेल्धुरा । डडेल्धुराको अमरगढी–३ चिरकिट्टे गाउँका स्थानीयले गाउँ झिलिमिली पार्ने र दैनिकी सहज बनाउने सपना साँचेर आफै बोकी गाउँमा पोल पुर्‍याएको ३/४ वर्ष भयो । घर अगाडि बिजुलीका पोल गाडिएका छन् ।

केही पोल भुँइमा छरिएका छन् भने कतिपय पोल माटोमा पुरिँदै गएका छन् । तर, गाउँमा पोल पुगे पनि बिजुली भने अझै पुगेको छैन । वर्षौँदेखि गाउँमा बिजुली नपुग्दा स्थानीय अन्धकारमा नै बस्न बाध्य छन्।

हर्कबहादुर पाण्डेय उमेरले ६५ वर्ष पुगे । उनले जन्मेदेखि गाउँमा बिजुली देख्न पाएका छैनन् । ४ वर्ष अघि गाउँमा पोल पुग्दा उनलाई घरमा बिजुली बलेको हेर्ने चासो बढ्यो । कहिलेकाहीँ जिल्ला सदरमुकाम आउँदा बिजुली बलेको देखेका उनलाई आफ्नै ठाउँमा झिलिमिली भएको हेर्ने ठुलो रहर छ ।

‘घरमा बिजुली बलेको हेर्ने ठुलो रहर छ । तर, मेरो सपना कहिले पूरा हुने हो थाहा छैन,’ उनले भनिन्, ‘यो जुनीमा मेरो रहर पुरा होला जस्तो छैन । आस पनि मरिसकेको छ ।’

गाउँमा दिनभरि खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै त्यस क्षेत्र सुनसान बन्ने गरेको छ । साँझ पर्नासाथ वरपरका गाउँ झिलिमिली हुन्छन् । तर, यी बस्तीहरूका जनता भने टुकीको धिपधिपमा चित्त बुझाउँदै आएका छन् ।

घर छेउमा विद्युतको पोल गाडेको वर्षौँ भयो । तर, दुर्गम गाउँमा झैँ सोलारबाट बत्ती बालेर चित्त बुझाइरहनु परेको स्थानीय एलिना पनेरुले बताइन् । ‘के गर्नु स्मार्ट अमरगढी भन्छन् जिल्ला सदरमुकाम नजिकैको गाउँमा बिजुली छैन ।’

‘गाउँमा बिजुली नहुँदा विद्यालयमा पठनपाठन गर्ने बालबालिकालाई समस्या हुने गरेको छ । २१ औँ शताब्दीमा पनि देउवाको गृह जिल्लाका नागरिक ‘झरो’ (सल्लाको दाउरा) बालेर रात बिताउन बाध्य छन्,’ उनले भनिन् ।

‘सोलार बालेर भए पनि रातमा उज्यालो हुन्थ्यो । अहिले वर्षातको समय भएकोले घाम लाग्दैन । घाम नलागेपछि कहाँबाट सोलार बाल्न ?,’ उनले प्रश्न गरिन्, ‘स्थानीय सरकार गाउँमा विकास गर्दै छ भन्छ, खोइ कहाँ र के विकास भइरहेको छ ? हामी वर्षौँदेखि अन्धकारमा जीवन बिताउन बाध्य छौँ ।’

गाउँमा सिंहदरबार आएको भनिए पनि बिजुली आउन नसकेकोमा स्थानीय दुःखी छन् । गाउँमा सडक नखन्दै बोकेर ल्याइएका पोलमा बिजुली बलेको देख्ने रहर सबैको छ । कतिपयले वैकल्पिक ऊर्जाका रूपमा सोलार जोडे पनि अझै अधिकांश स्थानीय टुकी बालेर काम चलाइरहेका छन् ।

विद्युत् नभएपछि केही गैरसरकारी संस्थाले सोलार वितरण गरेका थिए । तर, त्यो बालुवामा पानी जस्तै भएको स्थानीय बताउँछन् । स्थानीय तहको निर्वाचनदेखि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा नेताहरूबाट सडक र बिजुलीको आश्वासन स्थानीयले नपाएका होइनन् । तर, चुनाव जितिसकेपछि यो समस्या समाधान गर्न कसैको पनि ध्यान नगएको स्थानीयको दुःखेसो छ ।

स्थानीयले बिजुलीको माग गरे पनि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले ध्यान नदिएको स्थानीय नरेन्द्र पाण्डेयको गुनासो छ । प्राधिकरण वितरण केन्द्र डडेल्धुरामा पुग्दा मिटर आवेदन फारम ल्याएर आउनु होला भन्ने गरेको र ३/४ जनाले फाराम बुझाए पनि गाउँमा विद्युत् नपुगेको उनको भनाइ छ । सो ठाउँका ३०/४० घरपरिवार बिजुलीविहीन छन् ।

वडाध्यक्ष भन्छन्, ‘ठेकेदार, स्थानीय र विद्युत् कार्यालयको लापरबाहीले बिजुली पुगेन’

ठेकेदार र विद्युत् कार्यालयको लापरबाही तथा स्थानीयले चासो नदिँदा बिजुली नपुगेको अमरगढी–३ का वडाध्यक्ष गोविन्द बोहराले बताए । २०७७ को वैशाखमा बिजुली पुर्‍याउने लक्ष्य राखेको भए पनि कोरोना भाइरसका समस्या भएको उनको भनाइ छ ।

‘सतकटा भन्ने स्थानमा तारले ओखरको रूखमा छुने जस्तो भएपछि १ स्थानीयले ओखर टिप्न गाह्रो हुन्छ । लाइन सार्नु पर्‍यो भन्ने गुनासो गर्नुभएको थियो । पछि सम्झाइबुझाई गर्दा समस्या समाधान भयो,’ उनले भने ।

वडा कार्यालयको पहलमा नै पोल र तार लाइन जडान भएको उनले बताए । वडाध्यक्ष बोहराका अनुसार स्थानीयले घरमा वायरिङ नगरेको र मिटर नलगेका कारण बिजुली बाल्न समस्या भएको हो । गाउँमा बिजुली चाहियो भन्नेहरूलाई वडाबाट निःशुल्क मिटर दिन्छु भन्दासमेत नआएको उनको आरोप छ ।

यता नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराको प्रमुख ईश्वरकुमार श्रेष्ठले आफू आउनुभन्दा पहिले नै काम भइसकेको र आफू आइसकेपछि नपुगेको ११ हजार लाइन ट्रान्सफर गरेको बताएका छन् । सल्लाको रूख भएको वन भएकोले हावाहुरीले तार चुँडिएपछि मिटर फारम आवेदन माग गर्दा १/२ जनाले मात्रै आवेदन दिएको उनले बताए ।

‘बेलाबेलामा हामीहरूको लाइन चार्ज भएन भनेर उनीहरू कुरा उठाउँछन् । तर, मिटर आवेदन फारम भने दिँदैनन् । त्यत्तिकै हामीहरूले लाइन छोड्न मिल्दैन,’ उनले भने, ‘हामीहरू बिग्रिएको ठाउँमा जुनसुकै बेला पनि मर्मत गर्न तयार छौँ । तर, स्थानीयले बिजुली बाल्न मिटर माग गर्नु पर्‍यो ।’

Tags :
प्रतिक्रिया दिनुहोस