काठमाडौँ । नेपाल बिद्युत् प्राधिकरण, ढल्केबर ग्रिड शाखा, धनुषाका कार्यालय प्रमुख उप–प्रबन्धक(नवौँ तह) रितेश गुप्ता एक करोड २४ लाख ९१ हजार एक सय ४५ रुपैयाँ बराबरको कार्यालयका चेकहरूसहित सिन्धुलीबाट पक्राउ परेका छन् ।
भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरू स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाहरूको भुक्तानी(पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी उक्त चेकहरू लिएर काठमाण्डौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले गुप्तालाई सिन्धुली, कमलामाई नगरपालिका ९ बाट पक्राउ गरेको हो ।
प्रशासन स्रोतका अनुसार गुप्ता शङ्कास्पद रूपमा हस्ताक्षर भैसकेका कार्यालयका चेकहरू तथा स्वीकृत भैनसकेका सोही चेकहरूसँग सम्बन्धित कागजातहरूसमेत लिएर काठमाण्डौं आई रहेका थिए ।







