जीन्दगी नं ३ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जीन्दगी नं ३


१७ श्रावण २०७७, शनिबार


बुवा ! तपाई कहाँ हुनुहुन्छ ? हतारिएको आवाजमा छोरीले फोन गरी। मैलै विस्तारै भने म मार्तडी मै छु । छोरीले त पत्याइन र ३ चोटी सोधी : साँच्चै मार्तडी मै हो ? बन्दाबन्दी भएकाले छोरीहरु सबै घरमा गएकाले म मात्र मार्तडी बस्थ्येँ । एकाएक हतारिदै सशंकित भएर छोरीले सोधेकीले के भएछ भन्ने लागेर उनलाई आश्वस्त पार्दै आफु मार्तडी मै रहेको विश्वास दिलाएँ र उनले फोन काटीन् । तर मेरो मनमा भने किन हतिरदैँ छोरीले फोन गरिन् भन्ने कौतुहलता भइरह्यो।

मन थाम्न सकेँन र फेरी फोन गरेँ, फोन छोरीकी आमाले उठाइन र रुदैँ भनिन् । तपाई कस्तो निष्ठुरी ? यतिसम्म हुँदा पनि खवर गर्नुहुन्न। हामीलाई केही जानकारी नै नदिने ? कस्तो मान्छे तपाई ?…….. एकोहोरो मन्तव्य जारी रह्‍यो उनको। उनलाई रोक्दै आखिर के भयो ? किन यसरी एकोहोरो सम्झाउदै छौं भन्दा बल्ल कुरामा आइन ! गाउँमा तपाईलाई गार्‍हो भएर धनगढी लगियो भन्ने खवर छ । तपाई फोन उठाउन पनि सक्नुहुन् रे ! बोल्न पनि सक्नुहुन्न रे ! खाना पनि खानु भएको छैन रे…..अरु पनि के के रे…..रे……थप्दै ऊइन म सुनिरहेँ । आखिर भएको के रहेछ भने बजारमा मलाई गार्हो भएर धनगढी लगिएको। खाना खान नसकेको। बोल्न नसकेको लगायतमा अनकौं अफवाह फैलिएको रहेछ।अव मर्छ सम्म भन्न भ्याइसकेका रहेछन्। हुन त विश्व समुदाय त्रसित भइरहेका बेला मेरा श्रीमती छोरी त्रसित हुनु कुनै नयाँ र अचम्म लाग्दो थिएन र पनि म भने ढुक्क थिएँ कोरोना केही हैन म जित्न सक्छु ।

असार ४ गते मेरो जिन्दगीको एक अवस्मरणीय र कहालीलाग्दो दिन रह्‍यो जुन दिन परिक्षणका लागि स्वाव संकलन गरी पठाएको हप्तादिन पछी कोरोना पोजेटिभ भएको रिपोर्ट आयो। जेठ २३ गतेदेखि क्वारेन्टाइनमा बसिरहे पनि ३१ गते मात्र जाँचका लागि स्वाव पठाएका थियौं। नगरपालिकाले हामी स्वास्थ्यकर्मीका लागि मार्तडीस्थित होटल दृष्टीमा क्वारेन्टाइन व्यवस्था गरेकाले म लगायत मेरा ४ जना सहकर्मी त्यही बसिरहेका बेला हामी सबै संक्रमित भयौं । जिल्ला बाहिर तथा भारतबाट आएका व्यक्तिहरुको सामान्य स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्श दिनका लागि जिल्ला कारागार नजिक हेल्थ हेल्प डेस्क स्थापना गर्‍यौं । जिल्ला प्रवेश गर्ने व्यक्तिहरुको लागि चैत्र ११ गतेदेखि सेवा दिईरहँदा मालिका मावि लगायतका क्वारेन्टाइनमा नियमित स्वास्थ्य जाँच र(आरटी–पीसीआर) स्वाव संकलनमा अहोरात्र खटिरह्यौं।

राति निदाउने बेला फोन गर्थे सर मलाई खोकी लाग्यो तुरुन्त आउनु पर्‍यो। हत्तपत्त त्यही पुग्नुपर्‍यो। नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख समेत भएकाले एकतिर व्यवस्थापकीय, समन्वय र अर्को तिर उपचारात्मक काममा व्यस्त हुनु पर्ने थियो। स्वास्थ्य चौकीबाट काजमा बोलाइएका साथीहरु पनि दिनरात नभनि काममा खटिएका थिए । दिनदिनै भारतबाट आउनेको संख्या बढीरहेकाले एकातिर क्वारेन्टाइनको व्यवस्थापन र अर्को तर्फ (आरटी–पीसीआर) परिक्षणको कामले हामी निकै व्यस्त थियौं । व्यक्तिगत सुरक्षाका उपाय अपनाए पनि अन्ततस् हामी सबै संक्रमित भयौं ।

आइसोलेशन अनुभुती :

असार ४ गते देखि १७ गतेसम्म हामी आइसोलेशनमा रह्यौं। संक्रमण पुष्टी भए पछी पनि जेठ २३ गतेदेखि बसिरहेको होटलमा नै बस्यौं।हामीलाई संक्रमण पुष्टी भएको खवर पाए पछी एकछीन होटल मालिक अलिकति सशंकित जस्ता देखिए पनि सर्नु पर्ने भए सरिसक्यो होला अव यही बस्नु भने। नगर प्रमुखज्यूले हाम्रा कर्मचारी राख्दा तपाईहरुलाई कुनै समस्या हुन्छ भए हामी मालिका विद्यालयमा व्यवस्था गर्छौं भन्नु भएको थियो तर पनि होटलले अव यही वस्दा फरक नपर्ने भनेपछी त्यही बस्ने भयौं।

साविक उप(स्वास्थ्यचौकी, स्वास्थ्य चौकी, प्राथिमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पतालमा रहँदा विरामीको उपचारमा हिडिँराख्ने खटिराख्ने बानी भएकाले पनि होला कति बेला वाहिर निस्किउँ, मान्छेहरु भेटीरहुँ जस्तो भने भइरह्यो। एउटै परिवारका (कार्यालय) २ जना हे।अ।, २ जना ल्यावका कर्मचारी समेत भएकाले बसाई त्यस्तो अत्यास लाग्दो भएन। मलाई र तिलक न्यौपाने (हे.अ.) भाईलाई अलिकति खोकी लागेको थियो । बाँकी रत्न सर (ल्याव टेक्निसियन), भेषराजजी (हे.अ.)र गंगा कुमारी थापा बहीनीलाई (नगरपालिकाद्वारा नियुक्त ल्याव असिस्टेन्ट) लाई भने कुनै चिन्ह र लक्षण देखिएन ।एक पटक फोनमा बोल्दा ५ पटकसम्म खोक्नुपर्ने भएकाले हप्तादिन जस्तो फोन बन्द गरेँ।

जिल्ला सदरमुकामको नगरपालिका भएकाले कोरोना नियन्त्रण तथा रोकथाममा अन्य पालिकाको भन्दा हाम्रो अलि बढी जिम्मेवारी थियो। उत्तरी भेगका ४ पालिकाका (बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक गाउँपालिका, जगनन्नाथ गाउँपालिका र हिमाली गाउँपालिका) लगायत गौमूल गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाका मान्छेहरुलाई होल्डीङ्ग पोइन्टमा राख्ने, हाम्रो पालिकाका मान्छेहरुलाई क्वारेन्टाइनमा राख्ने र क्वारेन्टाइनमा रहेकाहरुको निर्धारित दिनमा परिक्षण गर्ने लगायतका सम्पूर्ण काम गरिरहेको सिंगो टीम नै संक्रमित भएकाले नयाँ साथीहरु (हामी संक्रमित भए पछी नगरपालिकाले स्वास्थ्य संस्थाबाट सि।अहेव कासिचन्द पाध्याय, अहेव अमर बडुवाल, ल्यावमा नयाँ कर्मचारी केशव कार्की र विगत वर्षदेखि स्वास्थ्य क्षेत्रमा अनुभवी कार्यालय सहयोगी दिलबहादुर विष्टको नयाँ टिम बनाएको थियो) तारन्तार फोन गरिरहन्थ्ये। तिलक भाई, भेषराजजीको मोवाइलबाट हामी साथीहरुलाई सहयोग गर्थ्यौं।दिनरात बन्द कोठामा बस्दा पनि इन्टरनेट, टि.भि. र रमाइला साथीहरु भएकाले १४ दिनको आइसोलेशन बसाई सजिलै कटायौं। १४ दिन पछी फ्लोअप रिपोर्ट नेगेटिभ आएपछी १७ गते हामी कार्यालयमा आयौं।

आत्मविश्वास र स्वास्थ्य सतर्कता नै जीतको हतियार :

हामी सबै स्वास्थ्यकर्मी भएकाले कोरोनाको जोखिमका विषयमा जानकार थियौं। राष्ट्रीय तथा अन्तराष्टीय समचार र सूचना समेत जानकारी हुने भएकाले अलिक डर पनि थियो र पनि हामीले हार मानेका थिएनौं। कोरोनाका लक्षणसंग मिल्ने संकेत देखिएमा के औषधी खाने भनेर हामीले सबै औषधीको व्यवस्था गरेका थियौं। खोकी लाग्दा नियमित औषधी सेवन पनि गरेँ। कार्यालय प्रमुख (प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्याल) ले बेला बेला फोन गरेर टेकसर तपाई ढुक्क हुनुहोस है अफ्ठ्यारो भयो भने म हेलिकप्टर चार्टर गरेर पनि तपाईलाई काठमाडौं पुर्‍याउछु भन्नुहुन्थ्यो। उहाँको सम्बन्ध र सहयोगप्रति हामी विश्वस्त थियौं की उहाँले सक्ने जति कुनै कसुर बाँकी राख्नुहुन्न हाम्रा लागि। नगर प्रमुखज्यू(पदम बडुवाल) ले पनि सधै अभिभावकत्व प्रदान गरिरहनु भयो । उहाँ आफै मैदानमा खट्नु भयो। दिनरात नभिन हामीसंगै कोरोना रोकथाममा लाग्नु भयो । नगरपालिकाका समग्र कर्मचारीसाथीहरु र अन्य स्वास्थ्यकर्मी साथीहरुले पनि सदैव आत्मवल बढाइरहे। होटलबाट समेत कहिले अलग व्यवहार भएन हामीलाई। हाम्रा खाना खाने भाडाहरु छुट्टै थिए।समय समयमा खानाको व्यवस्था भइरह्यो। मलाई २०७० सालमा भालुले आक्रमण गर्दा टाउकोमा ठूलो चोट लाग्यो।भालुजस्तो जङ्गली जनावरबाट त बाँचे भने कोरोना त मज्जाले जित्नसक्छु भन्ने आत्मविश्वासले नै कोरोना जित्न सफल भएँ।

जीन्दगी नं ३ :

हामी स्वास्थ्यकर्मीले जिन्दगीमा कयौँ मानिसहरुको ज्यान जोगाएका हुन्छौं।कयौ मानिसले हाम्रै अगाढी ज्यान गुमाएका समेत हुन्छन। मृत्युसंगको साक्षात्कार नजिकबाट गर्नेहरुलाई मृत्युदेखि खासै डर लाग्दैन। हामी विज्ञानमा विश्वास गर्छौ।र कहिले कहीँ समयमा पनि। समय आएपछी कसैको केही लाग्दैन । एउटै पद्दती र एउटै औषधीले उपचार गर्दा कसैको जिवन प्राप्ति हुन्छ त कसैको जीवन अन्त्य।२०५० सालमा जागिर सुरु गरी २०७७ सालसम्म आइपुगदा २७ वर्षे जागिरे जीवनमा कयौं महामारीको सामना गरियो। सिजनल ज्वरो, हैजा, झाडापखाला लगायतका कयौ महामारी भन्दा फरक रुपमा आयो कोरोना । अन्य महामारीको नियन्त्रणमा संक्रमणको कम सम्भावना रहे पनि कोरोनामा भने उच्च जोखिम रहने देखियो। बाजुरा जिल्ला सबै गाउँगाउँमा अधिकाँस सबै जिल्लावासीका नाडी छामेका मेरा हातले भीटीएम किट समात्दा भने अर्को जीन्दगीमा प्रवेश गरायो। जिन्दगीको पहिलो परीक्षा २०७० सालमा जङ्गली जनावर भालुसंग दिँए। जिल्ला अस्पताल बाजुरामा दरबन्दी भई बालरोगको एकिकृत व्यवस्थापन कार्यक्रमको फलोअप मिटिङ्गमा काँडा स्वास्थ्य चौकीबाट कार्यालय फर्किने क्रमा अकस्मात जंङ्गली जनावर भालुसंग जम्काभेट हुँदा मेरो टाउको लगायत शरीरका अन्य भागमा चोट लाग्न पुग्यो । टाउकोमा समातेर मलाई उसको टाँङ्गमुनी पार्‍यो र निरन्तर लुछिरह्‍यो। ३०/३२ वर्षको लक्का जवानीमा भालुको घाँटी समाती खुट्टाले हुत्याउदा भालु पाखाबाट गुल्टीयो र घर तर्फ नै फिर्ता भएँ । घरबाट ठ्याक्कै वारीपट्टीको खोलामा भालु कराएको सुनेपछी गाउँलेहरु हल्लाखल्ला गर्दै आए। सवैले भालुले आक्रमण गरेपछी मान्छे बाँच्न नसक्ने अड्कल समेत लगाए तर पनि म बाँचेँ।पहिलो परीक्षामा सफल भएँ। हाल भालुले कोतरेको तालुमा अझै कपाल उम्रेका छैनन्।

जीन्दगीको दोस्रो परीक्षा कोरोनाले लियो।कोरोनासंगको लडाइमा विगत चैत्र ९ देखि युद्दरत रहँदा चैत्र ४ गते संक्रमण देखियो।हेल्थ हेल्प डेस्क, क्वारेन्टाइन, आइसोलेशन लगायत औषधी उपकरण व्यवस्थापन र सूचना व्यवस्थापनमा खटिरहँदा कोरोना पोजेटिभ भएँ। जेठ २३ देखिको क्वारेन्टाइन र १४ दिनको आइसोलेशन बसाई पछी कोरोना समेत पराजित भयो अन्तत असार १७ गते कोरोना जितेको प्रमाण पत्र हातपर्‍यो र जीन्दगी नं ३ मा प्रवेश गरेँ। मृत्युसंग नजिकबाट साक्षात्कार गरेका यी २ घटनाले जिन्दगीको मुल्य सिकाएर गए। जिन्दगीको महत्व बुझाएर गए। भालु आक्रमण पश्चात मैले टोपी लगाउनु पर्ने अनिवार्य भयो। कोरोना संक्रमण पश्चात म लगायत सबैलाई व्यक्तिगत सरसफाइ नै रोगको मुल औषधी रहेको कुरा बुझायो। व्यक्तिगत सरसफाई, स्वास्थ्य सतर्कता र उच्च आत्मविश्वास नै जीन्दगीमा प्रमुख हतियार रहेछन। (सि.अहेव (अधिकृत छैठौं) टेकबहादुर खड्का बडीमालिका नगरपालिका बाजुराका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख हुन भने मिति २०७७ असार ४ गते उनी लगायत नगरपालिका ४ सहित ५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भई मिति २०७७ असार १७ गते कोरोना जितेका थिए।)

प्रतिक्रिया दिनुहोस