सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् ।
शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले दिइएको जानकारी अनुसार १३ वटा घर पुरिएर देखिँदै नदेखिने भएको सुचना प्राप्त भएको जनाइएको छ ।
उनका अनुसार पहिरोमा परि धेरै परिवार हताहत भएको हुन सक्ने बुभिएको छ । ‘घटनास्थल दुर्गम ठाउँमा रहेकाले प्रहरी पुग्न समय लाग्ने एसपी प्रज्वल महर्जनले बताए ।
अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन । प्रहरी निरीक्षकको नेतृत्वमा कात्तिके र जलवीरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको उनले जानकारी दिए। ‘प्रहरीलाई घटनास्थल पुग्न अझै कम्तिमा पनि दुई घण्टा लाग्छ होला,’ उनले भने, ‘प्रहरी पुगेपछि मात्रै घटनाको यथार्थ विवरण प्राप्त हुन्छ।’







