गुरुयोजना खारेजीको माग गर्दै पशुपति क्षेत्रमा सांस्कृतिक र्‍याली - प्रशासन प्रशासन
prasaLogo
१७ श्रावण २०७७, शनिबार

गुरुयोजना खारेजीको माग गर्दै पशुपति क्षेत्रमा सांस्कृतिक र्‍याली


प्रकाशित मिति : 1 August, 2020 3:48 pm

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले स्थानीयवासी एवं तीनै तहका जनप्रतिनिधिसँग परामर्श नगरी दीर्घकालसम्म प्रभाव पार्ने गुरुयोजना प्रस्ताव गरेको भन्दै स्थानीयवासीले सांस्कृतिक र्‍यालीसहित विरोध प्रदर्शन गरेका छन् ।

विरोधस्वरुप आज बिहान पशुपतिको ट्याक्सी पार्कबाट-तिलगङ्गा-देउलाटोल-आँखा अस्पताल-गौशाला-रातोपुल-पनेको टोल-सिफलचौर-ताम्रेश्वर-नवालीटोल-जयवागेश्वरी-मित्रपार्क-कुटुबहाल-लामपोखरी-चन्द्रविनायक मन्दिर-चावहिल चोक-पीपलबोट-गौरीघाट-उमाकुण्ड-पशुपतिनाथको पश्चिम मूल ढोका-डठ्ठीटोल-जयवागेश्वरी हुँदै भुवनेश्वरी पार्क गरी गुरुयोजनाले प्रभाव पार्न लागेको सबै क्षेत्रमा सांस्कृतिक र्‍याली निकालिएको संयुक्त सङ्घर्ष समितिका संयोजक आशामान सँगतले जानकारी दिए । सांस्कृतिक वेषभूषासहित र्‍यालीमा सहभागी भएका स्थानीयवासीले गुरुयोजना तत्काल खारेज गर्न माग गरेका थिए ।

र्‍यालीमा वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौँ महानगरपालिका-७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नं ८ का अध्यक्ष दीनेशकुमार डङ्गोल, वडा नं ९ का अध्यक्ष रामकृष्ण जयेखु श्रेष्ठलगायत वडामा निर्वाचित जनप्रतिनिधि, स्थानीय सङ्घसंस्था, क्लब, गुठीलगायत सदस्यको सहभागिता थयो । सहभागीले एक स्वरमा कोष सञ्चालक परिषद्ले २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनाको विरोध गरेका थिए ।

स्थानीयवासीको प्राचीनकालदेखिको बस्ती नाश गर्ने, स्थानीयवासीका चाड पर्व, धर्म संस्कृति पनि नष्ट हुने भएकाले गुरुयोजना खारेज हुनुपर्ने सहभागीको माग थियो । समितिलाई आइतबार बिहान १० बजे संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले वार्ताका लागि बोलाएको जानकारी पनि संयोजक सँगतले दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस