को बन्ला मुख्य सचिव ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

को बन्ला मुख्य सचिव ?


११ असार २०७७, बिहिबार


काठमाडौँ । निजामती सेवामा अभिभावकीय र शक्तिशाली भूमिकामा रहने मुख्यसचिव पदमा बाजी मार्न सचिवहरूबिच भिडन्त हुने देखिएको छ । वर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल सकिन तीन महिना मात्रै बाँकी रहँदा वरिष्ठ सचिवहरू मुख्यसचिव बन्ने दौडमा लागेका छन् ।

यो दौडलाई कुन तहसम्म लैजाने भन्ने भूमिका मुख्यसचिव रेग्मीकै हातमा छ । २०७४ कात्तिक ४ गते मुख्यसचिवमा नियुक्त भएका उनी २०७७ कात्तिक ४ गते तीन वर्षे पदावधि पुरा गर्दैछन् । मुख्य सचिवको अवधि तीन वर्षको रहने प्रावधान छ । उनी पुरै कार्यकाल पदमा बस्ने वा नबस्ने निर्णयले भावी मुख्यसचिवको समीकरणमा ठुलो परिवर्तन हुनेछ । तत्कालित मुख्यसचिव सोमलाल सुवेदीले कार्यकाल बिचमै छोडेपछि अपेक्षा नै नगरेका राजेन्द्रकिशोर क्षेत्री मुख्यसचिव भएको केही समयपछि अवकाश लिएसँगै बाजी मारेका अनुभवी रेग्मीले कार्यकाल सकिनुभन्दा दुई हप्ताअघि मात्र राजीनामा दिए तीन जना सचिवका लागि मुख्य सचिव हुने बाटो खुल्नेछ ।

रेग्मीले आकर्षक पदमा महत्त्वपूर्ण राजनीतिक नियुक्ति पाए कार्यकाल सकिनुअघि त्यता जाने सम्भावना रहेको निजामती वृत्तमा चर्चा छ । यसो भएमा नेपाल सरकारका ७१ जना विशिष्ट श्रेणी कर्मचारी(सचिव) मध्ये वरिष्ठ तीन सचिवहरूमध्ये सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटा, पर्यटन सचिव केदारबहादुर अधिकारी र परराष्ट्र सचिव शंकरदास वैरागी मुख्यसचिवको होडमा हुने छन् । यी तीन जना असोज २२ गते अर्थात् अबको करिब १३ हप्तापछि पाँच वर्षे अवधि पूरा गरेर सेवानिवृत हुँदैछन् । उनीहरूसँगै एकैदिन बढुवा भएका पाँच जनाले ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाई सकेका छन् ।

वैरागी र अधिकारी भए दुवैले तीन वर्ष र सापकोटा भए २०७७ फागुन २५ सम्म मात्रै मुख्यसचिव हुन पाउनेछन् । उमेर हदका कारण सापकोटा सो मितिमा सेवानिवृत हुनेछन् ।

परराष्ट्र सचिव वैरागी न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगमा नगएर मुख्यसचिव बन्ने भनेर बसेका छन् । उनी परराष्ट्रमा ५ वर्ष सचिवको कार्यकाल पूरा गर्ने इतिहासको पहिलो सचिव पनि हुन् । यसअघिका परराष्ट्र सचिवहरू एक-दुई वर्ष सचिव भएपछि राजदूतमा जाने गरेका थिए ।

यदि वैरागीलाई मुख्यसचिव बनाइयो भने उनले तीन वर्ष अर्थात् ०८० साल असोज २२ गतेसम्म मुख्यसचिव हुन पाउने छन् । यसरी वैरागी वा अधिकारी जो सुकै मुख्यसचिव भए भने त्यसपछिका मुख्य सचिव हुने अहोभाग्यमानीमा २०८० फागुन ६ मा अवकाश हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिव सूर्यप्रसाद गौतम पर्नेछन् ।

यसका अलावा सापकोटा मुख्य सचिव भए भने वर्तमान वन तथा वातावरण सचिव विश्वनाथ ओलीको तालुमा आलु फल्नेछ । उनी २०७८ वैशाख ७ गते सेवा अवधिका कारण अवकाश हुँदैछन् । यसरी ओली मुख्यसचिव भए भने त्यसपछि मुख्यसचिवको दाउ २०८१ वैशाख १७ गते सचिवबाट अवकाश हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीको हुनेछ ।

मुख्यसचिव रेग्मीले आफ्नो कार्यकाल पूरा गरेको अवस्थामा भने यी तीन सचिवले अवकाश लिई सकेको अवस्था हुनेछ । यो अवस्थामा कार्तिकमा रेग्मी अवकाश भएपछि २०७७ माघ ८ गते ५ वर्षे सेवा अवधिले अनिवार्य अवकाश हुन लागेका उद्योग सचिव चन्द्रकुमार घिमिरे मुख्यसचिवको एकल दाबेदार हुनेछन् । घिमिरे २०७९ साल मङ्सिर १५ गते ५८ पुग्छन् । उनी मुख्यसचिव भए भने तत्पश्चात् २०८० असारमा सचिवबाट अवकाश हुने यादव प्रसाद कोइराला वा वैकुण्ठ अर्यालले मुख्य सचिवको बाजी मार्नेछन् ।

यही बिच यदि कर्मचारीको सेवा अवधि ६० वर्ष पुर्‍याइयो भने यो समीकरणमा फरक पर्न सक्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस