पूर्वडीआईजी कोइरालाको कैद छुट : पुनरावलोकन निवेदनको सुनुवाइ आज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वडीआईजी कोइरालाको कैद छुट : पुनरावलोकन निवेदनको सुनुवाइ आज


११ श्रावण २०७७, आइतबार


काठमाडौँ । सशस्त्र प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक(डिआइजी) रञ्जन कोइरालालाई आधाभन्दा बढी कैद सजाय छुट गरेको फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा दर्ता गरेको पुनरावलोकन निवेदनमा आज(आइतबार) सुनुवाइ हुने भएको छ।

पत्नी गीता ढकालको हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालत र तत्कालीन ललितपुर पुनरावेदन अदालतले कोइरालालाई सर्वस्वसहित जन्मकैद सजाय तोकेकामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले साढे ११ वर्ष कैद घटाउँदै उनलाई बिहीबार जेलमुक्त गराएको थियो।

उक्त फैसला गलत भएको दाबीसहित पुनः विचार गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले बिहीबार सर्वोच्चमा दर्ता गराएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको हो। निवेदन आइतबारका लागि पेसीमा चढिसकेको जनाइएको छ ।

महान्यायाधिवक्ताको कार्यालयका अनुसार ‘सर्वोच्च अदालतबाट स्थापित नजिर वा कानुनी सिद्धान्तको प्रतिकूल फैसला वा अन्तिम आदेश भएको देखिएकाले’ पुनरावलोकनको निवेदन दिइएको हो।

फैसलामा गल्ती भएको लागेमा सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको निस्सा अर्थात् अनुमति दिनेछ। विगतमा यसरी पुनरावलोकनबाट कतिपय ठुला मुद्दाका फैसला उल्टिएका उदाहरणहरू छन्।

Tags :
प्रतिक्रिया दिनुहोस