विश्व वातावरण दिवसको सन्देश : सदैव प्रकृतिको ख्याल राखौँ र संरक्षण गरौँ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विश्व वातावरण दिवसको सन्देश : सदैव प्रकृतिको ख्याल राखौँ र संरक्षण गरौँ


२४ जेष्ठ २०७७, शनिबार


वातावरण सम्बन्धी जनचेतना अभिवृद्धि सहितका कार्यहरू प्रोत्साहन गर्ने उद्देश्यले सन् १९७४ देखि एक प्रमुख कार्यक्रमका रूपमा विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ का दिन मनाउने गरिएको छ। दिवसलाई मुख्यतया वातावरणका विविध आयामहरूमा भइरहेका कार्यहरू र दिगो विकासका लक्ष्यहरूको प्रवर्द्धनका लागि महत्त्वपूर्ण मञ्चको रूपमा लिन सकिन्छ। यस वर्षको दिवसले जैविक विविधताको विषयलाई केन्द्रित गरेको छ भने विश्वव्यापी महामारी र जलवायु परिवर्तनलाई लक्षित गर्दै प्रकृतिका लागि सोच्ने समय भएको सन्देश पनि दिन खोजेको देखिन्छ। जैविक विविधता सजीव वस्तुको जीवनको आधार हो। प्राकृतिक रूपमा उपलब्ध प्राण वायु, खाना, पानी र विविधतायुक्त जलवायुको उपलब्धताले पृथ्वी राम्रो वासस्थान बन्न सकेको छ।

सदैव मानव जाति र प्रकृतिबिच सन्तुलित सम्बन्ध स्थापित गर्नका लागि प्रकृतिको संरक्षण अपरिहार्य हुन्छ। प्रकृतिको संरक्षण र प्राकृतिक वस्तुहरूको बुद्धिमत्ता प्रयोग मानव सृजित समस्याहरूको आफैमा समाधानको उपाय पनि हो । गत मे २२ का दिन विश्वव्यापीकरण मनाइएको अन्तर्राष्ट्रिय जैविक विविधता दिवसले पनि “हाम्रो समाधान प्रकृतिमा नै छ“ भन्ने विषयलाई प्राथमिकता दिएको थियो। यहाँ प्रकृति भन्नाले मानव जातिका लागि अत्यावश्यकीय वस्तुहरू प्रदान गर्ने पृथ्वीमा अवस्थित विभिन्न पारिस्थितिकीय प्रणाली र जैविक विविधतालाई समाविष्ट गर्दछ। आधुनिकीकरण र वैज्ञानिक अन्वेषणले सुविधा सम्पन्न प्रविधिको विकास भएतापनि मानव जीवनका लागि प्रकृति अनिवार्य छ अर्थात् सम्पन्न प्रविधिले मानवका लागि प्रकृतिको योगदानलाई पूर्णरुपमा प्रतिस्थापन गर्न कदापि सक्दैन। प्राकृतिक विविधता र सुन्दरता असीमित छ भने मानव जातिलाई इच्छा बमोजिमको छनौट र प्रयोग गर्न सक्ने स्वतन्त्रता पनि छ।यसरी हाम्रा स्वतन्त्र इच्छारूपी क्रियाकलापहरूले तीन चौथाइ भन्दा बढी पृथ्वीको जमिन सतह अत्यधिक प्रभावित भएको छ भने ८५% सिमसारमा आएको परिवर्तनले कृषिजन्य उत्पादनका लागि चाहिने करिब ७५% पानीको मात्रामा समेत ह्रास भएको विश्वव्यापी आँकडाले देखाएको छ। यसै गरी लगभग १० लाख वन्यजन्तु र वनस्पति प्रजातिहरू अहिलेसम्मकै खतरामा र लोपोन्मुख तथा २०% थलचर प्रजातिहरू विलय हुने अवस्थामा रहेको र जलवायु परिवर्तनले ४७% स्तनधारी प्राणीहरूमा नकारात्मक असर परिरहेको छ। परम्परागतरुपमा प्रयोग/व्यवस्थापन गरिरहेको प्राकृतिक स्रोत साधनमा तुलनात्मकरुपमा दबाब बढिरहेको तथ्य जैविक विविधता र पारिस्थितिकीय सेवा सम्बन्धी अन्तरसरकारी मञ्चद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ।

व्याप्त वन फडानी, अनियन्त्रित/अव्यवस्थित कृषि विस्तारीकरण, खनिजजन्य र भौतिक पूर्वाधार विकास जस्ता गितिविधिहरुको तीव्रताका अतिरिक्त मानव-वन्यजन्तु द्वन्द्व र वन्यजन्तुको उपयोगले कोरोना भाइरस जस्ता रोगजन्य विषाणुको सङ्क्रमणलाई जीवजन्तुबाट मानिसमा फैलाउने वातावरण सृजना गर्न मद्दत गरेको छ। रोगी घरपालुवा तथा वन्यजन्तुको प्रत्यक्ष सम्पर्कबाट करिब ७०% संक्रामक महामारी हुने गरेको वुझाई छ। विश्वमा वर्षेनी करिब ७ लाख भन्दा बढी मृत्युको कारण यस प्रकारका जनावहरुवाट सृजित रोगहरू हुन्। विभिन्न प्रकारका करिब १७ लाख अज्ञात भारसहरु हाल पनि जनावर र पंक्षीहरुमा विद्यमान रहेको अध्ययनहरूले देखाएको छ। यी भाइरसहरूमध्ये भविष्यका दिनहरूमा कोभिड-१९ भन्दा बढी घातक र विनाशकारी रूपले देखा पर्न नसक्लान् भन्न सकिन्न। यद्यपि यस्ता महामारी मानवीय असावधानीका कारण नै सृजना हुने गर्दछन्। भविष्यमा देखा पर्न सक्ने महामारी अझ बारम्बार देखा पर्ने र झन् तीव्र गतिमा फैलिन सक्नेछन् र जसले उल्लेखनीय मानवीय र आर्थिक क्षति पुर्‍याउनेछ। झन् बढ्दो जलवायु परिवर्तनको असर र नवीनतम प्राकृतिक प्रकोपहरूले महामारीलाई बढावा दिने देखिन्छ भने कतिपय प्राणी तथा वनस्पति प्रजातिले आफ्नो वासस्थान गुमाउने र ह्रास हुने अनुमान गरिएको छ। यसको सावधानीका लागि हामीले पर्यावरणीय सन्तुलन कायम गर्न सक्नुपर्दछ जसका लागि विगत देखि हामीले गर्दै आएका क्रियाकलापहरू र व्यवहारमा व्यापक परिवर्तन गर्नु नै एक मात्र अनिवार्य विकल्प हुन सक्दछ।

‘मानव, जीवजन्तु, वनस्पतिको स्वास्थ्य लगायत सिङ्गो वातावरणको विशिष्ट अन्तरसम्वन्धलाई पहिचान गर्दै दीर्घकालीन लगानी र विकासको भविष्यको परिणामलाई समेत मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी साझा अवधारणा विकास गरेर संस्थागत, संरचनागत र जनशक्तिको क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ।’

आज प्रकृति र स्वास्थ्यलाई विशेष जोडका साथ हेर्न थालिएको छ। महामारीलाई न्यूनीकरण गर्न विश्व नै लागिपरेको छ। महामारी पश्चातको पुनर्स्थापनार्थ हरित अवधारणामा आधारित र विगतको भन्दा अझै राम्रो हुने गरी प्रकृति मैत्री कदम चाल्नु जरुरी छ, जसले स्वास्थ्यकर वातावरण निर्माण गर्न सकोस्। यसका लागि वातावरण र प्राकृतिक श्रोत साधन सम्बन्धी नीति र नियमहरूको सबलीकरण गर्दै दिगो र प्रकृति मैत्री बनाउन आवश्यक छ। हरित विकास र स्वच्छ/नवीकरणीय ऊर्जाको अवधारणालाई अवलम्बन गराउनका लागि प्रवर्द्धनात्मक र सहुलियतपूर्ण कार्यक्रमहरू सञ्चालन गर्न जरुरी छ। मानव, जीवजन्तु, वनस्पतिको स्वास्थ्य लगायत सिङ्गो वातावरणको विशिष्ट अन्तरसम्वन्धलाई पहिचान गर्दै दीर्घकालीन लगानी र विकासको भविष्यको परिणामलाई समेत मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी साझा अवधारणा विकास गरेर संस्थागत, संरचनागत र जनशक्तिको क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ। ताकि सरकार र योजना कार्यान्वयनकर्तालाई जीवन र प्रकृतिलाई स्वस्थ राख्न समयमै सही निर्णय लिन सहयोग पुगोस्। यस किसिमको साझा अवधारणाले प्रकृति संरक्षणको आवश्यकतालाई सर्वसाधारण देखि सम्बन्धित सरोकावालहरुलाई अभ्यस्त गराउन सहयोग पुर्‍याउनका साथै आज हामीले भोगिराखेको महामारी जस्ता सङ्कट पश्चात् समयानुकूल हुने क्षमतामा वृद्धि र सुदृढ गर्न पनि मद्दत पुग्नेछ, जसको अर्थ प्रकृति संरक्षण नै पहिलो प्राथमिकता हुनेछ भन्नु हो। संरक्षित र स्वच्छ पर्यावरणीय प्रकृतिले मात्रै हामी स्वस्थरुपमा बाँच्न सक्छौ,सक्नेछौ।

नेपालमा वातावरण संरक्षणका लागि तीनै तहका सरकारहरूले वातावरण संरक्षण ऐन नियमहरू लागु गरेका छन् भने नेपाल सरकाले २५ भन्दा बढी सम्बन्धित विषयगत मापदण्डहरू निर्धारण गरेको छ। वातावरण सम्बन्धी कार्य गर्ने सरकारी तथा गैरसरकारी सङ्घ-संगठनहरुको विस्तार उत्साहप्रद देखिन्छ। अहिलेको अवस्थामा वातावरणीय समस्याहरूको समाधानका लागि नयाँ सङ्गठन स्थापित गर्नु भन्दा पनि चालु संघसंस्थाहरुको सुदृढीकरण गर्नु नै उपयुक्त हुन्छ।

मूख्यतय: सम्बन्धित प्राविधिक जनशक्तिको विकास र व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ। हाल विद्यमान पदसोपानमा आधारित प्राविधिक जनशक्तिले मिश्रित कर्मचारीतन्त्रमा आफ्नो योग्यता देखाउन प्रोत्साहित हुन नसकेको देखिन्छ। त्यसैले कार्य विवरण विश्लेषण आवश्यकताका आधारमा प्राविधिक जनशक्तिको अभाव पूर्ति गर्दै राष्ट्र विकासको संवाहक मानिएका प्राविधिक जनशक्तिको व्यवस्थापन प्रणालीलाई व्यावसायिक नैतिकता कायम गराउँदै अनुभव र कार्यप्रभावकारिताका आधारमा गरिनु आजको आवश्यकता हो। धेरै समय अगाडि देखि आवश्यकता महसुस गरिएता पनि वातावरण विज्ञान, मौसम विज्ञान लगायतका प्राविधिक क्षेत्रहरू चर्चा, चुनौती र बहसमा मात्र सीमित हुने गरेको पाइन्छ। सम्बन्धित ऐन कानुन र नीतिमा व्यवहारिक र तथ्यसंगत आलोचना सुझावको पनि अभाव छ । क्षेत्रगत सुधारका लागि अनुसन्धानमा आधारित सुझावहरू सहित विश्वविद्यालय, प्राज्ञिक र व्यावसायिक सङ्गठनहरू अगाडि बढ्न जरुरी छ।

विद्यमान महामारी, भोकमरी लगायतका सङ्कट र विविध वातावरणीय समस्याहरूबाट मुक्ति पाउनका साथै स्वच्छ वातावरणको सुनिश्चितता सहित दिगो उपभोग र उत्पादनलाई जोड दिँदै प्रकृतिमा आधारित समाधानका उपायहरूको अवलम्बनलाई अभिप्रेरित गर्दै दिगो, समावेशी र समृद्ध समाज निर्माणका लागि प्रकृति संरक्षणलाई प्राथमिकता दिँदै सबैले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउन भन्ने विश्व वातावरण दिवसको हार्दिक शुभकामना!

Tags :
प्रतिक्रिया दिनुहोस