सम्झौता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सम्झौता


२४ श्रावण २०७७, शनिबार


बि.सं.२०५० को दशक उत्तरार्ध हुँदै थियो । देशमा जनयुद्ध उत्कर्षमा पुग्दो थियो । गाउँ बस्तीमा विकास निर्माणको काम लगभग ठप्प थियो । सञ्चार यातायातको अवस्था दयनीय थियो । अहिले जस्तो हातहातमा मोबाईल र घरघरमा इण्टरनेट त कल्पना सम्म पनि थिएन । सपना जस्तै‚ कुनै दन्त्य कथा जस्तो लाग्थ्यो । मान्छेहरु एक अर्कासँग तर्सेका जस्ता देखिन्थे । एक किसिमको त्राहीमामको अवस्था थियो ।

मंसिरको चिसो महिना भर्खर मात्र विवाह बन्धनमा बाँधिएर मदन प्रफुल्ल थियो । नयाँ जिन्दगीको शुरुवात भएकोले आगामी दिन अर्थात भविष्यको यात्रा अब कसरी गर्ने भन्ने कल्पना मनमा लिएर योजना निर्माण गर्दै कोठामा बसीरहेको थियो । ढोकाको खट्खट् आवाजले उसको तन्द्रा भंग भयो ।

ढोका खोल्यो उसको बुवाले उसलाई चिठी थमाईदिनुभयो । साथीको रहेछ तुरुन्त चिठी खोल्यो जसमा लेखिएको थियो—‘मदन लोक सेवाको परीक्षामा तिम्रो नाम निस्कियो त्यसैले नियुक्ति लिन तुरुन्त आउनु ।’ मदनको खुसीको सिमा रहेन, बुवाआमालाई तुरुन्तै खुस खबरी सुनायो र भर्खर मात्र विवाह गरेकी जीवन संगिनीसँग पनि खुसी बाँड्यो । हर्षले उसका आँखा रसाए ।

घरमा र टोल छिमेकमा समेत कुरा भयो ‘दुलही लक्षिनकी रहिछिन् त्यसैले विवाह गर्नासाथै जागीरमा नाम निस्कियो त्यो पनि सरकारको स्थायी जागिर ।’

भोलि नै नियुक्ति लिनको लागि मदन सहरतिर लाग्यो । सहरमा पुगेपछि साथीहरुबाट बधाइको ओइरो लाग्यो । एउटा त सुखद दाम्पत्य जीवनको सफलताको लागि शुभकामना तथा बधाइ थियो भने अर्को जागिर प्राप्तीको लागि । सम्बन्धित निकायबाट नियुक्ति पत्र बुझेर आयो तथापि अनुहारमा पूर्ववत उज्यालो देखिएन कारण थियो दुर्गम जिल्लामा नियुक्ति त्यो पनि कर्णाली अञ्चलको ।

हाजिर हुन जानु पूर्व विदाईको लागि ऊ फेरि घरमा आयो र घरमा सम्पूर्ण कुरा अवगत गरायो । राती विस्तारामा पल्टियो तथापि निन्द्रा पटक्कै आएन । मनभरी कुरा खेलिरह्यो – कस्तो अप्ठ्यारो पऱ्यो ‘नखाऊँ दिनभरीको शिकार, खाऊँ त कान्छा बाबुको अनुहार’ भर्खर मात्र विहे गरेको छुँ नजाऊँ भने पनि जागिरको कुरा छ । अहिलेको जमानामा यहिँ जाबो मुखिया स्तरको जागिर पाउन पनि कति संघर्ष गर्नु पऱ्यो । छोड्यो भने फेरि पाउन कति संघर्ष गर्नु पर्ला । छोड्यो भने फेरि पाउनु ‘आकासको फल आँखा तरि मर’ भने जस्तै हो । जाऊँ भने पनि घरमा यस्ता वृद्ध बुवाआमा र नवदुलही छोडेर सञ्चार यातायातको समेत सुविधा नभएको त्यती टाढाको ठाऊँमा यति सानो मुखिया स्तरको जागिरको लागि कसरी जानु, त्यो पनि अहिलेको समय परिस्थिति यस्तो छ । बाँचीने हो कि मरिने हो ? फर्केर फेरि परिवार भेट्न पाइने हो कि नपाइने हो ? बाँची नै हालियो भने पनि छिटो छिटो कहाँ आउन पाइन्छ र ? यस्ता वृद्ध बाबुआमालाई लामो समय छोडेर त्यति टाढा अहिलेसम्म गएको छैन । फेरि बिचमा केही तल वितल परिहाल्यो भने न संचार न यातायात नै छ, बेखबर पो भइन्छ त । यता नम्रता पनि त यो नयाँ घर, यो नयाँ परिवेशमा कसरी बस्न सक्छिन् ? उनका पनि चाहना होलान्, यौन आकांक्षा होलान्, जाडोको मौसम नव बधुले एक्लै विताउनु पर्दा पक्कै पनि कष्टदायक त हुन्छ नै, अझ त्यसमा पनि विवाहको केही दिनमै पतिसँग छुट्टिनु पर्दा मानसिक पिडा पनि झनै थपिन्छ । उफ ! कस्तो दोधारमा परियो ।

‘किन चिन्ता लिनुहुन्छ, सुत्नुस् न ! जागिरमा गएर गएको गै त हुने होइन नि, चिठी आदान प्रदान त भैहाल्छ, आखिर नेपाल भित्रै त हो नि, मुग्लान हैन क्यारे ! बुवा आमाको पनि किन पिर लिनु पऱ्यो र म भै हाल्छु नि, तपाईं हुनु र म हुनुमा अब के फरक छ र ? फेरि एक, दुई वर्ष पछि त सरुवा पनि त होला, किन बेकार टाउको दुखाउनु हुन्छ ?’ नम्रताले सम्झाउँदै भन्छिन् ।

‘वास्तवमा महान छौ तिमी, मैले त तिमीलाई पो समस्या हुने भो, दुःख हुने भो’ भनि सोचिरहेको थिएँ, तर धन्य छौ तिमी, कस्तो समझदार छौ कस्तो विशाल छाती छ तिम्रो ।’–

मदनले खुशी प्रकट गर्दै माया गरी अंगालोमा बेर्छ ।

विदाइको बेला आमाले निधारमा रातो टिका लगाइदिनुहुन्छ, बुवाले पनि टिका लगाई आशिर्वाद दिनु हुन्छ, बुवा आमाको आँखा रसाउँछन्, मदनले नम्रताको निधार चुम्छ, नम्रता धुँक्क, धुँक्क गर्दै आँसु पुच्छिन् । मदनको पनि आँखा रसाउँछ र मन भरिएर आउँछ, बुवा आमालाई ढोगेर बाटो लाग्छ ।

नेपालगञ्ज पुगेपछि प्लेनको टिकट लिएर गन्तव्य तिर हानिन्छ । प्लेनको पहिलो पटकको अनुभूति उसलाई रमाइलो लाग्छ । प्लेन अवतरण हुन्छ अनि उ पैदल यात्रा शुरु गर्छ । सदरमुकामबाट १२ कोष टाढा गाउँमा थियो उसको काम गर्ने कार्यालय ।

समय बितेको पत्तै हुँदो रहेनछ । सरुवा हुने आशामा बस्दा बस्दै पाँच वर्ष बित्यो तर पनि सरुवा भएन । कहिले कसलाई सरुवाको लागि भन्छ । कहिले कुन राजनितिक दलको नेतालाई मसार्छ तर कतैबाट पनि काम बनेन । न त आफ्नो राम्रो पहुँच न त पैसा खर्च गरेर सरुवा गर्ने क्षमता । उनीहरु भने बहाना बनाई रहन्छन् – कहिले हाम्रो पार्टिको सरकार गिऱ्यो भन्छन् त कहिले हाम्रो गुटको मन्त्री बन्न देउन अनि जहाँ भन्यो त्यहीँ गरौँला आदि आदि ।

धेरै टाढा भएकोले प्रत्येक वर्ष दशैँ विदामा मात्र घरमा आउँछ मदन । छिटो छिटो आउन त मन लाग्छ तर विवशता उहीँ हो । एक त बिचमा लामो विदा पाउनै गाह्रो । पाइहाले पनि त्यहीँ सानो जागिर एक पटक ओहोर दोहोर गर्न एक महिनाको तलबले पनि भ्याउँदैन । अनि केही आम्दानी होला की भनेर त्यस्तो दुःख कष्ट भोगेर दुर्गममा बसेको कमाई आउने जाने भाडामा नै खर्च पनि कसरी गर्नु, विवशताको आँशु पिएर बस्न बाध्य हुन्छ ।

घरको अप्ठेरो सप्ठेरोमा त मदनको बाल्यकालदेखिको साथी विमल जुन हाल गाउँमै शिक्षण गरिरहेको थियो, उसले सघाउँथ्यो । हेरविचार गर्थ्यो । बुवा आमाको हेरविचार पनि नम्रताले कुनै कसर बाँकी नराखी गरिरहेकी थिइन् । बुवा आमाले भन्नुहुन्थ्यो – ‘हाम्रो त वास्तवमा दुईवटा छोरा रहेछन्, एउटा छोरा मदन टाढा भएपनि नम्रताले छोराको अभाव बिर्साइदिन्छिन् ।’ तर मदनलाई एउटै कुराले सताइरहन्थ्यो, पीडा दिइरहन्थ्यो त्यो हो नम्रताको माया । उ नम्रतालाई यति माया गर्थ्यो कि आफूले भोग्नु परेको व्यथा, पीडा नगन्य र तुच्छ लाग्थ्यो । तर नम्रताको चाहाना पुरा गर्न नसकेकोमा उ पीडित हुन्थ्यो । उसलाई छटपटी र एक किसिमको ग्लानी हुन्थ्यो । उ बुझ्थ्यो एउटी युवतीको यौन कुण्ठा कति पीडादायक हुन्छ ? उसले पढेको थियो र कति घटना त प्रत्यक्ष देखेको थियो यौन कुन्ठाले विक्षिप्त भएका नारीहरु र उसलाई यो पनि थाहा थियो कि नम्रता कति पतिव्रता छन् ? उसले सती सावित्रीसँग तुलना गर्थ्यो नम्रतालाई । ‘भोकमा पाईन कनको रोटी बैंशमा पाइन पोई’ भन्ने उखान त्यसै बनेको होइन । वास्तवमा जुन वस्तु आफूसँग हुन्छ, त्यसको महत्व कम हुन्छ, तर जुन वस्तु दुर्लभ छ त्यो बहुमुल्य हुन्छ । तसर्थ नम्रताको लागि पनि यौन आनन्द बहुमुल्य हुन सक्छ । जुन प्रायः दुर्लभ छ अर्थात् आफ्नो इच्छाअनुसार उपभोग गर्न सकिरहेकी छैनन् ।

हामी त केटा मान्छे बाहिर तिर डुल्ने घुम्ने हाँस्ने रमाउने गर्छौं र समाजले पनि केही हदसम्म आँखा चिम्लिदिन्छ तर नम्रता त घरको चार दिवार छोडेर बाहिर निस्कन पाउँदिनन्, । अरुसँग हाँस्न, बोल्न, ठट्टा गर्न पनि कडा सामाजिक प्रतिबन्ध रहेको छ भने उनलाई कति मानसिक पीडा भइरहन्छ होला ? पतिसँगै बसुँला, दुःख सुख बाँडौंला भन्दा भन्दै जवानी यसै बित्न लागि सक्यो अझै कति प्रतीक्षा गरेर यौवन खेर फाल्ने ? तर मदन विवश थियो न त आफूसँगै लैजान सक्थ्यो न त जागिर नै छा्ड्न सक्थ्यो ? आफूसँगै लैजाओस् भने पनि त्यो विकट दुर्गम गाउँ जहाँ न त पर्याप्त खाद्यान्न पाइन्थ्यो । मुस्किलले पाइए पनि महंगिले किनि नसक्नु थियो । त्यस्तो अवस्थामा नम्रतालाई लगेर आफ्नो तलबले थेग्न पनि गाह्रो थियो भने यता वृद्ध माता पितालाई एक्लै छोडी जान पनि सम्भव थिएन र लोकलाजले पनि दिँदैनथ्यो ।

त्यसैले त नम्रतालाई हरेक दशैँमा सम्झाउँथ्यो – ‘धैर्यगर म यतै सरुवा मिलाउँछु, ‘‘कसला काटे मसला खान पाइन्छ’’ भन्छन् त्यसैले केही समय अझै सहेर बस, कसला काट, त्यसपछि त सँगै बसौंला अनि सुःखद दाम्पत्य जीवन बिताउँला । ‘केही पाउन केही गुमाउनु पर्छ’ भन्छन् तसर्थ धैर्य गरेर पर्खि बस, ‘दुवै हातमा लड्डु कहाँ पाइन्छ र ? ’ चिची पनि पापा पनि भनेर कहाँ हुन्छ र ?’

तर धेरै वर्षको प्रतीक्षामा पनि सरुवा भएन, जागिरबाट न त उल्लेखनीय आम्दानी भयो न त पारिवारिक माया ममता आनन्द र सन्तोष नै त्यसैले मदनले जागिरे वातावरण र आफ्नो जीवनको परिवेशबाट आक्रोशित भएर राजीनामा दिई गाउँ फर्कन्छ तर सँगै अर्को योजना पनि बनाएर । त्यो हो भएको गाउँको एउटा खेत बेचेर विदेश जाने । उसको मनमा विदेशी मोहले जरा गाड्यो । सोच्यो –‘यो जागीरले केही उन्नती भएन, अब नेपालमा बसेर दुःख गरेर पनि केही हुने वाला छैन । तसर्थ विदेश गएर दुई चार वर्ष अझै कष्ट गरें भने त त्यस पछिको भविष्य उज्जवल हुनेछ । आखिर दुई, चार वर्ष दुःख गरेर भविष्य सुखद हुन्छ भने किन दुःख नगर्ने ?

नम्रताले रुदै भनिन्–‘यत्रो वर्ष त मेरो जवानी खेर गयो, अझै फेरि यो यौवन यसै सुकाएर बस्न सक्तिन । जानु पर्दैन विदेश । बरु यहीँ भएको आफ्नो जग्गामा दश नंग्रा खियाएर खाउँला । अझै विछोडिएर बस्नु भन्दा त सँगै बसेर बरु एक छाक खाएर बस्न पनि तयार छुँ ।’

मदनले सम्झाउँदै भन्छ –‘आखिर मलाई पनि विदेशीने रहर त छैन तर के गर्ने बाध्यता नै यस्तै छ । यत्रो वर्ष त सहन गऱ्यौं । अब त दुई, तीन वर्ष त हो नि । मलाई पनि तिमीसँग बस्ने रहर नभएको कहाँ हो र ? मेरा पनि यौन चाहना हुन्छन् । जवानीमा आफ्नो पत्नीसँग न्यानो अँगालोमा बाँधिनु, हाँसखेल गर्नु कसलाई रहर हुँदैन ? तर यसो भन्दैमा कसरी जीवन चल्छ र ? नेपालको जागिर यस्तो भयो । न त आम्दानी हुने न त सरुवाको लागि आफ्नो सोर्सफोर्स पुग्ने । न त पैसा नै खर्च गर्न सकिने ? कि त टन्न पुर्ख्यौली सम्पत्ती हुनु पऱ्यो त्यो पनि छैन । अनि त कसरी चल्छ जीवन तिमी आफै भन त ? तिमी जस्तो बुझ्ने मान्छेलाई म कसरी सम्झाउँ ?

विमल मदनको बाल्यकालदेखि कै एकदम मिल्ने साथी थियो । दुःख सुखमा साथ दिने र आइ पर्दा एक अर्काको लागि ज्यान दिने साथी थिए उनीहरु ।

‘विमल आज तिमीलाई एकदम महत्वपूर्ण र गोप्य कुरा भन्छु हुन्न नभन है’–मदन अलि उदास र गम्भिर भएर भन्छ ।

‘पहिले के कुरा हो त्यो त भन अनि मात्र हुने भए हुन्छ भन्छु, आखीर त्यस्तो के कुरा छ ? जुन तिमीले भन्दा मैले नमानुँ ?’

‘पहिले वाचा गर अनि मात्र भन्छु ।’

‘हैन के भयो आज तिमीलाई, यति सिरीयस किन ? के पऱ्यो त्यस्तो मलाई पनि बाचा गराउनु पर्ने ?’

‘ठट्टा हैन विमल, साँच्चै सिरियस कुरा छ वाचा गर ।’

‘ल बाबा बाचा भयो । जे भन्छौ मान्छु । तिम्रो लागि ज्यान समेत दिन तयार छुँ भने त्यो भन्दा बढि के माग्छौ होला र ?’

मदनको खुट्टा कापिरहेको छ । आँखामा आँशु भरिएको छ । उसको मुख खुल्न सकिरहेको छैन । विमललाई अनौठो लाग्छ । मदनको यस्तो अवस्था विमलले कहिले देखेको थिएन, त्यसैले विमल पनि गम्भीर बन्छ र मदनलाई आफ्नो समस्या भन्न कर गर्छ ।

मदनले विमलको मुखमा हेर्न सक्दैन र अर्का पट्टी फर्किएर भन्छ –‘मलाई माफ गर विमल, म तिमीसँग तिम्रो ज्यान भन्दा पनि ठूलो कुरा माग्दै छु । त्यो हो तिम्रो पुरुषत्व अर्थात् मेरो तीन वर्षको अनुपस्थितिमा तिमीले नम्रतालाई मैले दिनु पर्ने कुरा दिनु पर्नेछ । उनको यौन तृष्णा मेटाइदिनु पर्नेछ…।

वाक्य पुरा नहुँदै विमलले मदनको गाला चड्काउँदै भन्छ –‘तिमीले के सम्झेका मलाई ? मैले यत्रो वर्ष तिम्रो लागि जे गरें त्यसको यही उपहार हो मलाई ? म माथि यत्रो शंका ? तिमीलाई मेरो विश्वास छैन । कसरी यस्तो भन्ने हिम्मत गऱ्यौं ?’

‘हो विमल मैले मेरो दुस्साहास स्वीकार्छु । तर म बाध्य छु । तिमीलाई अविश्वास हैन विश्वास गरेर नै यति भन्ने आँट गरे । तिमीले यदि मलाई सच्चा आत्माले साथी भन्छौ भने यो कुरा पनि मान्नै पर्छ ।’

वातावरण एकदमै निस्तब्ध हुन्छ, मौन हुन्छ ।

धेरैबेरको मौनतालाई चिर्दै विमलले भन्छ –‘तिमीले भन्छौ र तिम्रो भलो हुन्छ भने ठिक छ म स्वीकार्न तयार छु । तर कसरी सम्भव हुन्छ ? नम्रताले कसरी स्वीकार्न सक्छिन् ?’

मदन एक्कासी खुसी हुँदै विमललाई अंगालो मार्दै भन्छ –‘कति धन्य छौ विमल, साथीको अनुपम आदर्श हौ तिमी । नम्रतालाई मनाउने जिम्मा मेरो भयो ।’

कोठा अँध्यारो छ । पलङमा मदन र नम्रतासँगै सुतेका छन् । मदनले नम्रताको कपाल मुसारिरहेको छ । नम्रता पनि मदनको न्यानो अंगालोमा लठ्ठीएकी छन् तर मदनलाई भने चैन छैन । ऊ नम्रतालाई भन्न खोजेको कुरा भन्न सकिरहेको छैन । कसरी कुरा खोल्ने यसैमा सोचमग्न छ ।

लामो स्वास तान्दै विस्तारै कुरा निकाल्छ–‘नम्रता तिमी मलाई कति माया गर्छ्यौ हगि ! कस्तो पवित्र छ तिम्रो आत्मा । तिमी जस्ती पत्नी पाउनु मेरो अहो भाग्य हो । तर मैले तिमीलाई कुनै सुख दिन सकिन । तिम्रा आवश्यकता पुरा गर्न सकिन…।’

‘हैन के भन्न यस्तो फुर्काउनु पऱ्यो मलाई, खुरुक्क भने भै हाल्यो नि ।’

‘साँच्चै नम्रता तिमी रिसाउन्नौं ? नरिसाउने भए मात्र भन्छु ।’

‘के त्यस्तो कुरा हो जुन भन्न तपाईँलाई यति गाह्रो परिरहेको छ ? तपाईँले भनेको कुरा मैले कहिले मानेकी छैन ? तपाईँको कुरामा म कहिले रिसाएकी छु ?’

‘हो नम्रता मेरो कुरामा तिमी कहिले रिसाएकी छैनौ र अस्वीकार पनि गरेकी छैनौं । त्यसैले त म पनि तिम्रो अलिकति पनि दुःख देख्न चाहन्न । तिम्रै सुखकै लागि नै यो कुरा भन्न लागिरहेको छु । आाशा छ अस्वीकार गर्ने छैनौ । त्यो के भने अहिले सम्म त मैले तिम्रा यौन चाहनाहरु आंशिक रुपमा मात्र पुरा गरेको छु । तर अब तीन वर्षको लागि विदेशीए पछि त त्यो अधुरो नै रहन्छ । त्यसैले तिम्रो जवानीलाई त्यसै ओइलिएर जान नदिन तिम्रो लागि एउटा साथी खोजेको छु । जसले मेरो अभाव मेटाइदिने छ…।

बिचमै रोकेर रिसाएको भावमा भन्छिन् –‘भो भो अति भयो यो त, अब केही भन्नु पर्दैन । नारी अस्मिता के बिकाऊ बजारिया वस्तु हो जसलाई पुरुषले जुन बेला जसलाई चाह्यो दिन सक्ने ? म पतिव्रता भएर अहिलेसम्म बसेको पुरस्कार के यही हो ? तपाईं के सम्झनुहुन्छ के म यौन सम्पर्क विना बाँच्नै सक्दिन ? समाजले पनि के भन्ला अलिकति विचार गर्नु पर्दैन ?’

‘नम्रता अलिकति बुझ्ने कोशिस गर न, मैले तिमीलाई त्यस्तो कहाँ भनेको छु र ? तिमी पतिव्रता सावित्री हौ भन्ने कुरामा विश्वास भएर नै मैले यस्तो योजना बनाएको हुँ । मलाई थाहा छ तिम्रो यो पतिव्रता एउटा नैतिकता हो । आर्दश हो तर वास्तविकता के हो भने यौन असन्तुष्टिले अर्थात् अतृप्त यौन चाहनाले गर्दा मानसिक उत्पीडन हुन्छ जसले गर्दा अनेकौँ शारीरिक रोगहरु समेत सृजना हुन्छन् । मानसिक विक्षिप्तपन सृजना हुन्छ । जसले गर्दा एउटा आदर्श परिवार नै भताभुंग हुन्छ । यस्तै कति उदाहरण छन् श्रीमान् विदेशीएको बेला परपुरुषसँग लुकिछिपि असुरक्षित तरिकाले यौन सम्पर्क राख्दा गर्भ बोकेर अवैध गर्भको हत्या गरेका । त्यस्तो सामाजिक डरले गर्दा गर्भवतीकै हत्या गरेका । अनेक भाँति यौन रोग लागेर जीवन वर्वाद गरेका जसले गर्दा कति आदर्श घरहरु उजाडिएका छन् । कति लालाबाला अलपत्र परेका छन् । कति सामाजिक विश्रृङ्खलताहरु सिर्जना भएका छन् । यो पो त सामाजिक विकृती हो र यसको जिम्मेवार पनि यही समाज हो । यसैका नियम कानुन हुन् जसले यौनलाई अपराधको रुपमा मानेको छ । यदि यौनलाई सहजरुपमा लिने र खाना, पानी जस्तै स्वभाविक मानवीय आवश्यकताको रुपमा लिने हो भने यावत विकृतिहरुको अन्त्य हुनेछ । समाजमा बलात्कार, हत्या, आत्महत्या जस्ता घटनामा कमी आउने छन् र एउटा आदर्श समाजको निर्माण हुनेछ । मलाई थाहा छ तिम्रो दृढता, तिम्रो संकल्प, कैयौ वर्षसम्म पनि यौन चाहना दबाएर मेरो प्रतीक्षा गर्न सक्छ्यौ र यौन नै बाँच्नको लागि नभई नहुने कुरा होइन तर यौन पनि केही कुरा अवश्य हो । जसले बाँच्नलाई सहजता प्रदान गर्छ । त्यसैले त मनोविज्ञानले हरेक मानवीय स्वभाव र क्रियाकलाप सँग यौनलाई जोडिदिएको छ । यौनलाई अपराध मान्ने वा आधारभूत आवश्यकता मान्ने यो त आ–आफ्नो सोचाइमा, आ–आफ्नो दर्शनमा भर पर्ने कुरा हो । अतः मेरो अनुपस्थितिमा तिमीले यौन तृष्णा मेटाउँदा विग्रने कुरा केही छैन र यौन चाहनालाई दबाई राख्दा बिग्रने धेरै कुरा छ । विविध मानसिक, शारीरिक समस्याको जन्म हुन्छ भने यो प्रस्ताव किन नस्वीकार्ने ? तसर्थ तिमीले यो प्रस्ताव स्वीकार्नु पर्छ जसले न तिमीलाई न त मलाई नै हानी छ । बरु दुवैलाई फाइदा छ र सन्तोष प्राप्त हुन्छ ।’

यस्तै यावत् प्रसंग उल्लेख गर्दै रातभरको प्रयास पछि मदनले नम्रतालाई सहमत बनाउँछ ।

आज मदनको जाने दिन त्यसैले विदाईको लागि विमल पनि आएको छ । मदन, विमल र नम्रताको बिचमा धेरै बेर बातचित हुन्छ । मदनले भन्छ –‘यी क्रियाकलाप एकदम गोप्य हुनु पर्नेछ । ताकी समाजले चाल पाउन नसकोस् । यदि समाजले चाल पाएमा तिम्रो र मेरो घर भताभुंग हुने, धेरैको जीवन वर्वाद हुने छ । यो पनि बाचा गर कि तिमीहरु दुईमा कहिले पनि मनमुटाब हुने छैन ।’

विमल र नम्रता दुवै सहमत हुन्छन् र एउटा त्रिपक्षीय सम्झौता हुन्छ । सम्झौता कार्यान्वयनको प्रारम्भिक अवस्थामा मदनले आफ्नै अगाडी विमल र नम्रतालाई अंगालोमा बाँधिएर एक आपसमा चुम्बन गर्न लगाउँछ । उनीहरु त्यसै गर्छन्, मदन एकदम हर्षित भई दुवैलाई अंगालेर सहस्र चुम्बन गर्छ र विदेश यात्रामा निस्कन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस