कोरोना रोकथामका लागि प्रदेश २ ले संघीय सरकारसँग माग्यो विशेष प्याकेज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना रोकथामका लागि प्रदेश २ ले संघीय सरकारसँग माग्यो विशेष प्याकेज


प्रशासन संवाददाता

२५ श्रावण २०७७, आइतबार


जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोलीले आज प्रदेश नं २ मा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराएको छ ।

मुख्यमन्त्री राउतको नेतृत्वमा सामाजिक विकासमन्त्री नवलकिशोर साह र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासहितको टोलीले आज काठमाडौँमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वर रायसँग भेट गरी कोरोना भाइरस रोकथामका लागि विशेष प्याकेज ल्याउन आग्रह गरेको मुख्यमन्त्री सञ्चार सचिवालय प्रदेश नं २ ले जनाएको छ ।

सो टोलीले प्रदेश नं २ अहिलेको अवस्थामा अतिप्रभावित भएकाले तत्काल विशेष प्याकेज ल्याउन आग्रह गरेको छ । सो अवसरमा मुख्यमन्त्री राउतको टोलीले प्रशासन तथा सुरक्षा निकायलाई थप चुस्त दुरुस्तरुपले काम गर्नुपर्ने तथा सीमा क्षेत्रमा थप कडाइ गर्नुपर्नेतर्फ विशेष ध्यान दिनुपर्ने विषयमा चासो राखेको थियो ।

उक्त अवसरमा उपप्रधानमन्त्री पोखरेलले वीरगञ्ज नेशनल मेडिकल कलेजमा कोभिड उपचारका लागि ५०० श्ययाको आइसोलेशन कक्ष तुरन्त व्यवस्थापन गर्नेगरी संघीय सरकारबाट निर्णय गरिने सम्बन्धमा सुनिश्चितता गर्नुभएको सो सचिवालयले जनाएको छ ।

यस प्रदेशका लागि तत्काल ५० हजार भिटिएम रिजेन्टको उपलब्धता तथा पिसिआर परीक्षणका लागि दुई वटा आरएनए मेसिन उपलब्ध गराउनेबारेसमेत छलफल भएको छ । मुख्यमन्त्री राउतले प्रदेश नं २ मा रहेका गम्भीर बिरामीलाई तत्काल काठमाडौँ ल्याउने गरी हेलिकप्टर तम्तयारी राख्न र कोरोना उपचार सम्बन्धमा कुनै कमी हुन नदिनका लागि चिकित्सकको विशेषज्ञ टोली तत्काल पठाउन तथा सबै निजी अस्पतालमा कम्तीमा २० प्रतिशत आइसोलेशन श्यया उपलब्ध गराउनसमेत ध्यानाकर्षण गराएका छन् ।

नारायणी अस्पताललाई सामान्य अस्पतालका रुपमा राख्ने तथा बिरामी भर्ना एवं उपचारमा लापरवाही गर्ने निजी अस्पताललाई कारवाही गर्ने विषयमा समेत सहमति जुटेको सो सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस