स्टेम शिक्षा र नेपालमा यसको सान्दर्भिकता « प्रशासन
Logo ८ कार्तिक २०७८, सोमबार
   

स्टेम शिक्षा र नेपालमा यसको सान्दर्भिकता


१९ श्रावण २०७७, सोमबार


१. परिचयः
स्टेम शिक्षा विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित विषयका आधारभुत अवधारणाहरुलाई एकिकृत गरी कार्यान्वयनमा ल्याईएको बहुआयामिक ढाँचा हो ।अबको समयको श्रम बजारको आवश्यकता लाई सम्बोधन गर्न स्टेम शिक्षाले एक्काइसौ शताब्दीका सक्षमता जस्तै सुचना साक्षरता (दक्षता पुर्ण र प्रभावकारी तरिकाले सुचनाको आलोचनात्मक ढंगले मुल्याङ्कन गर्ने क्षमता ), प्रविधिजन्य साक्षरता (ज्ञानमा आधारित समाजमा प्रावधिक सीप मात्र नभई डिजिटल प्रविधिको उचित प्रयोगको क्षमता) र सुचना तथा सञ्चार प्रुविधि सम्बन्धी साक्षरता (प्रविधिको बारेमा स्पष्ट वुझाई, प्रयोग र मुल्याङ्कन क्षमताका साथै निश्चित समस्याहरु समाधानमा यसको प्रयोगको क्षमता ) हासिल गर्न जोड दिन्छ ।

विश्वको अभ्यास हेर्दा स्टेम शिक्षालाई केही मुलुकमा एकल विधाको रुपमा त केही मुलुकमा एकिकृत ढाँचामा कार्यान्वयनमा ल्याएको पाईन्छ । अमेरिकामा सन २००१ मा अमेरिकन नेश्नल साईन्स फाउन्डेशनमा कार्यरत वैज्ञानिक प्रशासकहरुले स्टेम को शुरुवात गरेको थिए । शुरुमा स्मेट (विज्ञान गणित इन्जिनियरिङ् र प्रविधि) रुपमा रहेको अवधारणालाई अमेरिकी जीबशास्त्री जुडिथ रमाले र फाउन्डेशनमा कार्यरत प्रशासकहरुले स्टेम को रुपमा समायोजन गरेका थिए । त्यसपछि क्रमश अष्टेलिया, चिन, दक्षिण कोरीया, वेलायत लगायतका मुलुकमा यो अबधारणा फैलिएको पाइन्छ । गुणस्तरीय शिक्षाको माध्यमबाट आफ्नो मुलुकका साथै विश्वपरिवेशमा आवश्यक पेशागत सक्षमता, कार्यदक्षता, प्राविधिक सीप, अन्वेषणात्मक सीप र डिजिटल सीपयुक्त मानव स्रोतको विकासका लागि विद्यालयको आधारभुत तहदेखि उच्च शिक्षामा यस प्रकृतिको शिक्षालाई कार्यान्वयनमा ल्याएको पाईन्छ ।

२. स्टेम शिक्षाका लागि विकसित विश्वपरिवेशः
क) एक्काइशौ शताब्दीको रोजगार बजारले नयाँ खालका सीपयुक्त जनशक्तिको माग गर्यो विशेषगरी प्रविधिजन्य सीपहरु । श्रम वजारका करिब ७० प्रतिसत रोजगारीले आधारभुत प्राविधिक तथा प्रविधि सम्बन्धी सीपहरुको माग गर्ने गरेको ।
ख) एक्काइशौ शताब्दीका लागि बहुआयामिक, स्थानान्तरण योग्य र माथिल्लो तहको सीप तथा व्यवहारहरुको संयोजन गर्ने सक्ने गुणहरु भएका सीपहरुको समुह अनिवार्य बने ।
ग) विश्वव्यापी रुपमा सीप युक्त जनशक्तिको बजारको माग र आपुर्तिका विचमा तालमेल देखिएन (अमेरिका र वेलायत जस्ता मुलुकमा पनि योग्यता भएका व्यक्ति रोजगार विहिन तर बजारले खोजेको जनशक्ति नपाउने समस्या)
घ) निम्म आय भएका अफ्रिका र एसियाका मुलुकहरुमा रहेको श्रम बजारको खाडल परिपुर्तिमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको दायरा वढन सकेन।
ङ) अन्तरार्ष्ट्रिय मुद्रा कोषले सन २०१७ गरेको अध्ययनले अफ्रिका र एसियामा ५लाख वैज्ञानिक र इन्जिनियरको अभाव देखायो भने त्यहा ८० प्रतिसत विद्यार्थी समाज विज्ञान र मानविकी कोर्षमा भर्ना भएको तथ्य सार्वजनिक गर्यो ।
च) भुमण्डलिकरण र सञ्चार तथा सुचना प्रविधिका क्षेत्रमा भएको विकासले समाजिक रुपान्तरण उच्च देखियो भने आर्थिक रुपान्तरणका लागि दबाव बढदै गयो ।
छ) सन २०३० सम्म हासिल गर्नुपर्ने विश्वव्यापी साझा दिगो विकास लक्ष्यमा शिक्षालाई महत्वपुर्ण अवयवका रुपमा स्वीकार्दै दिगो विकासको लागि शिक्षाको रणनीति आवश्यक बन्यो ।

३. स्टेम शिक्षाको औचित्यः
माथी उल्लेखित विश्व परिवेशमा स्टेम शिक्षालाई रामवाण (पानसिया) का रुपमा ग्रहण गरियो । विश्वका सबल र सक्षम मुलुकहरु स्टेम पारिस्थितिक प्रणाली (इकोसिष्टम) मा केन्द्रित भएको वर्तमान अवस्था छ ।स्टेम शिक्षामा विकास मानसिकता (ग्रोथ माइन्ड सेट) लाई सर्वाधिक महत्व दिईन्छ ।विकास मानसिकताले सिकारुलाई चुनौति अँगाल्न अभ्यस्त बनाउछ, प्रयासहरू महारत हासिल गर्ने बाटो हो भन्ने विश्वास दिलाउछ, अन्यको सफलतालाई प्रेरणाको रूपमा हेर्दछ, असफलता अस्थायी हो भन्ने विश्वास गर्दछ, बौद्धिक क्षमता र प्रतिभा विकास गर्न सकिन्छ भनी विश्वास गर्दछ र असफलतालाई एक अवसरको रूपमा हेर्दछ ।

स्टेम पारिस्थितिक प्रणालिका बारेमा परिचित हुन विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित विचको अन्तरसम्बन्धलाई केही सरल भनाईहरुबाट हेरौ । ‘गणित विज्ञानहरुको चापी र ढोका दुबै हो’ ग्यालिलियो ग्यालीली, ‘आजको विज्ञान भोलीको प्रविधि हो’ इडवार्ड टेलर र ‘विज्ञान जान्नु सँग सम्बन्धित हुन्छ भने इन्जिनियरिङ् गराई सँग’ हेनरी पेट्रोस्की यि भनाईहरुबाट विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणितका विषयका बिचमा गहिरो अन्तरसम्बन्ध, अन्तरआवद्धता, अन्तरनिर्भरता र अन्योनआश्रित सम्बन्ध छ जुन स्टेम शिक्षाले उजागर गरेको पक्ष हो । यसले विषयवस्तुलाई बहु दृष्टिकोणबाट हेर्ने र एउटा विषयवस्तुमा विभिन्न विषयको ज्ञानलाई एकिकृत सहसम्बन्धमा माध्यमबाट प्रष्टाउन सहयोग गर्दछ ।
प्रयोजनवादी दर्शनसँग नजिक देखिने स्टेम शिक्षाले विद्यार्थीलाई चुनौतिको सामना गर्न अभिप्रेरित गर्दछ । सुरक्षित र संकल्पित सोचको विकासका लागि प्रतिवद्ध वनाउछ । प्रविधिका क्षेत्रमा भविष्यमा हुने अन्वेषणका लागि तयारी गराउछ ।

सिकाईलाई आफ्नो परिवेशमा समायोजन गर्ने मौलिक क्षमताको विकासलाई महत्व दिन्छ ।समुह कार्य, सहयोग र सञ्चार सीपको विकासलाई महत्व दिन्छ । प्रेम पुर्ण र पुर्ण प्रक्रियामा सिकाईलाई प्रेरित गर्दछ । प्रयोगात्मक कार्य र प्रविधिको प्रयोगका लागि अभिप्रेरित गर्दछ । विषयवस्तुको वृहत्तर बुझाईका लागि अन्तरसम्बन्धका क्षेत्रको पहिचान गर्नुका साथै अन्तरनिर्भरतालाई प्रष्टाउदै स्थानान्तरणमा जोड दिन्छ । सिकाईमा बहु इन्द्रियहरुको प्रयोगको वातावरण सृजना गर्दछ जसले विद्यार्थीमा समस्या समाधान सीपको बृद्धि गर्दछ । ज्ञानको प्रयोग क्षमताको विकास गर्छ ।सृजनशिलता र अन्वेषण क्षमतामा वृद्धि गर्छ र अन्तमा सिकाई खोज र मोज दुवै हो भन्ने मान्यतालाई स्थापित गर्दछ ।

४. राष्ट्रिय परिवेशः
नेपालमा सन २०१७ मा स्टेम फाउन्डेशन नेपाल नामक संस्था स्थापना गरी नेपालका विद्यार्थीहरुलाई विज्ञान र प्रविधिका क्षेत्रमा विश्वका विभिन्न मुलुकमा आयोजना हुने अन्तरार्ष्ट्रिय ओलम्पियाड लगायतका प्रतिष्पर्धी फोरमहरुमा सहभागि गराउने लक्ष्य सहित यो अवधारणाको शुरुवात गरेको पाईन्छ भने काठमाण्डौ विश्वविद्यालयले सन २०१८ देखि स्टेम पाठ्यक्रमको विकास गरी एम. फिल. तहमा यो विषय अध्यापन गराईरहेको छ ।नेपालमा स्टेम शिक्षाको सन्दर्भलाई निम्नानुसार उल्लेख गरिएको छ ।
क) नेपालको विद्यालय तथा विश्वविद्यालय शिक्षाको आन्तरिक तथा बाह्य सक्षमता र लागत प्रभावकारीता अत्यन्त कमजोर रहेको प्रतिवेदनहरु सार्वजनिक भएको ।
ख) समृद्धि सुचकाङ्क २०१९ मा राखिएको सशक्त नागरिक (इम्पावर्ड पिपल) सुचकमा विश्वका १६७ मुलुकहरु संगको तुलनामा नेपाल १२४ स्थानमा र सशक्त नागरिक अन्तर्गतको सुचक शिक्षामा ११९ औ स्थानमा सुचिकृत हुनुले शिक्षाको कमजोर अबस्थालाई थप उजागर गरेको छ ।
ग) स्वदेशमै गुणस्तरीय उच्च शिक्षाका प्रयाप्त अवसरको अभावका कारण विद्यालय शिक्षा हासिल गरेका (कक्षा १२) ए ग्रेडका विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेश पलायन हुने उच्च शिक्षा प्राप्ति पछि अवसरको अभावमा देश नफर्कने गरेको तथ्य ।
घ) विद्यालय शिक्षा गुणस्तरीय र विश्वविद्यालय शिक्षा अनुसन्धानमा आधारित नहुदा शिक्षा प्रदायक संस्थाहरु बेरोजगार उत्पादन गर्ने केन्द्रको रुपमा चित्रित भएको ।
ङ) माथिल्लो शैक्षिक योग्यता हासिल गरेकाहरुमा पनि न्युनतम पेशागत सक्षमताको अभावमा बेरोजगार हुदा जीवनको उर्वराशिल समय र स्रोतको लगानी वालुवामा पानी सावित भएको ।
च) एकातर्फ उच्च शिक्षा हासिल गरेका योग्यताका प्रमाणपत्र लिएकाहरु बेरोजगार रहनु पर्ने स्थीती छ भने अर्को तर्फ देशका लागि चाहिने सबै तहको जनशक्तिका लागि अन्य मुलुकमा आश्रीत हुन परेको वर्तमान अवस्था ।
छ) प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थी २३ प्रतिसत मात्रै भएको, युवाहरुमा सीप र तालिमको अभावका कारण वैदेशिक रोजगारीमा जानेहरु २४ प्रतिसत अर्धदक्ष र ७४.५ प्रतिसत अदक्ष कामदारका रुपमा संलग्न भएको ।
ज) नेपालमा गुणस्तरीय शिक्षाको मानक र मापदण्ड बनेर कार्यान्वयनमा त आएको छैन तर नतिजालाई गुणस्तर मुल्याङ्कनको एउटा महत्वपुर्ण आधारका रुपमा लिएर माध्यमिक शिक्षा परीक्षा २०७५ को नतिजालाई एउटा दृष्टान्तका रुपमा हेर्दा,
१. शैक्षिक सत्र २०७५ को माध्यमिक शिक्षा परीक्षामा नियमित परीक्षार्थीको रुपमा ४,५९,२७५ जना सम्मिलित भएकोमा ३.६ देखि ४.० जिपिए ल्याउने विद्यार्थी १७,५८० जनामात्र भए । यो कुल परीक्षार्थीको ३.८३ प्रतिसत मात्र हो ।
२. अनिवार्य गणित विषयमा जम्मा परीक्षार्थी मध्ये १०५९३ जनाले मात्र ३.६ देखि ४.० जिपिए ल्याएको पाईन्छ ।यो प्रतिसत कुल विद्यार्थीको २.३ प्रतिसत मात्र हुन्छ ।कुल संख्याको ३७.२८ प्रतिसत विद्यार्थी इ ग्रेड प्राप्त गरेका छन ।
३. अंग्रेजीमा ३.४३ प्रतिसत र विज्ञानमा ४.२५ प्रतिसतले (प्रयोगात्मक अंक सहित) मात्र ३.६ देखि ४.० जिपिए ल्याउनुले विद्यालय शिक्षामा अग्रेजी र विज्ञान विषयको शैक्षिक उपलब्धि स्पष्ट हुन्छ ।
४. समग्रमा १.६ देखि २.८ जिपिए ल्याउनेको संख्या ४२.१३ प्रतिसत छ । यो संख्या भनेको स्वेदशमै आफ्नो भविष्य खोज्ने समुह हो जसले विज्ञान, गणित र अंग्रेजी जस्ता विषयको आधारभुत सक्षमता पनि हासिल गरेका हुदैनन र भबिष्यमा राम्रो रोजगारीको अवसरबाट वञ्चित हुन्छन ।हाल यस प्रकृतिको जनसंख्या अप्ठ्यारो, चुनौतिपुर्ण र कम पारिश्रमिक हुने श्रमका लागि विदेशिन बाध्य छ ।

उल्लेखित दृष्टान्तबाट यो प्रष्ट स्पष्ट हुन्छ कि हाम्रो विद्यालय शिक्षाको गुणस्तर औषत भन्दा तल छ ।आजको यो शिक्षाबाट विद्यार्थीमा स्वरोजगार र उद्यमशिलताको विकासमा सहयोग गर्ने माध्यमिक शिक्षाको हालको लक्ष्य र मुलुकको विकास समृद्धिको कवज मानिने मानव स्रोतको भोलिको आवश्यकता पुरा हुने देखिदैन । विज्ञान, प्रविधि र गणित विषयको ज्ञान २१ औ शताब्दीको प्रतिष्पर्धी विश्वपरिवेशमा अनुकलन हुन मात्र होइन दैनिक जीवनका गतिविधि सञ्चालनमा समेत अनिवार्य भैसकेको छ ।यसले हालको विद्यालय शिक्षामा गम्भिर समिक्षा सहित सामयिक पुनरावलोकनको माग गर्दछ।

५. नीतिगत व्यवस्था र प्राथमिकताः
सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र र विश्वविद्यालयको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउने आर्थिक वर्ष २०७७।७८ को नीति कार्यक्रमको उद्देश्य, दिगो विकास लक्ष्य, (सन २०१५-३०) को समानुपातिक समावेशी गुणस्तरीय शिक्षा र जिवनप्रयन्त सिकाईको लक्ष्य, पन्ध्रौ योजना, (२०७६-८१) को सिर्जनशिल, दक्ष, प्रतिष्षर्धी, उत्पादनशिल र नवप्रवर्तनशिल मानव सोतको विकास गर्ने लक्ष्य, डिजिटल नेपाल फेमवर्क, २०७६ को परिष्कृत सिकाईको वातावरण द्वारा नयाँ आर्थिक अवसरहरुको उपयोग गर्न सक्ने मानव संशाधन तयार गर्ने लक्ष्य र शिक्षा नीति, २०७६ को उपयुक्त नीति, लगानी, जनशक्तिको विकास, पाठ्यक्रम समायोजन र शिक्षण पद्धतिको आधुनिकीकरण गरी विज्ञान, प्रविधि, इन्जिनियरिङ् तथा गणित शिक्षा (स्टेम शिक्षा) लाई समग्र शिक्षा प्रणालिको अभिन्न अंगको रुपमा विकास र बिस्तार गर्ने नीतिगत व्यवस्था र लक्ष्य, उद्देश्यले स्टेम शिक्षाको प्रभावकारी विकास र कार्यान्वयनको लागि सकारात्मक वातावरण तयार भएको देखिन्छ ।

६. अवको बाटोः
विश्वका विकसित र दक्षिण एसियाका केही मुलुकहरुको सफल अनुभवलाई हाम्रो राष्ट्रको सापेक्षतामा परीक्षण र प्राथमिकीकरण गर्दै माथि उल्लेखित नीतिगत र लक्षित उद्देश्य हासिल गर्नका लागि आवश्यक पुर्वाधार (प्रविधिजन्य तथा पेशागत सक्षमता) को विकासका लागि समुचित लगानी गरी स्टेम शिक्षाको कार्यान्वयनमा विलम्ब गरिनु हुदैन । विश्वव्यापी परिदृष्य (ग्लोवल एक्सपोजर) का लागि युवा मस्तिष्कलाई सुसुचित र सशक्तिकरण गरी राष्टको प्राविधिक आधारशिला तयार गर्ने मेरुदण्डका रुपमा यसलाई आत्मिकरण गर्नु आजको अनिवार्य आवश्यकता बनेको छ ।

के. सी. सामाजिक विकास मन्त्रालय, प्रदेश नं ५, बुटवलका शाखा अधिकृत हुन्

Tags :
प्रतिक्रिया दिनुहोस