कृष्ण जन्म एक, सन्देश अनेक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कृष्ण जन्म एक, सन्देश अनेक


२८ श्रावण २०७७, बुधबार


कृष्ण शब्दको शाब्दिक अर्थ कालो हुन्छ । कालोले अन्धकार र रहस्यमयताको अर्थ दिन्छ । तसर्थ कृष्ण अवतार आफैमा अत्यन्तै रहस्यमय र सुन्दर छ । भगवद्गीताको महान् उद्घोषक, भगवान् कृष्ण विष्णुको सबैभन्दा शक्तिशाली अवतार मध्ये एक अवतार हो । विष्णुका अवतारहरू मध्ये कृष्ण अवतारलाई सबैभन्दा लोकप्रिय अवतारको रूपमा लिइएको छ । र सायद सबै हिन्दु देवताहरू मध्येमा पनि मानव हृदयसँग निकै नजिक छ कृष्ण अवतार ।

कृष्ण हुनुको महत्त्व
धेरै व्यक्तिहरूमा मात्र होइन धेरै पुस्ताहरूमा कृष्ण प्रायः सबैका लागि रहस्यमय, प्रिय र आदर्श बनेका छन् । लाखौँ मानिसहरू भगवानको त्यो नाम सुन्दै पनि उत्साहित र ऊर्जाशील हुन्छन् । आज पनि व्यक्तिहरू कृष्णलाई आफ्नो अनुकूलताको नेता, नायक, रक्षक, दार्शनिक, मित्र, गुरु र वैध  आदि सबैकोरूपमा मान्दछन् । कृष्णले हिन्दु दर्शन, विचार, जीवन र संस्कृतिलाई असङ्ख्य तरिकाले प्रभावित गरेका छन् । उनी हिन्दुको धर्म र दर्शन मात्र नभई यसभित्रको रहस्यवाद र साहित्य, चित्रकला र मूर्तिकला, नृत्य र सङ्गीत, हिन्दु जनजीवन र लोककथाका सबै पक्षहरूमा पनि प्रभाव पार्न सफल भएका छन् ।

कृष्ण प्रभुको समय
भारतीय तथा पश्चिमी विद्वानहरूले बताए अनुसार ३१०० देखि ३२०० वि.सी. सम्मको अवधिलाई भगवान् कृष्ण पृथ्वीमा रहेको समयको रूपमा स्वीकारिएको छ । कृष्णको जन्म भाद्र महिना कृष्णपक्षको आठौँ दिनमा वा अष्टमी तिथिमा भएको थियो । त्यही भएर पनि कृष्णको जन्मदिनलाई जन्माष्टमी भनिएको हुनु पर्छ । जुन विश्वभरि रहने हिन्दुहरूका लागि विशेष दिन हो । कृष्णको जन्म आफैमा एक रहस्य र उत्साहको उत्तम घटना हो जसले हिन्दुहरूको बिचमा श्रद्धा, विश्वास र उत्साह पैदा गर्छ । साथै यस जन्मले सांसारिक मोह मायाका घटनाहरू सबैलाई ओझेलमा पारिदिएको अनुभूति हुन्छ ।

कृष्णको बाल लिला र अन्यायको अन्त्यको सुरुवात
कृष्णको बाल्यकालको बारेमा कथाहरू प्रशस्त उपलब्ध छन् । किंवदन्तीमा यो पनि उल्लेख छ कि आफ्नो जन्मको छैटौँ दिनमा, कृष्णले लेडी राक्षस पुतनालाई उनको स्तन चुसेर मार्नुभयो । यसका अलावा बाल्यकालमा, उनले अरू धेरै शक्तिशाली राक्षसहरू पनि मारे, जस्तै त्रिनावर्त, केसी, अरिस्थसुर, बकासुर, प्रलाम्बासुर आदि । यसै अवधिमा उनले काली नागलाई पनि मारेर र यमुना नदीको पवित्र पानीलाई विष मुक्त गरेको विश्वास आम मानिसमा अहिले पनि जागृत छ । यी तथ्यहरूले कृष्णले बाल्यकालमा गरेको लोकहित र अत्याचारको अन्त्य सदाचारको स्थापनामा देखाएको क्रियाशीलतालाई प्रस्ट पार्दछ ।

त्यस्तै अर्को तर्फ कृष्णले उनको ब्रह्माण्डिक नृत्य र उनको बाँसुरीको प्रेमील सङ्गीतको आनन्दले गोठालाहरूलाई खुसी बनाए । उनी उत्तर भारतको प्रख्यात गाउँ गोकुलमा ३ वर्ष ४ महिना बसेको इतिहास पाइन्छ । सानो छँदा कृष्णलाई धेरै मायावी शक्ति युक्त प्राणीको रूपमा चिनिन्थ्यो, यो तथ्य दही र मखन चोरेर खाने गरेको र आफ्नो केटी साथी वा गोपिनीका साथ विभिन्न समय र वाहानामा गरेको शरारतले पुष्टि गर्दछ । गोकुलमा आफ्नो लीला पूरा गरेपछि उनी वृन्दावन गए जहाँ उनी ६ वर्ष र ८ महिनाको उमेरसम्म बसेको बताइन्छ । एउटा प्रख्यात लोकप्रिय पौराणिक कथा अनुसार कृष्णले गोवर्धन पहाडलाई आफ्नो सानो औँलाले माथि उठाई र कृष्णको कारण रिसाएको भगवान् इन्द्रले गरेको मुसल धारे वर्षाबाट वृन्दावनका मानिसहरूलाई बचाउन छाता जस्तो बनाइ दिए यस कार्यबाट लोक कल्याणका लागि कृष्णले खेलेको भूमिका थप प्रष्ट हुन्छ ।

कृष्णको युवावस्था र शिक्षा
यसपछि कृष्ण आफ्नो जन्मस्थल मथुरा फर्किए र आफ्ना दुष्ट मामा राजा कंसलाई उसका सबै क्रूर सहकर्मीहरूको साथ मारे र आफ्ना बाबुआमालाई जेलबाट छुटाए । उनले सोही समयमा उग्र सेनलाई मथुराको राजा पनि बनाए । उनले आफ्नो उच्च शिक्षा अवन्तीपुरामा गुरु सन्दीपानीको नेतृत्वमा पुरा गरेको मानिन्छ । र अर्को प्रसँगमा गुरुदक्षिना वा शिक्षण शुल्कको रूपमा उनले सान्दिपनीको मृत छोरालाई उसकोमा फर्काइदिएको कथामा पढ्न पाइन्छ ।

यसबाट अन्यायको अन्त्य र न्यायको विजयका अलावा मातृत्व, पितृत्व र गुरुको इच्छा पुरागर्न व्यक्ति जस्तो सुकै जोखिममा पनि सदैव तत्पर रहनुपर्छ भन्ने सन्देश मानव जातिले लिन सक्छ ।
भगवान् श्री कृष्णले पवित्र गीतामा भन्नु भएको छ । म सबै प्राणीहरूको अन्तस्करण हुँ, म तिनीहरूको अस्तित्वको सुरुवात र अन्त हुँ । म बत्तीहरूमा चम्किरहेको सूर्य हुँ । म देवताहरूको राजा हुँ र म नै भक्तहरूको रक्षक पनि हुँ । अन्ततः म नै घृणाको निवारण र प्रेमीको प्रेम हुँ । वालकका लागि मेरा वाल लीला, युवा प्रेमीका लागी मेरो रास लीला, योद्धाका लागि मेरो युद्धकला (महाभारत), अन्यायीहरूका लागि कंश लीला र ज्ञानीहरूका लागि ज्ञान लिला (भागवत गीता)मैले कलियूगका लागि छोडेका अमूल्य निधि र शिक्षाको सार हो ।

कृष्ण, महाभारतको नायक
धेरै वर्षसम्म भगवान् कृष्ण पाण्डव र कौरव राजाहरूसँग बस्नुभयो जसले हस्तिनापुरमा शासन गरे । जब पाण्डव र कौरव बिच युद्ध भइरहेको थियो, कृष्णलाई मध्यस्थता गर्न पठाइयो तर सो प्रयास सफल भएन । युद्ध भएरै छाड्यो, कृष्णले आफै पाण्डवहरूका सेनापति योद्धा अर्जुनको सारथिको रूपमा सम्मिलित हुन राजी भए र महाभारतमा वर्णन गरिएको कुरुक्षेत्रको युद्धमा सामेल भए । यो लडाई ईसा पूर्व ३००० वि.सि. तिर लडिएको थियो ।

युद्धको समयमा भगवान् श्रीकृष्णले अर्जुनलाई दिएको सन्देशका कारण पनि कृष्ण युगौं युगसम्म शाश्वत देवताका र आस्थाका प्रतिमूर्ति रहेको कुरा प्रष्ट हुन्छ । जहाँ भनिएको छ, जीवनको सबै परिस्थितिमा धर्म (धार्मिकता) लाई सम्हाल्नुहोस् । यदि कसैलाई आफ्नै परिवार, शुभचिन्तक र साथीहरूको अवहेलना अपमान त परै छोडौं तिनीहरूको विनास नै गर्नु परेको छ भने पनि त्यो सब माया मोह छोडेर धर्मको पुनर्स्थापना गर्नु उसको परम कर्तव्य हो । कथामा अर्जुनले माफी माग्दै भनेका थिए समस्या निम्त्याउनेहरू आफ्नै भतिजाहरू, गुरुहरू र नजिकका आफन्तहरूका विरुद्ध हातहतियार उठाउनु पर्यो । राजाको हैसियतमा उनी आफ्नो परिवार, आफन्त र साथीभाइहरूको जीवन भन्दा पनि मानिसजातिको सेवा गर्नु प्रथम कर्तव्य थियो ।

तसर्थ भगवान् कृष्णले राजा अर्जुनलाई दुष्टका विरुद्ध हतियार उठाएर सत्य र लोक हितको रक्षा गर्न सल्लाह दिए । यो एक धर्म (धार्मिकता) र अधर्म (अराजकता) को बिचको लडाई थियो । व्यक्तिगत मामिला, पारिवारिक मामिला यस्तो परिस्थितिमा कहिल्यै प्रमुख भएन । यसबाट अहिले पनि व्यक्तिले सामूहिक हित र भलाईका लागि व्यक्तिगत हित र स्वार्थ एवम् माया मोह र सांसारिक बन्धनलाई तिलाञ्जलि दिन तर्फ व्यक्ति सधैँ दृढ निश्चयी हुन सक्नु पर्ने सन्देश दिएको अनुभूति हुन्छ ।

यसरी समग्रमा भगवान् कृष्ण आजभन्दा करिब ५००० वर्ष पहिले यस पृथ्वीमा आउनुभयो । भगवद् गीतामा त्यस समयका घटना र सन्देशहरू संग्रहीत छन् । जुन त्यस समयमा लागू भएका थिए । तर विडम्बना ती भगवद्गीताका सन्देशहरू आज पनि उत्तिकै लाभदायी छन् तर प्रयोगमा आउन सकेनन् । यद्यपि मानवताको अन्त्य नभएसम्म यी सन्देशहरू लागू रहनेछन् भन्ने परिकल्पना गर्न सकिन्छ । जसको सार भनेको वर्तमान समयमा धर्मको पुनः स्थापना गर्नु आजको युगको आह्वान हो जुन भागवत गीताको अमूल्य सन्देश हो ।

Tags :
प्रतिक्रिया दिनुहोस