यमनको पछिल्लो हिंसामा १४ जना सरकारी सैनिकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यमनको पछिल्लो हिंसामा १४ जना सरकारी सैनिकको मृत्यु


४ जेष्ठ २०७७, आइतबार


दुबई । गृहयुद्धको चपेटामा रहेको यमनमा शनिबार १४ जना विद्रोही लडाकूको ज्यान गएको छ । सरकार समर्थित फौज र पृथकतावादी समूहबीच छ दिनदेखि दक्षिणी प्रान्त अब्यानमा जारी युद्धका क्रममा पछिल्लो घटना भएको हो ।

यमनको दक्षिणी क्षेत्रलाई अलग्याउने उद्देश्यसाथ लडिरहेको साउदर्न ट्रान्जिसनल काउन्सिल (एसटिसी) समर्थित पृथकतावादी फौजले सरकार समर्थित फौजको डटेर सामना गरिरहेको जनाएको छ । सरकारी फौजले दक्षिणको मुख्य शहर एडेनबाट करिब ६० किलोमिटर दक्षिणस्थित जिन्जिबारको बाहिरी इलाकालाई लक्षित गरी आक्रमण गरिरहेको छ ।

एक जना सरकारी सैन्य अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई आफ्ना तर्फका १४ जना लडाकू मारिएको बताए ।

सरकारी सैनिक मारिएको बारेमा पृथकतावादी सैनिक स्रोतले पनि पुष्टि गरेको छ । उनीहरुले सरकार समर्थित ४० जना सैनिकलाई कब्जामा लिनुका साथै ठूलो परिमाणमा हातहतियार बरामद गरेको बताएका छन् ।

पृथकतावादी एक जना कमान्डरले सरकारी फौज जिन्जिबार नगरको भित्री भागमा पस्न नसकेको जानकारी दिए । गत अप्रिल २६ मा यमनको दक्षिणी क्षेत्रलाई पृथकतावादी समूहले स्वशासन घोषणा गरेपछिको यो पहिलो भिडन्त हो ।

दक्षिणी क्षेत्रमा शुरु भएको भिडन्तले राजधानी साना सहित उत्तरी क्षेत्रमा कब्जा जमाएको इरान समर्थिक हुथी विद्रोही र साउदी अरेबिया समर्थित सरकारबीच जारी भिडन्तलाई थप जटिल बनाएको छ ।

सरकार र दक्षिणमा सक्रिय एसटिसी प्राविधिक रुपमा हुथी विरुद्धको लामो युद्धमा सँगै छन् । तर पृथकतावादी समूह एसटिसी र साउदी समर्थित सरकारबीच पुनः फाटो आएको छ ।

सरकार र एसटिसीबीच गत नोभेम्बरमा रियादमा भएको युद्धविराम र सत्ता सहभागिता सम्बन्धी सम्झौतालाई सरकारले उल्लंघन गरेको भन्दै एसटिसी उक्त सम्झौताबाट अलग्गिएको छ ।

विगत छ वर्षदेखि जारी गृहयुद्धमा दशौं हजारको मृत्यु भइसकेको छ भने लाखौं मानिस घरबारविहीन भएका छन् । संयुक्त राष्ट्रसंघले यमनको गृहयुद्ध सर्वाधिक दर्दनाक मानवीय संकटपूर्ण घटना भन्दै आएको छ । एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस