विश्व नै कोरोनाको आगोले दनदनी बलिरहेको बेला नेपाल पनि कोरोनाबाट अछुत हुन सकेन न त सगरमाथाले नै रोक्न सक्यो न त स्वयम्भू, पशुपति नाथले नै । नेपालमा कोरोनाको आगो दिन दुई गुणा रात चौ गुणा जसरी फैलँदै गयो ।
आज म नेपालको केन्द्रबिन्दु काठमाडौँ भन्दा निकै टाढा अवस्थित कर्णाली प्रदेशको बारेमा लेख्दै छु । शिक्षा स्वास्थ्य र बिद्युत बाट निकै पिछडिएको हाम्रो कर्णाली प्रदेशले बिस्तारै विकासको खुट्टा तनकाई रहेको थियो । प्रदेश सरकार स्थापना भएदेखि कर्णालीवासी निकै हर्ष उलित भएका थिए । केन्द्र सरकार बाट टाढा रहेको र प्रदेश सरकार घर आगनमै स्थापना भएको देख्दा निकै खुसी थिए कर्णालीवासी।
हुन पनि हो प्रदेश सरकार स्थापना भए देखि निकै राम्रा कामहरू अघि बढ्ने क्रममै थिएँ । शिक्षा, स्वास्थ्य, विद्युत्, बाटोघाटो, सञ्चार, खेल मैदान ,यातायातको सुविधा तीव्र रूपमा बन्दै थिए ।
विकासको काम अघि बढ्ने क्रममै थिए । एक्कासि कर्णाली प्रदेशमा पनि कोरोना देखियो रे भन्ने समाचार सुन्दा मनमा कताकता चिसो पस्यो । हुन पनि हो त्यो बेलासम्म सबै प्रदेशमा कोरोना सङ्क्रमित भेटिसकेका थिए मात्र कर्णाली प्रदेश बाँकी थियो । त्यहाँ पनि कोरोना देखियो रे भन्ने समाचार सुन्दा सबै जना दुःखी हुनु स्वाभाविक नै थियो।
विकासको हिसाबले निकै पछि परेको मेरो प्रदेश फेरि पनि करोनाको चपेटामा परेर ध्वस्तै हुने भयो भन्ने मनमा अनेक प्रकारका कुराहरू खेल्न थाले हुन पनि हो कर्णाली प्रदेशमा कोरोनाको आगो बल्ने क्रममै छ कहिले निभ्ने हो थाहा पत्तो छैन।
तर कोरोना सङ्क्रमित हुनबाट बच्न पर्ने उपाय थुप्रै छन् । जसमा एक प्रमुख उपाय भनेकै हातखुट्टा साबुन–पानीले बारम्बार धोहि राख्नुपर्ने हो । हाम्रो कर्णालीतिर जहाँ पानीको अत्यन्तै समस्या छ । पानीको मुहानसम्म पुग्न ४–५ घण्टा नै लाग्छ, अझ कुनै कुनै गाउँमा त एक गाग्री पानीका लागि खोलामै रात बिताउनु पर्ने बाध्यता छ । यसरी पनि सफा पानी कहाँ पाइन्छ र पानी धमिलै धमिलो । त्यही पानी पनि नडराई निर्धक्कका साथ पिउँछन् कर्णालीवासी।
सरकारले धारा नबनाएको पनि होइन, बनाइदिएको छ तर ती धाराहरूमा कहिले पनि पानी आउँदैनन्। त्यही भएर खानेपानीको लागि ४–५ घण्टा हिँड्नु बाहेक विकल्प नै छैन कर्णालीवासी हरूमा । उनीहरूको दैनिकी नै हो यो। खानेपानी त जसोतसो जोहो गर्छन् तर नुहाइ–धुहाई, सरसफाइ गर्नको लागि एक दिन नै खर्चिनु पर्ने बाध्यता छ ।
पानीसँगै चेतनाको पनि अभाव झेलिरहेको छ । कर्णालीले पानीको अभावले स्थानीय बासिन्दाको सरसफाइ र स्वास्थ्यको अवस्था कस्तो भएको होला ? त्यो त कल्पना पनि गर्न सकिँदैन भएका केही मुहान, धाराहरू पनि मर्मत नहुँदा जीर्ण भएको अवस्था छ ।
२१औँ शताब्दीले जस्तोसुकै गाथा गाए पनि कर्णालीका विकट बस्तीहरूमा देखिएको खानेपानी र सरसफाइको अभाव, अशिक्षा गरिबी ,भोकमरी, छुवाछुत तथा छाउपडी जस्ता सामाजिक कुसंस्कारले नराम्ररी सताएको छ। अब हामी आफै विचार गर्न सक्छौँ कर्णालीको हालत कस्तो छ भनेर । जबकि पिउने पानी त पाउँदैन भने कर्णालीले त्यस्तो ठाउँमा कोरोना फैलिँदा कतिको ज्यान, धन जाने हो त्यो त कल्पना पनि गर्न सकिँदैन।
अझै पनि केही ढिलो भएको छैन, समय पर्याप्त छ । समस्याको समाधानतिर आजैबाट रफ्तारमा बढ्न सक्नुपर्छ प्रदेश र केन्द्र सरकारले। यो समय केही पनि नगरी चुप्प लागेर बस्ने बेला होइन, हुनुपर्ने कामहरू चाँडो हुनुपर्यो । अहिलेको जसरी नै काम गर्ने हो भने कोरनाको इपिसेन्टर अब कर्णाली प्रदेश बन्न सक्छ भन्ने कुरामा दुई मत छैन।
कर्णाली प्रदेश अहिले रेड जोन मै परिसकेको छ । कर्णालीमा दिनहुँ कोरोना सङ्क्रमित बढ्ने क्रममै छन्। प्रदेश सरकारले अब अझै क्वारेनटाइनको व्यवस्था बढाउनुपर्छ । भारतबाट आएका कर्णालीबासीहरुलाई राम्रो व्यवस्थाका साथ क्वारेनटाइनमा राख्न सक्नुपर्छ। कर्णाली प्रदेशमा परीक्षणको दायरा बढाउनु पर्छ कर्णालीमा भोकमरी रोक्न खाद्य आपूर्ति गर्न थाल्नुपर्छ र कोरोनाको मुखबाट आफ्ना प्यारा जनतालाई बचाउन सक्नुपर्छ।

बाल गोपाल देवकोटा
चन्दननाथ नगरपालिका १ तलीचौर ,जुम्ला