नेकपा स्थायी कमिटी बैठक २४ गतेसम्मका लागि स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा स्थायी कमिटी बैठक २४ गतेसम्मका लागि स्थगित


२२ असार २०७७, सोमबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार २४ गतेसम्मको लागि स्थगित गरिएको छ । आज (सोमबार) बिहान ११ बजे बस्नेगरी बोलाइएको बैठक फेरी २४ गतेसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

नेकपा भित्र आन्तरिक विवादका कारण शीर्ष नेताहरु अहिले एक आपसमा छलफलमा व्यस्त छन् । नेकपा अध्यक्षद्वयको दुई पक्षबीच सहमति हुन नसक्दा नेकपामा विवाद उत्पन्न भएको छ ।

दुबै अध्यक्ष परामर्शकै क्रममा रहेकाले आज बिहान ११ बजे बोलाइएको बैठक सरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

यस्तै, पार्टी विवाद केन्द्रीय समिति बैठकबाट टुंगो लगाउने र एकता प्रक्रिया टुट्न नदिन केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने भन्दै नेकपाका युवा नेताहरूले हस्ताक्षर अभियान पनि सुरु गरेका छन्।

केन्द्रीय कार्यालय धुम्बाराहीबाटै केन्द्रीय सदस्यहरू ठाकुर गैरे, हिमाल शर्मा, वलावती शर्मालगायत हस्ताक्षर अभियानमा जुटेका छन्।

शनिबार नेकपाका ५३ जना केन्द्रीय सदस्यले पार्टीभित्रको विवाद र पार्टी एकताको पक्षमा जुम मिटिङ गरेर केन्द्रीय समिति बैठक बोलाउन हस्ताक्षर अभियान चलाउने निर्णय गरेका थिए।

आइतबार दिउँसोसम्ममा झन्डै ७० जना बढी नेताहरूले हस्ताक्षर गरिसकेका छन्। नेकपाका १ सय १० जना नेताले हस्ताक्षर गरी पार्टी बैठक माग गरेमा विधानत बैठक बोलाउनु पर्ने हुन्छ।

४ सय ४५ सदस्यीय केन्द्रीय समितिका २५ प्रतिशत सदस्यले लिखित रूपमा बैठक माग गरे एक महिनाभित्र बोलाउनुपर्ने पार्टीको विधानमा व्यवस्था छ।

Tags :
प्रतिक्रिया दिनुहोस