कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुग्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुग्यो


प्रशासन संवाददाता

२३ श्रावण २०७७, शुक्रबार


काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । गत २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा मृत्यु भएको हो । उनी मधुमेह तथा उच्च रक्तचापका बिरामी थिए । उनलाई साउन १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी मृतकमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुषको साउन २० गते घरमै मुत्यु भएको हो । उनको साउन २१ गते नारायणी अस्पतालको प्रयोगशालामा स्वाब संकलन गर्दा साउन २२ गते कोरोना पुष्टि भएको थियो ।

सिरहा जिल्ला गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए । उनी डायलसिस गराउँदै आइरहेका थिए । उनमा साउन २१ गते कोरोना पुष्टि भएको थियो ।

मृतकमा सर्लाही जिल्ला बसन्तपुरका ४५ वर्षीय पुरुषको साउन २३ गते उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । गत साउन १९ गते कुकुरले टोकेर अस्पतालमा भर्ना भएका उनलाई रेबिजको शंका गरिएको थियो । उनको स्वाब संकलन गर्दा शुक्रबार कोरोना पुष्टि भएको थियो । साथै पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्प्तालमा मृत्यु भएको हो । उनी मधुमेह, उच्च रक्तचाप तथा मुटुका बिरमी थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको साउन २२ गते कोरोना पुष्टि भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस