मन्त्री नेम्बाङद्धारा होल्डिङ सेन्टर निरीक्षण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मन्त्री नेम्बाङद्धारा होल्डिङ सेन्टर निरीक्षण


२१ जेष्ठ २०७७, बुधबार


काठमाडों । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री वसन्तकुमार नेम्बाङले होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सँग समन्वय गर्ने समेत जिम्मेवारीमा रहेका नेम्बाङले मङ्गलवार प्रदेश नं. १ र प्रदेश नं. २ का लागि भक्तपुरमा व्यवस्थापन गरिएका होल्डिङ सेन्टर निरीक्षण गरेका हुन् ।

होल्डिङ सेन्टर निरीक्षणपछि डिसीसीएमसी भक्तपुरले आयोजना गरेको होल्डिङ सेन्टर क्षेत्र व्यवस्थापन बिफ्रिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले बनेका योजनाहरू सही रूपमा कार्यान्वयन भए महामारी न्यूनीकरण गर्न सकिने बताए । उनले भने ‘हामीले गरेका तयारीहरू ठिक छन् यसलाई सही ढङ्गले कार्यान्वयन गरियो भने कोरोना सङ्क्रमण न्यूनीकरण गर्न सकिन्छ ।’

मन्त्री नेम्बाङले होल्डिङ सेन्टरमा आवश्यक प्रक्रियाहरू पुरा गरी प्रदेश र स्थानीयतहसंगको समन्वयमा नागरिहरुलाई सहजता साथ सम्बन्धित क्वारेन्टिनसम्म पुर्‍याइने बताए ।
उहाँले महामारी विरुद्ध अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सम्बन्धित कर्मचारी र स्वयंसेवकहरूलाई उच्चमनोबलका साथ काम गर्न अग्रह गरे । अग्रमोर्चामा रहेर महामारी विरुद्धका लडाई लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका भूमिका प्रशंसनीय रहेको समेत उल्लेख गरे ।

जिल्ला सीसीएमसी भक्तपुर र नेपाली सेनाले प्रदेश नं. १ का लागि सूर्यविनायक नगरपालिका ५ स्थित इम्पेरिअल बैन्क्वेट् र प्रदेश नं. २ का लागि मध्यपुरठिमी नगरपालिका ४ स्थित होटेल हेरिटेज पार्टीप्यालेसलाई होल्डिङ सेन्टरको रूपमा व्यवस्थापन गरेका छन् । दुवै होल्डिङ सेन्टर एक⁄एक हजार क्षमता रहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताए ।

कार्यक्रममा प्रमुख सेनानी शिवप्रसाद पौडेलले होल्डिङ सेन्टरको सञ्चालन, व्यवस्थापन तयारीका योजनाहरू बिफ्रिङ गरेका थिए ।

कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नागरिकलाई होल्डिङ सेन्टरमा राखेर आवश्यक प्रक्रिया पुर्‍याई क्वारेन्टिन पठाउने सरकारको तयारी छ ।

विदेशबाट आएका नागरिकलाई नेपाली सेनाको व्यवस्थापनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट सिधै विभिन्न स्थानमा तोकिएका होल्डिङ सेन्टरमा लगिने छ । त्यहाँ उनीहरूको पालिकागत विवरण, स्वास्थ्य स्थिति लगायतको व्यक्तिगत विवरण तयार पारिनेछ । ट्रेसिङ सहजताका लागि सरकारले निःशुल्क सिमकार्ड उपलब्ध गराउनेछ ।

होल्डिङ सेन्टरबाट होटेल क्वारेन्टिनमा बस्न चाहनेलाई सिधै व्यवस्थापन गरिएको होटेलमा र स्थानीय तहले व्यवस्थापन गरेको क्वारिन्टिनमा बस्नेलाई सम्बन्धित जिल्ला सदरमुकामसम्म पुर्‍याइनेछ । यसरी आउने नागरिकलाई सम्बन्धित स्थानीय तहले जिम्मा लिई क्वारेन्टिनमा राख्नुपर्नेछ । स्थानीय तहको क्वारेन्टिनमा बस्नेलाई खाना लगायत आवश्यक व्यवस्था सोही स्थानीय तहले गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस