पहिरो र कटानबाट प्रसारण लाइनमा क्षति « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पहिरो र कटानबाट प्रसारण लाइनमा क्षति


३० श्रावण २०७७, शुक्रबार


म्याग्दी । म्याग्दीको अन्नपूर्ण-३ दानादेखि पर्वतको खुर्कोट जोड्ने निर्माणाधीन विद्युत् प्रसारण लाइनको टावरमा कटान र पहिरोले क्षति पुर्‍याएको छ ।

कालीगण्डकी कोरिडोरअन्तर्गत नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको एक वटा टावर ढलेको छ भने चार वटा जोखिममा परेका छन् । धाइरिङको डिलबाट ठूला ढुङ्गासहित खसेको पहिरोले कुनातर्फको दुई वटा लेग (खुट्टा)मा लागेर जलजला गाउँपालिका–७ मिलनचोक स्थित १४ नम्बरको टावर ढलेको छ । नजिकका अन्य दुई वटा टावरमा असर पुगेको छ ।

टावर ढल्दा रु तीन करोड ५० लाख बराबरको क्षति भएको ठेकेदार कम्पनी टाटा-चिन्ट जेभीका प्रतिनिधि केदार रेग्मीले बताए । थप चार वटा टावर पहिरो र कटानका कारण जोखिममा परेका छन् । जलजला गाउँपालिका-२ टमिलाखर्कको टावर जोखिममा परेको छ । ‘महभिर, धिरच्याङ र दाना सवस्टेशन नजिकै कालीगण्डकीले कटान गरेर जोखिममा परेका टावर संरक्षणको काम भैरहेको छ’, आयोजनाका सहायक निर्देशक लक्षमण फुँयालले भने, ‘सवस्टेशनमा थप कटान हुन् नदिन संरक्षणको योजनाका लागि बोलपत्र आह्वान भइसकेको छ ।’

प्रसारण लाइनको टावर वरपरका क्षेत्रमा निर्माण गरिएका सडकका कारण क्षति भएको आयोजनाले जनाएको छ । सडक विस्तारका लागि खनिएको माटोको व्यवस्थापन नहुनु, भत्काएको ठाउँमा संरक्षण नभएका कारण प्रसारण लाइनमा असर पुगेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए।

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा चार वर्षअघि शुरु गरेको ३९.६ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । ११४ वटामध्ये पोखरे बगरका दुई वटाबाहेक सबै ठाउँमा टावर ठडाएर तारसमेत तानिएको छ । रु दुई अर्ब ९० करोडमा ठेक्का सम्झौता भएको आयोजनाअन्तर्गत दाना र खुर्कोटको सवस्टेशनसमेत अन्तिम चरणमा पुगेको छ ।

कालीगण्डकी र आसपासका नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन र सवस्टेशन बनाउन लागिएको हो । दोस्रो चरणमा खुर्कोटदेखि नवलपरासी जोड्ने प्रसारण लाइन र सवस्टेशनसमेत निर्माण शुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस