कोरोना कहर र मेरो क्योटो यात्रा ….. « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोना कहर र मेरो क्योटो यात्रा …..


३ असार २०७७, बुधबार


कुरा गत मार्च २७ को हो  । युनिभर्सिटीको कार्यक्रममा सरिक हुन् क्योटो जानुपर्ने भयो । क्योटो घुम्नु जापान आउने जोसुकैको लागि ठुलो अवसर मानिन्छ । झन् लगातार ६ महिनादेखि हिरोसिमाको बन्द कोठामा ’रुम कलेज अनि रुम’ को परिधिमा घुमिराखेको मेरो उराठलाग्दो दैनिकीका लागि यो मरुभूमिको बिचमा मरुध्यान भेटिनु झैँ हर्षको कुरा थियो । सङ्क्षेपमा भन्नुपर्दा, म उत्साहित थिए र हुनुपनि पर्थ्यो । क्योटो–जापानको पुरानो राजधानी र अहिले पनि सांस्कृतिक अनि पर्यटकीय केन्द्र, जहाँ म छिट्टै पाइला टेक्ने सँघारमा थिए । तर मैले यो आमोद र कौतुकतामा केही ह्रास भएको महसुस गरे मार्च २७ नजिकिँदै जाँदा, कारण एउटै थियो – ’विश्वव्यापी कोरोना कहर’ । डिसेम्बर देखि मार्च नसिद्धिँदै कोरोनाले दुनियाँभर सिकन्दर महानको झैँ बलियो साम्राज्य खडा गरिसकेको थियो । जेंगिस खान अहिले ज्युँदा हुँदा हुन् त गर्वले पिठ्युँ थपथपाउँदै भन्दा हुन् ’स्यावास्, यो हाम्रो धर्ति महान् छ । यहाँ यस्तै वीर जन्मन्छन् । यो त भयो ह्युमर । अब रियालिटी तिर मोडिऔँ । साँच्चै म केही उत्साहित त ज्यादा त्रसित थिए क्योटो भ्रमणलाई लिएर ।

मार्च २७ को बिहान ९ बजे साइजो स्टेसनमा लोकल ट्रेन चढ्ने र हिरोसिमा सिटी पुगेर सिंकानसेन (बुलेट ट्रेन) चढ्ने पूर्वनिर्धारित तालिका रहेकोले म बिहानदेखि नै सजग थिए । हल्का बिहानको नास्ता खाईवरी बाहिर निस्कँदा हल्का झरी परिरहेको थियो । कोठा भित्र छिरेर फेरी रेनकोट र छाताको बन्दोबस्त गर्दा म केही ढिलो भइसकेको थिए र स्टेसनसम्म साइकलमै जानुपर्ने भएकोले हतार महसुस हुँदै थियो । स्टेसन पुग्दासम्म अलि अबेर भैसकेको थियो र सँगै क्योटो भ्रमण गर्नुहुने तुलसी सर धेरै अघि स्टेसन पुगेर प्रतीक्षामा हुनुहुन्थ्यो । अलि ढिलो भएकोमा एक्सक्युज माग्दै हामी ट्रेनभित्र छिर्याै । विगत १०/१५ दिनदेखि निरन्तर मास्क खोज्दा साईजोको बजारमा कहिकतै नभेटाए पछि तुलसी सरलाई केही मास्क मेरो लागि पनि ल्याउनुहुन आग्रह गरेको थिए, उहाँले सम्झनुभएको रहेछ । ५ वटा मास्क भएको एउटा सेट उहाँबाट पाउँदा अमृत मिलेझै अनुभूति भयो, बडा सजग भईकन एउटा मास्क मुखमा लगाउँदा संसारकै धनी व्यक्तिको सूचिमा सूचीकृत भएको महसुस गर्न थाले केहिबेर । ट्रेन आफ्नै रफ्तारमा कुदिराखेको थियो, एकछिनमै हिरोसिमा स्टेसनमा चर्को स्वरमा हिरोसिमा नाउँ अनाउन्स हुँदा थाहा भयो हामी हिरोसिमा पुगेछौँ । सिंकानसेन (बुलेट ट्रेन) भित्र चढ्दा बाहिर झरी निरन्तर जारी थियो र झन् अझै जोडसित मानौँ आफ्नो अधिनायकत्व सिद्ध गर्नु थियो उसलाई । सिंकानसेनको यात्रा पहिलो पटक गरिरहेको हुनाले होला म अलि बढ्दा उत्साहित थिए । सिंकानसेन भित्रको दृश्य मैले कल्पना गरेझैँ थियो – सफा र चिटिक्क सिटहरू, भित्ताहरूमा एचडि डिस्प्ले, द्रुत इन्टरनेट र बिचमा हिँडडुल गर्न पर्याप्त ठाउँ । कोरोनाको त्रासदीले गर्दा सिंकानसेनका सिटहरू प्रायः खाली देखिन्थे । म ट्रेनको देब्रे पट्टिको झ्यालतिरको सिटमा बसे, सार्वजनिक यातायातमा झ्यालको सिट सदैव मेरो पहिलो रोजाई हुने गर्दछ किनकि प्रकृति अनि बदलिँदो भौगोलिक परिवेशसँग गज्जबले विचरण गर्न पाइने लालसा सधैँ मनमा रहिरहन्छ । करिब ३ घण्टाको यात्रा दौरान मैले हातहरू गोजीबाट बाहिर झिकेर सिटहरूको यताउता स्पर्श गर्ने दुस्साहस गरिन्, सायद मैले कोरोनाको साम्राज्यलाई मनोवैज्ञानिक रूपमा स्विकारी सकेको थिए । बाटोमा कुन कुन ठाउँहरू आए मलाई पत्तो भएन तर सुन्दर चैँ बिछिट्टै थिए । क्योटो स्टेसनमा झर्दा दिउँसोको करिब १ बजिसकेको थियो ।

क्योटो स्टेसनको बारेमा धेरै किस्सा सुनेको अनि पढेको थिए, प्रत्यक्ष रूपमै टहलिन पाउँदा म निकै खुसी थिए । कोरोना महामारीले गर्दा त्यति घुँईचो थिएन स्टेसन आसपास तथापि जति मानिसहरू देखिन्थे त्यसमा आधा जसो गैर जापानी नै देखिन्थे, यहाँबाट पनि मैले क्योटोको पर्यटकीय महत्त्व अड्कल गरिसकेको थिए । सबै हतार अनि हताश देखिन्थे, गन्तव्यमा पुग्ने सधैँको मानवीय हतार त कोरोनाले सिर्जित मौसमी हताश भनी ठम्याए र सायद म गलत थिइन् पनि होला । केहिबेर अज्ञानी जन्तुझैँ क्योटो स्टेसन वरिपरि टहलिँदै गर्दा जानुपर्ने होटेलको केही मेसो नमिलेपछि गुगल म्यापको प्रयोग गर्ने जुक्ति फुर्याे । होटेलसम्मको रुट अन गर्याै र लम्किँदै गर्याै, पानी पर्न अझै रुकेको थिएन् । १० मिनेटको पैदल हिँडाइ पछि हामी दुई रात बस्ने होटेल आइपुग्यो, रेल हिन्ने लिकको छेवैमा रहेछ होटेल । होटेलको रिसेप्सनमा प्रवेश गर्दा सुरुमा अल्कोहल सेनिटाईजर खोजियो, तीनपटक दबाएर हातमा स्प्रे छर्केपछि ठुलै महासङ्कटबाट उन्मुक्ति पाएको मुखाकृति बनाउँदै रिसेप्सनिस्टलाई चेक ईनको लागि आग्रह गरे । सबै सामान्य प्रक्रिया पूरा भइसकेपछि कोठाको साँचो लिएर लिफ्ट भित्र छिर्याै । लिफ्टमा आफ्नो कोठा भएको तला इङ्गित अङ्क थिच्ने समयमा बडा असमञ्जसमा परियो । सिधै थिच्ने कि कुनै रुमाल वा पेपर औलामा बेरेर भन्ने द्विविधा भयो, आफ्नो खल्ती र वरिपरि केही नभेटेपछि लाचार भै थिचियो नाङ्गो औलाले लिफ्ट बटन । दक्ष प्रजापतिको यज्ञमा हाम फाल्न पनि सायद सतीदेवीले यति धेरै समय खर्चिएर सोच्नुभएको थिएन होला । कोठामा छिर्ने बित्तिकै सेनिटाईजर छर्कन अल्छी गरिएन, बाथरुमतिर गएर हातमुख धोएर एक छिन खाटमा पल्टिँदा पुजर्ताजगि महसुस भयो । एक छिनमै कोठामा निकै गर्मी महसुस भयो, एसिको रिमोट सिरानी तिर रहेछ । रिमोटको स्विच अन गर्दा फेरि मनमा असन्तोष पैदा भयो । मनले मानेन, कुदियो बाथरुमतिर, हात राम्ररी धोइयो र फेरि बेडमा पल्टिए । अब म ढुक्क थिए, यो रिमोट पहिले जोसुकैले स्पर्श गरेको होस् अब चैँ म सुरक्षित छु भन्ने कुरामा ।

एक छिन निदाउनै लागेको के थिए, छेउको कोठाबाट तुलसी सरले फोन गर्नुभयो खाना खान जाऊ भन्ने आग्रह सहित । अब मलाई पनि साच्चिकै भोक महसुस हुन थाल्यो । गुगल गरेर नजिकका नेपाली रेस्टुरेन्ट सर्च गर्दा थोरै दुरीमा खासै नभेटिएपछि क्योटो स्टेसनको म्याकडोनाल्ड जाने निधो गरियो । गलत बाटो पछ्याउँदै जाँदा थोरै बढी समय लागेतापनि अन्ततः कोलम्बसले अमेरिका पत्ता लगाए जस्तै हामी पनि म्याकडोनाल्ड भेट्टाउन सफल भएका थियौ । अब चैँ गज्जबकै भिड भएको ठाउँमा सुरक्षित हुनुपर्ने चुनौती हामीसामु आइलाग्यो । टम क्रुजले मिसन इम्पोसिबल सिरिजमा बडा सजगताका साथ मिसन अगाडि बढाएझैँ बिलिङ्ग सक्काएर टेबलमा खान बसियो । हतारहतारमा खाइयो र सायद १० मिनेट मात्र म्याकडोनाल्डमा व्यतीत गरेको पहिलो अवसर थियो होला यो । बाहिर निस्कँदा शरीरमा ऊर्जा प्रवाह भइरहेको महसुस गर्याै र अब नजिकका एक दुई ठाउँ घुम्ने निश्चय गर्याै ।

युनेस्कोको विश्व सम्पदा सूचिमा सूचीकृत दुई वटा बौद्ध मन्दिर नजिकै रहेछन्, त्यहि जाने निधो सहित लम्कियौ । सङ्कटको समयमा पनि दुवै मन्दिरमा ठिकठाकै भिड देखिन्थ्यो । प्राचीन प्यागोडा शैलीमा बलियो काठबाट निर्मित मन्दिरहरू निकै कलात्मक देखिन्थे र छेउतिर फूलेका सेता साकुराहरुले मन्दिर परिसरको सुन्दरतामा निखार ल्याउने काम गरेका थिए । मन्दिर भित्र एउटा ठुलो ध्यान गर्ने हल पनि रहेछ, जहाँ हामीले पनि आधा घण्टा बसेर थकाई मार्याै वा भनौँ ध्यान गर्याै । मन्दिरबाट होटेलमा फर्किदा साँझ परिसकेको थियो ।

अब चैँ म्याकडोनाल्ड नभई नेपाली रेस्टुरेन्ट नै गएर टन्न दालभात खाने योजना मुताबिक गुगलमा नजिकमा देखाएको होटेल पछ्याउँदै गयौ । १५ मिनेटमा नेपाली होटेल पुगियो, होटेलमा सेनिटाईजर थिएन, हात धुन धारातिर जाँदा साबुनको पनि सानो सुक्ष्मदर्शी यन्त्रले हेर्न मिल्ने जत्रो टुक्रा मात्र बाँकी रहेछ । हात धुँदै जाँदा साबुन कता हराएछ पत्तै भएन । खसीको मासु र रोटी अर्डर गर्याै र खाना आउन्जेल रेस्टुरेन्टका मालिकसँग भलाकुसारी गर्न ठिक ठान्यौ । कोरोना सङ्कट पछि होटेलको व्यापार ठप्प रहेको बेलिबिस्तार उहाँले लगाउनुभयो र उहाँको कुरामा थप वजन थप्न उहाँकी जहान पनि नजिक आउनुभयो र नोक्सानको प्रतिवेदन एक श्वासमा सुनाउन भ्याउनुभयो । काम गर्ने २ जना अरू नेपाली भाइहरू निकै मृदुभाषी र फरासिला थिए । खाना त्यति ताजा र स्वादिष्ट लागेन तर नखाईकन सुख पनि त थिएन । खाना खादै गर्दा साहुनीले नेपाली बियर पनि उपलब्ध भएको जानकारी दिँदै गर्दा मैले, ’नाइँ पर्दैन’ भनी तत्काल प्रस्ताव नकार्दा साहुजी अलि दुखी देखिन्थे । अन्त्यमा बिल तिर्नेबेला साहुजी भन्दै थिए, ’भोलि पनि आइन्छ कि सर’ । हामीले अस्पष्ट उत्तर दियौ, ’हेरौँ, के हुन्छ’ । बाटोमा खाना त्यति अपेक्षित नभएको चर्चा परिचर्चा गर्दागर्दै होटेल पुगिएछ । दिनभरि धेरै हिँडेर होला कतिखेर भुसुक्कै निदाइयो पत्तै भएन ।

मार्च २८ को बिहान उठ्दा ८ बजिसकेछ । ९ बजे प्रोफेसरलाई भेट्न अर्कै होटेल पुग्नुपर्ने भएको हुँदा हतारमा होटेलको प्याकेजमा उपलब्ध ब्रेकफास्ट खायौँ र लाग्यौँ अर्को होटेलतिर । होटेलको लबीमा केहिबेर प्रतीक्षा गरिसकेपछि प्रोफेसर आउनुभयो र होटेलको बसाइँबारे सोध्नुभयो, हामीले सबै राम्रो नै भएको जिकिर गर्याै । त्यसपश्चात् तिनै जना दिनभरिको तालिका बमोजिम सङ्ग्रहालय तथा पुस्तकालय चहार्दै हिड्यौं । प्रोफेसरले आफू पढेको क्योटो युनिभर्सिटी पनि घुमाउनुभयो, युनिभर्सिटी वास्तवमै भव्य थियो ।

अन्त्यमा, तिन जनाले रामेन सुप (जापानी सुप) खायौँ दिउँसोको खाजास्वरुप । अब प्रोफेसर हामीबाट बिदा हुनुभयो र हामी लाग्यौँ रिट्सुमेकन युनिभर्सिटीमा पढ्ने मेरा मित्र भानुभक्त भट्टलाई भेट्न । उहाँ र उहाँको ६ वर्षीय छोरा आयुष हामीले प्रतीक्षा गरेको ठाउँमा पुग्दा दिउँसोको ३ बजिसकेको थियो । केही छिनको सन्चो बिसन्चो सोधपुछ पछि प्रसिद्ध हिरानो जिन्जा स्राईन घुम्न निस्कियौ । त्यहाँ चैँ निकै सुन्दर तवरले फुल्ने साकुराको बिछट्टै सुन्दर बगैँचा पनि रहेछ, फेसबुकको प्रोफाइल पिक्चर पाउने आसमा विभिन्न कोणबाट थुप्रै तस्बिर कैद गर्न भ्यायौँ क्यामेरामा । अबको गन्तव्य थियो गोल्डेन टेम्पल जुन क्योटोको लोभलाग्दो गन्तव्य मानिने रहेछ । गोल्डेन टेम्पलमा अरुबेला प्रवेश गर्न लामो लाइन लाग्नुपर्ने तर अहिले कोरोनाले गर्दा पर्यटकको चाप कम भएको जानकारी भानुभक्त सर छिटो छिटो हिँड्दै दिँदै हुनुहुन्थ्यो । मुख्य मन्दिर पुग्न नपाउँदै जोडसित पानी पर्न थाल्यो । एक छिन एउटा रुखको तल ओत लाग्यौँ र फेरि तस्बिर खिच्ने आफ्नो नित्यकर्मलाई मैले छोड्ने कुरै भएन । मौसमले साथ नदिएको हुँदा चाहेर पनि शालीन स्वर्ण मन्दिरमा धेरै समय व्यतीत गर्न सकिएन । अब लुरुलुरु अलि भिज्दै गफिँदै भानु सरको कोठातिर लाग्यौँ । कोठामा पुगेपछि भानु सरको म्याडमको हातको मिठो चियाको चुस्किसंगै बिस्कुट खादै कलेजका कुराहरू अनि आफ्नो रिसर्चका कुराहरू गर्न थाल्यौँ । एक छिनपछि रिट्सुमेकनमै पढ्ने अरू सरहरू पनि आउँदा कोठाको वातावरण झन् ऊर्जामय बन्न पुग्यो ।

नेपालको सार्वजनिक प्रशासन सुधार देखि कोरोनाको विश्वव्यापी सङ्कट अब गफका विषय बन्न थाले । अहिलेसम्म सङ्क्रमणबाट जेनतेन सुरक्षित भएको तर जोखिम अत्यधिक रहेको कुरामा सबैको एक मत थियो । केहिबेरको गहकिलो गफगाफ पछि रातिको खाना तयार भएछ । कुसुम म्यामको हातको खाना वास्तवमै अद्भुत थियो । धेरै दिनपछि आफ्नो घरमा आमाले पकाउने जस्तै खाना खान पाएको मैले महसुस गरे । अब तुलसी सर र मैले आफ्नो होटेलतिर फर्कन भानु सर, कुसुम म्याम, अमर सर, पुरुषोत्तम सरहरूबाट बिदा माग्यौ । हामीलाई छोड्न उहाँहरू बस चढ्ने ठाउँसम्म आउनुभयो । सरहरूबाट बिदा भएर बसमा चढ्दा रातिको १० बजिसकेको थियो, बाहिर हल्का सिमसिमे पानी एकनास परिरहेको थियो । करिब ११ बजेतिर होटेलको रुममा पुगियो र सुरुमा लागियो बाथरुमतिर हात पखाल्न, जुन केही साता यता मेरो प्राथमिकतामा पर्दै आइराखेको काम थियो । दिनभरिको यात्राको थकान साथै भोलि सबेरै हिरोसिमा फर्किने तालिकाले गर्दा दिनभरि घुमेका स्थानहरूको दृश्य मनमा झल्झलि सम्झिँदै अनि कतै कोरोना सङ्क्रमणको सिकार पो भइयो कि भन्ने त्रासको बोझ मनमा लिई केहीबेरमै भुसुक्क निदाइयो ।

शाखा अधिकृत बोहरा हाल जेडिएस छात्रवृत्ति अन्तर्गत जापानको हिरोसिमा विश्वविद्यालयमा अध्ययनरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस