अबको राजसंस्था निरकुश होइन अभिभावकीय मात्र : कमल थापा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अबको राजसंस्था निरकुश होइन अभिभावकीय मात्र : कमल थापा


प्रशासन संवाददाता

२२ श्रावण २०७७, बिहिबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको स्वतन्त्र अस्तित्व रक्षाको निमित्त राजा सहितको प्रजातन्त्र नै उत्तम राज्य व्यवस्था प्रणाली हुने दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले राप्रपा निरकुंश राजसंस्थाको पक्षमा नभई चुनाव र पार्टीभन्दा माथि उठेको साझा संस्थाको रूपमा अभिभावकिय भूमिका रहने गरी राजा सहितको प्रजातन्त्रको पक्षमा रहेको बताए ।

शासन जनताले गर्ने राजसंस्था एकताको सूत्रको रूपमा अभिभावक मात्र हुने थापाको कथन थियो । ९४ प्रतिशत जनताको आस्था, विश्वास र पहिचानलाई लत्त्याएर मुलुकले प्रगति गर्न नसक्ने भन्दै थापाले हिन्दु राष्ट्रको पहिचान जोगाउनु पर्नेमा जोड दिए । एकताबाट राप्रपा मुलुकको बलियो शक्ति बनेको चर्चा गर्दै थापाले अब बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भयो भन्ने सन्देश जनताको घरदैलोमा पुर्‍याउनु पर्ने आवश्यकता औँल्याए ।

उनले थपे ‘एक भएको राप्रपा अब कसैले चाहेर फुट्दैन, हामी बलियो र अग्रणी शक्ति बन्यौ, अब जनतामा जान ढिला नगरौँ’। कार्यक्रममा महिला सङ्गठनका अध्यक्ष कुन्ती कुमारी शाही, उद्धव पौडेल, निना भेटवाल, सुनिता कुरुम्बाङ्ग, नानु नगरकोटी, राजाराम बर्तौला लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस