सरकारले तत्काल लकडाउन गर्दैन : प्रवक्ता डा. खतिवडा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारले तत्काल लकडाउन गर्दैन : प्रवक्ता डा. खतिवडा


प्रशासन संवाददाता

२२ श्रावण २०७७, बिहिबार


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता डा . युवराज खतिवडाले तत्काल लकडाउन नहुने बताएका छन्।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उनले सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारे।

उनले संक्रमणको जोखिम हेरेर ठाउँ–ठाउँमा लकडाउन गर्न सकिने भन्दै चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने बताए । ‘अहिले पनि दुई दर्जन बढी स्थानीय तहहरूमा लकडाउन गरिएको छ । संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्नसक्छ तर पहिले जस्तो देशभर लकडाउन गर्ने कुरा तत्काल छैन,’ उनले भने ।

त्यस्तै मन्त्री डा. खतिवडाले लामो दुरीका यातायात र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु, विद्यालय खुल्ने अवस्था बनिनसकेको बताए । सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेपनि अर्थमन्त्री खतिवडाले पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबारे पुनर्विचार गर्न सकिने बताए ।

सरकारले कोरोना संक्रमणको जोखिम फेरि बढेको भन्दै उपत्यकामा बिहीबाटदेखि अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर-बिजोर प्रणाली लागू गरेको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयले समेत यसैगरी कोरोना संक्रमित बढ्ने हो भने अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीले समेत धान्न नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस