गरेर सिकेका अगुवासँगको सिकाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गरेर सिकेका अगुवासँगको सिकाई


२४ श्रावण २०७७, शनिबार


कामका लागि सिकाई अवसर
सिद्धान्तमा राम्रा कुरा गर्ने तर व्यवहारमा उतार्न चुक्ने नेपाली प्रशासनको मुख्य कमजोरी हो भन्दा फरक पर्दैन । सुशासनका लामा लामा लेख लेख्ने, भाषण दिने तर आफू कार्यरत कार्यालयमा के कसरी काम भइरहेको छ, सेवाग्राहीले सजिलै सेवा पाएका छन् वा छैनन्, कानुन वा कार्यविधि छ छैन भए पनि सुधार गर्नुपर्ने छ कि ? यी विषयका अलावा सुधारका लागि छोटो समयमा हुन सक्ने सुधारदेखि लिएर लामो समयसम्म लाग्न सक्ने अभियानमा समेत खरो उत्रनुभएका पूर्व मुख्यसचिव लीलामणि पौड्यालले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टिमसँग यही २०७७ साउन २३ गते शुक्रवार गर्नुभएको जीवन मूल्य, कर्म मूल्य, सकारात्मक विचारको प्रवाहसम्बन्धी कुराकानीलाई समेटेर यो लेख तयार पारिएको छ । हुन त विभागले यस खालको प्रस्तुतीकरण आयोजनाको यो पहिलो नभई चौथो शृङ्खला हो । सिक्ने सिकाउने वातावरणका रूपमा यो खालको क्रमले आगामी दिनमा समेत निरन्तरता पाउनेछ ।

सुशासनको अमूर्त गन्थनबाट बाहिर निस्केर सही अर्थमा सेवा पाउने र प्रवाह गर्ने विषयलाई जिम्मेवारी र जबाफदेहिताबाट वाध्दै यथासम्भव सहभागितामूलक, समावेशी, विधि र कानुनको व्यवस्था, पारदर्शी कार्यप्रकृया एवं देखिएका आम समस्याहरूप्रतिको जिम्मेवारीपन (रेस्पोन्सिभनेस) लाई बढाउन सके राज्य प्रदत्त सेवा वा काम प्रभावकारी हुने र सो को अनुभूति नागरिकले गर्ने हुन्छ । यो विषयलाई लागू गर्न आफू जहाँ रहे पनि सो सङ्गठन र त्यसको परिवेशसमेतलाई आशालाग्दो र भरोसालाग्दो बनाउन आवश्यक हुन्छ । यसका लागि जिम्मेवार पदाधिकारीले थप अग्रसरता देखाउनुपर्दछ ।

प्रयत्नै नगरी सुधार सम्भव छैन
भनाई नै छ कि “भन्न सजिलो गर्न गाह्रो” । नगरेरै भइरहेको छ भने किन गर्ने ? डटेर काम गरे पनि त्यही तलब त हो नि भन्ने जस्तो प्रवृत्ति रही आएको छ । तर काम गर्नेले सिक्ने र सिकेको कुरा जागिरबाट निस्कँदासमेत काम लाग्ने हुन्छ भन्ने कतिले बुझेका छन् कतिले बुझ पचाएका छन् । ज्ञान भन्ने चिज सेवानिवृत्तपश्चात समेत काम लाग्छ, सेवा निवृत्त भएका प्रशासकहरू वा विज्ञहरूबाट समय समयमा सुझाव सल्लाह लिने गरिएको पनि हुन्छ । तर विज्ञहरूको रोष्टर तयार गरी आवश्यक पर्दा सुझाव सल्लाह वा परामर्श लिने कार्य सजिलो भए पनि कमै हुने गरेको छ ।

आफू अग्रसर भएर काम नगर्ने, काम गर्न अलमल हुँदा वा नजान्दा सिक्न नतम्सने, अरू र त्यसमा पनि आफूभन्दा तल्लो दर्जासँग सिक्नु हुँदैन भन्ने मान्यता बोक्ने अनि पछि गएर पछुताउने यो नियति धेरैमा पाइन्छ । सार्वजनिक सेवामा रहँदा सुधारको लागि प्रयत्नशील रहनुपर्ने, सिक्न र सिकाउन सधैँ खुला रहनुपर्ने र कामलाई अवसरका रूपमा लिइनुपर्ने विचार लीलामणि पौडेलले खुलेर राख्नुहुन्छ । कुनै कार्यालय विशेषमा पदस्थापना वा सरुवा हुँदा आकाशै खसेजस्तो गर्ने, आफूलाई कमजोर नठान्ने/हेपिएको महसुस नगर्ने तर कामप्रति समर्पित हुँदै आफ्नू बलबुता र क्षमताको भरपुर प्रयोग गर्ने खालको व्यवहार आवश्यक छ ।

कुनै पनि काम वा कार्यालय पूर्णरुपमा राम्रो वा नराम्रो हुँदैन । इमानदार प्रयत्न हुन सकेमा सापेक्षिकरुपमा पहिले भएभन्दा राम्रो बनाउन सम्भव छ । कामप्रतिको दृष्टिकोण प्रस्ट भयो भने कामको वातावरण बनाउन सम्भव हुन्छ । अर्कोतिर कार्यालयको कुर्चीमा बसेर गर्ने कार्य पनि आफैमा निरपेक्ष हुँदैन । पदमा बस्ने वा जिम्मेवारी पाउने व्यक्तिको व्यक्तिगत स्वास्थ्य, समूहप्रतिको भावना, पारिवारिक अवस्था समेतले पनि कार्यसम्पादनलाई प्रभाव पार्दछ । व्यक्तिगत जीवन र कार्यजीवनवीचको सन्तुलन आवश्यक छ । बिहान उठ्नासाथ श्रीमतीसँग ठाकठुक परेको कारण भोकै कार्यालय पुगेको हाकिमले थोरै ढिला गरी कार्यालयको ताल्चा खोल्न आइपुगेको कार्यालय सहयोगीसँग गरेको व्यवहार र त्यो दिनको कार्यसम्पादन तथा बिहान हाँसिखुशी मिलीजुली खाइओरि कार्यालय पुग्दा उत्पन्न हुने असल भाव र काममा आउने अनुकूलताको सजीव तुलना गर्दै व्यक्तिभित्र उत्पन्न हुने विचारहरू र व्यक्ति व्यक्तिबिच देखिने विचार द्वन्द्वात्मक हुने भएता पनि द्वन्द्व व्यवस्थापन गरी सृजनशील ऊर्जामा लगाउने र द्वन्द्व नदोहोरिने अवस्थाको सिर्जना गर्नुपर्ने सुझाव पूर्व प्रशासक लीलामणि पौडेलबाट प्राप्त भयो ।

सार्वजनिक सेवक हुनु नै पनि ठुलो अवसर
पहिलो कुरा त सार्वजनिक सेवामा कार्यरत रही सेवा निवृत्त रहेका र हाल सेवारतसमेतको आँकडा हेर्दा पनि यो सङ्ख्या कूल जनसङ्ख्याको २ प्रतिशतभन्दा बढी हुँदैन । ९८ प्रतिशत जनसङ्ख्याको सरोकारका कामहरू गर्ने यो २ प्रतिशतको काम महत्त्वपूर्ण हो । तसर्थ सार्वजनिक सेवामा रहेर निराश हुने वा अन्य पेसासँग तुलना गरेर तनाव लिने काम कदापि गर्नुहुँदैन । सार्वजनिक सेवामा रहँदा आफू को जस्तो बन्ने वा कस्तो बन्ने भन्ने खालको मानक वा आदर्श अवस्थाको कल्पना गरी सो वाट निर्देशित हुने राम्रो हुन्छ । कसैलाई सूर्यनाथ उपाध्यायजस्तो बन्न मन होला कसैलाई कुलमान घिसिङ कसैलाई सन्दुक रुइत त कसैलाई अनुराधा कोइराला वा बिन्दा हाडा । जुनसुकै कार्यालयमा पनि अप्ठेरो पर्दा वा अभर पर्दा कसलाई सम्झना गरिन्छ ? “यो कुरा त फलानालाई सोधेमा थाह लाग्छ” भन्ने मान्यता नै बसेको हामी पाउँछौँ । यस्तो मान्यता सजिलै तयार हुँदैन लामो प्रयत्न र कामप्रतिको लगावले मात्र यो सम्भव हुन्छ । अगुवाहरूका राम्रा गुण केही मात्र विकसित गर्न सकियो र आफूले गरेको काममा आफू कन्भिन्स भयो भने कार्य प्रभावकारिता बढेर जान्छ नै । काममा हुने सफलताले वृत्ति विकासमा समेत सफलता मिल्दछ ।

कार्यालयमा गरेको काम वा बिताएको समयकै भरमा धेरै अपेक्षा गर्नु पनि राम्रो होइन । भागगत गीता लगायतका हाम्रा धार्मिक ग्रन्थहरूले पनि काम गर्दै जाऊँ तर कामको प्रतिफलप्रति आशक्ति नहोस् भनेका छन् । काम गर्दै जाँदा वा मेहनत गर्दै जाँदा कहिलेकाहीँ भनेकै समयमा प्रतिफल नआउन सक्छ तर यसबाट विचलित भने हुनुहुँदैन । असफलता जीवनकै अनन्य तत्त्व भएको हुँदा लडेर पनि उठ्ने पहल गर्नु आवश्यक छ । हरेस खाने वा आफूलाई कमजोर ठान्ने काम कदापि गर्नुहुँदैन ।

असफलताबाट विचलित हुन र सुधारका लागि सर्त राख्नु हुँदैन
सुधार गर्न वा कुनै राम्रो काम गर्न सर्त राख्नु पनि ठिक होइन । यो यो भएको भए काम गर्थेँ, भने जति बजेट पाइन वा कर्मचारी पाइन त्यसैले प्रगति राम्रो भएन भन्ने जस्ता विषय बहानाका विषय हुन् । आफूले हरदम पहल गरेको र आफ्नो प्रयत्नबाट सम्भव भएको परिणाममा सन्तुष्ट पनि रहने गर्नुपर्दछ । दुर्गममा हुँदा सुगममा भए काम गर्न सक्थे भन्ने, स्थानीय तहमा बस्न नखोज्ने, सुगममा आएपछि दुर्गमको पीडा बिर्सने यी सबै प्रवृत्तिगत त्रुटि हुन् । जसरी एउटा कक्षाकोठामा अध्यापन गर्न आउने शिक्षकको बोली वा हाउभाउ मन नपर्दा पढाएको पनि मन पर्दैन र परीक्षामा अंकपनि कम आउँछ त्यसै गरी आफ्नो काम र कार्यालयलाई मन नपराएसम्म कामको प्रतिफल राम्रो आउँदैन ।

गतिशील ऊर्जा आवश्यक
सुधारक सोच र चिन्तन गर्नेले अरूको कामलाई सह्राना गर्न सक्नुपर्दछ । राम्रो काम गरेको अवस्थामा धन्यवाद दिनु र अरू फोरममा पनि नाम लिनु पनि आफैमा प्रोत्साहन हो । खप्तड स्वामीले बिचार विज्ञानमा बताएजस्तै कसैको बारेमा सुविचार प्रकट हुँदा ऊर्जासमेत प्रवाह हुन्छ । ऊर्जाको योगफलले परिणाम दोब्बर गराउन सघाउँछ ।

प्रयोगमा नआएको विचार वा चिन्तन मात्र सम्भावना हो बगेको खोलाजस्तो। योजना गराउने तर कार्यान्वयनमा जाँगर नदेखाउने प्रवृत्तिले स्थिरता वा प्रतिगमनलाई निम्त्याउँदछ । आफूमा रहेको स्थिर शक्तिलाई गतिशील शक्तिमा बदल्न उपयुक्त वातावरण आवश्यक पर्दछ र मूलतः व्यवहारमा उतार्ने निष्ठा र मेहनत आवश्यक पर्दछ ।

सकारात्मकतामा शक्ति छ
केही समय यता एप्रिसियटिभ इन्क्वायरीको चर्चा बढेको छ । योग वा ध्यान गर्दा आफूभित्रको यात्रा गर्न र सकारात्मक सोचको प्रसार गर्न सहयोगी हुने पनि सुनिएको छ । सकारात्मकताबाट परिवर्तनका लागि ऊर्जा प्राप्त हुन्छ भने नकारात्मकताबाट वाधा उत्पन्न हुन्छ । यो विषयलाई कार्यालयको परिवेशमा र खास गरी नेतृत्वमा रहने व्यक्तिले विशेष ध्यान दिनुपर्दछ । यो सँगै काम गर्ने र काम गर्ने क्रममा व्यक्तिगत वा सामूहिक सिकाई लाई जोड दिने संस्कार आवश्यक छ । विश्व रेकर्ड राख्नेले पनि दौडन छाड्दैन । जीवनभर प्रयत्नरत रही देश र समाजलाई केही न केही योगदान गर्ने शक्ति सकारात्मक सोचमा रहन्छ ।

अनुभव र भोगाइका कुरा
पूर्वप्रशासकहरुको सिकाई ग्रहण गर्न आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छँदा गरेको पहलको प्रसङ्ग उठाउँदै सेवा निवृत्त सचिव मात्र पनि ४०० जनाभन्दा बढी रहेकोले सेवा निवृत्त सचिवहरू र अन्य कर्मचारीको ज्ञान र अनुभवलाई कुनै माध्यमबाट लिनु ठिक हुने बत्ताउनुभयो । छलफलकै क्रममा विभागमा हाल कार्यरत महानिर्देशकले आफू सिराहामा कार्यरत रहँदा तत्कालित मुख्यसचिवबाट पाएको तत्कालको सकारात्मक रेस्पोन्स र एक जना निर्देशकले आफू जाजरकोटमा कार्यरत रहँदा मुख्यसचिवका रूपमा त्यहाँस्थित जिम्मेवार व्यक्तिहरूलाई लामो विफ्रिङ गरेको विषय समेत स्मरण गरिएको थियो । स्रोत व्यक्ति स्वयंले पनि घरेलु उद्योग विभागमा सम्भव भएको सुधार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहँदा सिंहदरवार गेटमा सेवाग्राही प्रवेशका लागि गरिएको प्रबन्ध तथा विधि निर्माणमा गरिएको पहलका सम्बन्धमा छोटकरीमा राख्नुभएको थियो ।

टुङ्गो कुरा
यो लेखमा गरिएको चर्चा काम गरेर उच्च प्रशासनिक पदमा पुगेका, बाग्मती सरसफाइ अभियानदेखि कुशासनका कुँडा कर्कट हटाउने काममा निरन्तर खटेका अनि मन्त्री स्तरको सुविधा रहने चीनका लागि नेपालको राजदूतको अनुभव सँगालेका र गाउँ ठाउँ समाज र आफ्ना अनुयायीहरूलाई खुलेर विचार बाँड्ने एक जना टेस्टेड मानक नै रहेका लीलामणि पौडेलसँगको केही बेरको बसाइँमा आधारित छन् । पौडेल २०४२ देखि निरन्तर हरेक दिन १ घण्टा योग गर्नुहुन्छ । गएको असारमा वहाँको गुल्मीस्थित खेतमा खेतमा धान रोप्दै गरेको दृश्य पनि सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । अहिले पनि वहाँ काममा व्यस्त हुनुहुन्छ । हो गर्नै आफैले हो तर सबै कुरा सबैले जानेको बुझेको हुँदैन । आफूले बुझेको कुरा पनि अभ्यासको रोहमा चेक जाँच गर्ने चाहना स्वभाविकरुपमा रहन्छ । त्यस्तो अपेक्षा पूरा गर्नमा यस लेखमा उल्लेख भएजस्तै अनुभवी र सफल व्यक्तिसँगको सिकाई सहयोगी हुने अपेक्षा यस लेखकले लिएको छ । हामीहरू पनि जीवनोपयोगी मान्यता वा समयले पुष्टि गरेको विगतबाट सिकौँ र व्यवहारमा उतारौँ ।

प्रतिक्रिया दिनुहोस